कांग्रेसले गरेको ‘गोयबल्स शैली’को प्रचारको प्रतिवाद गर्नुस्-नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले बाम गठबन्धनविरुद्ध सञ्चालन गरेको ‘गोयबल्स शैली’को प्रचारको कडा रुपमा प्रतिबाद गर्न निर्देशन दिएका छन् । वाम गठबन्धन दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको बुद्धिजिवी भेलामा बोल्दै वरिष्ठ नेता नेपाल कांग्रेसको प्रचारशैलीको कडा रुपमा प्रतिवाद गरे । कांग्रेसको गोयबल्स शैलीको रक्षात्मक रुपमा होइन कि आक्रामक रुपमा प्रतिवाद गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताउँदै नेपालले भने, ‘पहिला–पहिला कम्युनिष्टको सरकार आएपछि बुढाबुढीलाई मार्छ भन्दै हिँडेको कांग्रेस अहिले अधिनायकबाद आउँछ भन्दै गोयबल्स शैलीमा प्रचार–प्रसार गर्दै हिंडेको छ ।’ कांग्रेसका कारण देशमा सञ्चालनमा रहेका उद्योग धन्दा कलकारखानाको हालत के भएको छ ? देशको आर्थिक अवस्था कहाँ पुग्यो? कांग्रेसको विदेश नीतिले राष्ट्रियता कहाँ पुग्यो ? एमालेले सरकारको नेतृत्व गरेर के–के ग¥यो ? त्यसको फेहरिस्तसहित तुलनात्मक खण्डन गर्नुस् । चुप लागेर नबस्नुस् । आक्रामक ढंगले अघि बढ्नुस् नेपालले निर्देशन दिँदै भने ।

बाम गठबन्धनको चुनावी तालमेल पार्टी एकताको पहिलो ‘स्टेप’ भएको उनले बताए । निर्वाचनमा बाम गठबन्धनलाई दुई तिहाई बहुमत आउने हिसाबले उत्साहका साथ निर्वाचनमा परिचालन हुन उनले अगुवा कार्यकर्तालाई आह्वान पनि गरे । मतदाता शिक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्दै अघि बढ्न उनले आग्रह गरे । ‘निर्वाचन पछि एमाले र माओवादीबीच पार्टी एकिकरण हुन्छ । पार्टी एकिकरण पछि देशलाई समाजवादतर्फ लैजान्छौ’ नेता नेपालले भने । भेलामा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पोखरेलले गठबन्धनको सहज विजयलाई दुई तिहाई बहुमतको लक्ष्य पूरा गर्नेगरि परिचालित हुन निर्देशन दिए ।

कम्युनिष्ट गठबन्धनको सरकार बनेपछि ‘नमूना मोडल’को विकासमार्फत मुलुकमा समाजवादी व्यवस्था लागू गर्न सकिने पोखरेलको भनाई थियो । भेलालाई वाम गठबन्धन दोलखाका चुनावी परिचालन कमिटीका संयोजक आनन्दप्रसाद पोखरेल, माओवादी केन्द्रका नेताद्वय बलराम थापा, नरबहादुर पाख्रिन, दोलखा–काठमाडौं बुद्धिजीवी परिषद एकता संयोजन समितिका संयोजक हरिप्रसाद शर्मा र सहसंयोजक यादव पोखरेल, बुद्धिजीवीहरु महेन्द्रबहादुर कार्की, दिव्यध्वज कार्की, गोपालप्रसाद थपलिया, माधव प्रधान, जिल्ला सम्पर्क मञ्चका अध्यक्ष गणेश शिबाकोटीलगायतले धारणा राखेका थिए ।

बुद्धिजीवीहरुको निर्वाचन परिचालन कमिटी गठन यसैबीच, भेलाले एमाले र माओवादी केन्द्रका तर्फबाट काठमाडौंमा रहेका दोलखाली बुद्धिजीवी परिचालनका लागि इन्जिनियर हरिप्रसाद शर्माको संयोजकत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी, दोलखा गठन गरेको छ । कमिटीको सहसंयोजक यादव पोखरेल छन् ।

115 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु