अस्ट्रेलियामा के के गर्दा धोका पाईन्छ र के गर्दा सम्मान मिल्छ ?हेर्नै पर्ने सामग्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सन्जिव अर्याल ,असनेपालन्युज ,अष्ट्रेलिया ।  अष्ट्रेलिया आउनेहरुको लागि आर्थिक व्यवस्थापन एउटा चुनौती हो । विद्यार्थीहरुलाई पढाइ खर्च, आफ्नो अष्ट्रेलिया वसाई खर्च र त्यसपछि आफ्नो परिवारको आशा सबैतिर ध्यान पुर्याउनुपर्ने हुन्छ । यदि अष्ट्रेलिया बस्दा लाग्ने आफ्नो खर्चबारे पहिल्यै जानकार रहन सकियो भने, त्यही अनुसार योजना बनाएर अगाडी बढ्दा, आर्थिक व्यवस्थापन गर्न सजिलो हुन्छ ।

पश्चिमको भौतिक सम्पन्नता र सामरिक विकासले औद्योगिकरण साथै त्यसको आधारमा उभिएको शिक्षा व्यवस्थाले यूरोप, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकले यतिखेर नेपाल मात्र होइन विश्वका सबै विकासोन्मुख तथा कम विकसित मुलुकका युवालाई आकर्षित गरेका छन् । आप्रवासन, रोजगारी तथा शिक्षा यतिखेरको अर्थव्यवस्था कै मेरुदण्ड बनेको छ, त्यसैले त यूरोप, अमेरिका अनि अष्ट्रेलिया अरु महादेश र मुलुकका विद्यार्थी भित्रयाउनमा लागि परेका छन् । यतिखेरको ‘ट्रेण्ड’ बनेको छ नेपालमा अध्ययनका लागि विदेश जाने विषय ।

भ्रष्टाचार, कुशासन, अस्थिर, अपराधीकरण भएको राजनीतिका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ । यतिखेर अभिभावकहरुमा रहेको छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविश्य बनाओस् भन्ने चाहनाका कारण विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ । काठमाडौंमा शैक्षिक परामर्शदाताको कार्यालमा अष्ट्रेलिया अध्ययनको बारेमा बुझ्दा धेरैलाई पहिले अष्ट्रेलिया त पुगुँ त्यसपछि त गरिहालिन्छ नि भन्ने लागिरहेको हुन्छ ।

अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

क्षेत्रफलका हिसाबले नेपालभन्दा ५४ गुणा ठूलो भए पनि त्यहाँको जनसंख्या नेपालको भन्दा कम छ । अष्ट्रेलिया भनेको नविनतम् प्रविधि प्रयोग हुने देश हो । त्यहाँ जानेले first hand technology प्रयोग गर्न पाउँछ । अष्ट्रेलियामा विश्वका करिब एक सय साठी मुलुकका मानिस छन् । ती सबैसँग नेपाली विद्यार्थीले संस्कृति आदानप्रदान गर्ने मौका पाउँछन् ।

त्यस्तै धेरै समुदायका मानिसबिचमा घुलमिल हुँदा प्रतिस्पर्धाको भावना विकास हुन्छ भने नेतृत्व क्षमता समेत बढ्छ । समग्रमा ज्ञान, सीप र व्यवसायिकताको अभिवृद्धि अष्ट्रेलियाको वातावरणले दिन्छ । अष्ट्रेलियाले विविध प्रकारका अवसर प्रदान गर्दछ । राजनीतिक स्थिरता भएको मुलुक हो अष्ट्रेलिया । प्राकृतिक विपत्ति पनि ज्यादै न्यून आइपर्छ । त्यहाँको हावापानी नेपालसँग मिल्दोजुल्दो छ ।
अष्ट्रेलिया जाने नेपाली विद्यार्थीले आफ्नै देश पुगे जस्तो अनुभव गर्न सक्ने वातावरण अष्ट्रेलियामा छ । अन्य देशको तुलनामा अष्ट्रेलियामा स्थापित हुन पनि सजिलो भएकाले नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्यको रुपमा चिनिएको छ । नेपाली विद्यार्थीका लागि मात्र नभै विश्वका धेरैजसो मुलुकका विद्यार्थीका लागि अष्ट्रेलिया राम्रो बजार हो । जापान, अमेरिका लगायतका मुलुकबाट समेत विद्यार्थी आउनुले बेलायती शिक्षा प्रणाली रहेको अस्ट्रेलियामा पढाइको आकर्षण देखाउँछ । १५.६ विलियन अष्ट्रेलियन डलर अन्तराष्ट्रिय शैक्षिक व्यापारबाट कमाउँछ ।

कस्ता विद्यार्थी जाने ?
अष्ट्रेलिया अध्ययनमा जानका लागि शैक्षिक स्तर राम्रो हुनुपर्छ । पछिल्लो समय प्लस टुमा प्रथम श्रेणी नै चाहिने अवस्था छ । अंग्रेजी भाषामा निकै दक्ष हुनुपर्छ । आर्थिक हिसाबले कम्तिमा शिक्षण शुल्क तिर्न सक्ने हुनुपर्छ । आयस्रोत, व्याङ्क व्यालेन्स र सम्पत्ति देखाउन सक्नुपर्छ । मध्यमस्तरका आय भएका नेपालीले अष्ट्रेलिया अध्ययन गर्न सक्छन् । कम्तिमा एक वर्ष त घरबाट नै खर्च गर्नुपर्ने हुन्छ । एक वर्षपछि बल्ल विद्यार्थीले आफै कमाउन सक्ने हुन्छ ।

अष्ट्रेलियामा कलेज अनुसार शिक्षण शुल्क पनि फरक फरक हुन्छ । कलेजको ब्राण्ड, गुणस्तर जस्ता कुराले शुल्क फरक पर्न जान्छ । अष्ट्रेलिया जानका लागि १२ लाखदेखि २८ लाखसम्म खर्च हुन्छ । विद्यार्थीले शुल्क तिरेर अष्ट्रेलियाको कुनै कलेजमा भर्ना भएपछि तिरेको पैसा डुब्ने सम्भावना हुँदैन । कलेज डुब्यो भने पनि त्यहाँको सरकारले विद्यार्थीलाई न्याय दिलाउने काम गर्छ । नर्सिङ, आइटि, इन्जिनियर, हस्पिटालिटि, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट जस्ता विषय अष्ट्रेलियामा राम्रो मानिन्छ ।
प्रक्रिया
प्रोफाइल पुरा गरेपछि भिसाका लागि आवेदन दिनुपर्छ । प्रोफाइलमा आर्थिक, शैक्षिक र अंग्रेजी भाषाको मापदण्ड पूरा भएको उल्लेख हुनुपर्छ । उक्त कागजपत्रलाई सम्बन्धित कलेज वा विश्वविद्यालयमा पठाइन्छ । यताबाट कागजपत्रको मूल्याङ्कन हुन्छ । यदी सबै मापदण्ड पुगेको ठहर भएमा विद्यार्थीलाई अफर लेटर पठाउँछ । त्यसपछि बैँङ्कमा गएर तोकिए अनुसारको वित्तिय कागजपत्र तयार गर्नुपर्छ । अष्ट्रेलियाको लागि नबिल बैंक र एसबिआइ बैंकबाट वित्तिय कागजपत्र तयार हुन्छ । यी बैंकमध्ये कुनै एकबाट बैँक व्यालेन्स देखाएपछि कलेजलाई पैसा भुक्तान गरिन्छ । त्यसपछि इलेक्ट्रोनिक कन्फरमेशन अफ इन्भल्वमेन्ट आएपछि भिसा आवेदनका लागि मिति तय गरिन्छ । आवेदन दिएको ४ देखि ८ हप्ताभित्रमा भिसाको निर्णय आउँछ । त्यसपछि अध्ययनका लागि जाने तयारी सुरु गर्नुपर्छ ।
स्थायी बसोबास
विवाह गरेर डिपेन्डेन्ट भिसामा जानका लागि कुनै समस्या छैन । कानुनी प्रक्रिया पुरा भएको वैवाहिक विवरण पेश गरेपछि सहजै जान सकिन्छ । तर स्थायी वसोवासका लागि त्यति सहज हुँदैन । त्यहाँको सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । त्यस अन्र्तगत आइइएलटिसको प्राप्ताङ्क, त्यहाँ गरिरहेको काम जस्ता कुराले प्रभाव पार्दछ । त्यस्तै अष्ट्रेलियामा कोही आफन्त छ भने त्यसले सहज भूमिका खेल्दछ । अष्ट्रेलियामा शहरी क्षेत्रमा बसेको र अन्य क्षेत्रमा बसेको कुराले पनि निर्भर गर्दछ । यसका साथै विगतको क्रियाकलापको पनि मुल्याङ्कन हुन्छ । कुनै अपराधिक क्रियाकलाप गरेको पाइएमा पिआर पाउन निकै गाह्रो हुन्छ । सबै मापदण्ड पूरा गरेर स्थायी वसोबासको अनुमति पाइसकेपछि पनि त्यहाँको नीति अनुसार चल्नुपर्छ ।
आधारभूत जानकारी
पछिल्लो समय नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया प्रमुख शैक्षिक गन्तव्य बनेको छ । विश्वका १०० उत्कृष्ट विश्वविद्यालयमध्ये ७ वटा अस्ट्रेलियामै छन् । आफूलाई उच्च शिक्षाको गन्तव्य बनाउन चाहेको अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरेपछि अन्तराष्ट्रिय बजारमा बिक्री भइने र पीआर प्रक्रियामा सामेल हुन पाउने भएकोले धेरै विद्यार्थी अस्ट्रेलिया पुगेका छन् । अस्ट्रेलिया पढ्न जान चाहेकामध्ये झण्डै ९० प्रतिशतको भिसा लाग्ने गरेको छ । आफू कुन विषय र कुन तहमा पढ्न अष्ट्रेलिया जाने भन्ने स्पष्ट भएपछि विद्यार्थीले यस विषयमा थप जानकारी लिनु आवश्यक हुन्छ । यस्तो जानकारीका लागि विद्यार्थीले सर्वप्रथम विभिन्न वेबसाइटहरू भिजिट गर्न सक्छन् । अष्ट्रेलियाली शैक्षिक संस्थाका विभिन्न वेबसाइट भिजिट गरी त्यहाँ उपलब्ध विश्वविद्यालय, शैक्षिक संस्था, उपलब्ध विषयहरू, अध्ययन शुल्क, त्यहाँको जीवनशैली, आर्थिक–सामाजिक अवस्था आदिका बारेमा जानकारी लिन सक्छन् । त्यसपछि आफ्ना लागि अष्ट्रेलिया उपयुक्त शैक्षिक गन्तव्य हो होइन बुझेर मात्र प्रक्रिया अघि बढाउनु राम्रो हुन्छ ।
भाषाको तयारी
अष्ट्रेलियाली शैक्षिक संस्थाहरूको अध्यापनको भाषा अङ्ग्रेजी हो । विश्वविद्यालय अनुसार त्यहाँ भाषाको प्राथमिकता निर्धारण गरिएको छ । अधिकांश नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी सजिलो भाषामध्येमा पर्छ । विद्यार्थी आफैमा अङ्ग्रेजी भाषाको राम्रो ज्ञान छ भने आफैले तयारी गरेर आईईएलटीएस, टोफल, जिम्याट, क्याम्ब्रिज एडभान्स इङ्लिश टेष्टलगायतका भाषा परीक्षा दिन सक्छन् । तर, आफूमा अङ्ग्रेजी भाषाको राम्रो ज्ञान नभएको खण्डमा अङ्ग्रेजी भाषा इन्ष्टिच्युटहरूमा गई सिक्नु उपयुक्त हुन्छ । यसरी तयारी गर्दा तोकिएको मापदण्डअनुसार अङ्क प्राप्त गर्न सकिन्छ । अण्डर ग्रयाजुएट तहका लागि अध्ययन गर्न जाने विद्यार्थीहरूले आईईएलटीएसमा ९ पूर्णाङ्कमा कम्तीमा ५ अङ्क ल्याएको हुनुपर्छ । त्यस्तै, ग्रयाजुएट तहमा अध्ययन गर्न जाने विद्यार्थीले ६ दशमलव ५ अङ्क हासिल गरेको हुनुपर्छ । स्नातकोत्तर तहका लागि कम्तीमा ६ दशमलव ५ र अनुसन्धानमूलक कोर्स अध्ययन गर्ने हो भने ७ दशमलव ५ अङ्क हासिल गर्नुपर्ने आईईएलटीएसको नियम छ ।
परामर्शदाताको भूमिका
चाहना भएर पनि विदेश अध्ययनमा जानका लागि प्रक्रिया सुरू गर्न नसकेका विद्यार्थीका लागि शैक्षिक परामर्शदाता संस्थाहरूले मार्गदर्शकको भूमिका निर्वाह गर्न सक्छन् । उनीहरूले विद्यार्थी जान चाहेको देशको शैक्षिक, आर्थिक, सांस्कृतिक, भौतिक, भौगोलिक, राजनीतिक लगायत अवस्थाबारे जानकारी दिन सक्छन् । परामर्शदाताका कारण विद्यार्थीले एकै ठाउँबाट धेरै जानकारी पाउन सक्छन् । शैक्षिक परामर्शदाता संस्थाहरूले भाषाको तयारी, डकुमेण्टेशन, भिसा प्रक्रिया, उचित परामर्शलगायत धरै विषयमा विद्यार्थीलाई सघाउने गरेका छन् । अध्ययनका लागि विदेश जाने विद्यार्थीमध्ये प्रायः सबैले परामर्शदाता संस्थाहरूको सहयोग लिने गरेको पाइन्छ ।
महँगो, तर मूल्यवान्
अष्ट्रेलियन शिक्षालाई हालका दिनमा महँगो मान्न थालिएको छ । नेपालको कमजोर आर्थिक अवस्थाका कारण अष्ट्रेलियन शिक्षा महँगोजस्तो देखिएको सरोकारवालाहरूको भनाइ छ । यद्यपि, जुन मूल्य तिरे पनि अष्ट्रेलियन शिक्षाले दिने प्रतिफल त्योभन्दा निकै गुणा मूल्यवान् मानिन्छ । अष्ट्रेलियाली शिक्षा नेपाली विद्यार्थीको ज्ञानशीप, शैक्षिक क्षमता र भविष्यसँग गाँसिएको छ । शिक्षामा लगानी भविष्यका लागि हो भनेर सोच्ने हो भने विद्यार्थी, अभिभावक र राष्ट्रकै लागि अष्ट्रेलियालाई उपयुक्त शैक्षिक गन्तव्य मान्न सकिन्छ । भिसा आवेदनदेखि अस्ट्रेलियामा बस्दा लाग्ने खर्चसम्मको बन्दोबस्त गर्नुपर्ने हुन्छ, विद्यार्थीले तीनवर्षे स्नातक पढ्न जाने विद्यार्थी ६ महिनाका लागि कम्तीमा रु.१५ लाखसम्म खर्च गर्न सक्ने हुनुपर्छ । पहिलो ६ महीनाको शिक्षण शुल्क, टिकट, ट्राभल चेक, भिसा आवेदन शुल्क जस्ता खर्च यही पैसाबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ । ६ महीनाको शिक्षण शुल्कमा १० हजार डलर बुझाउनुपर्छ । अस्ट्रेलियामा विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउँछन् । दुई सातामा ४० घण्टा काम गरेर यत्रो शुल्क बुझाउनु असम्भवप्रायः हुन्छ ।
चुनौतिहरु
विद्यार्थीहरु पढ्न जाने कुरालाई मात्र प्राथमिकतामा राख्छन् । त्यहाँ गएपछिको समयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चनाखो भएको पाइदैन । त्यहाँ गएर कहाँ बस्ने के गर्ने भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । छ महिनाको शिक्षण शुल्क तिरेपछि बाँकी समयको शुल्क कसरी तिर्ने भन्ने सम्मका कुरामा विद्यार्थी अनभिज्ञ रहेको पाइन्छ । पढ्न गएका विद्यार्थी कसरी काम खोज्ने र कसरी पैसा कमाउने भन्नेमा बढि केन्द्रित हुन्छन् । पढाई छाडेर काम गर्न थालेपछि कलेजले निस्कासन समेत गर्न सक्छ । जसका कारण उद्देश्य पूरा नगरी नेपाल फर्किनुपर्ने हुन सक्छ । त्यसैले दीर्घकालिन तयारी र योजना बनाएर मात्र विदेश अध्ययनका लािग जानुपर्छ । अभिभावकले पनि छोराछोरीले दोस्रो सेमेस्टरदेखि पढ्न पुग्ने पैसा कमाएन भने यताबाट सहयोग गर्छु भनेर मानसिक रूपले तयार भएपछि मात्र विदेश जाने अनुमति दिनु उचित हुन्छ ।
स्वदेशमा अवसर
अस्ट्रेलियामा अध्ययन पूरा गरेर स्वदेश फर्केकाहरूले नेपालमा उदाहरणीय काम गरेका छन् । अवसर राम्रो छ । नेपाली ग्रयाजुएट र अष्ट्रेलियन ग्रयाजुयटमा तुलनात्मक रुपमा अष्ट्रेलियाको राम्रो हुन्छ । कार्यगत क्षमता र नेतृत्व क्षमता निकै राम्रो भएका कारण अवसरको अभाव हुँदैन । तर समस्या के छ भने अष्ट्रेलियामा अध्ययन गरेर आएका जनशक्तिलाई सोही अनुसारको पैसा खर्चेर काम दिन सक्ने कम्पनी नै नेपालमा छैनन् । जसका कारण विदेशमा पढेका नेपालीहरु उतै जागीर खोज्न थाल्छन् ।
अन्य जानकारी
अष्ट्रेलियाका प्रमुख शैक्षिक शैक्षिक सहरहरुमा सिड्नी (राजधानी), मेलवर्न, व्रिसवेन, पर्थ (नेपालको तराई जस्तै), एडिलेड (नयाँ सरह, नेपाली कम छन्), ताज्मानिया (शान्त ठाउँ, थोरै नेपाली), डार्विन ( सुक्का ठाउँ) आदि पर्दछन् ।
अष्ट्रेलिया अध्ययनका लागि फेब्रुअरी, जुलाई र नोभेम्बर इन्टेकका लागि आवेदन खुल्छ । नेपालबाट कति विद्यार्थी वार्षिक रुपमा अष्ट्रेलिया जान्छन् भन्ने तथ्याङ्क छैन । नेपाल सरकार अन्र्तगतको शिक्षा मन्त्रालयसँग नै यो तथ्याङ्क छैन । अन्य मुलुकको तुलनामा अष्ट्रेलियामा कम छात्रवृत्ति पाइन्छ । त्यसैले त्यहाँ अध्ययनका लािग आर्थिक रुपमा खर्चिलो हुन्छ ।

अस्ट्रेलियामा आउने तयारीमा रहेका , आईसकेकाहरू र फर्कन लागेकाहरूले जान्नै पर्ने महत्वपूर्ण सामग्री सहितको यो भिडियो अवश्य हेर्नौहोला ।

https://youtu.be/cGdvzt6BX5M

8,150 total views, 10 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु