यो क्षण पनी टरेरै जानेछ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भीमसेन सापकोटा,
“लक्ष्य विहीन मानिस मृत हो । महत्वाकाङ्क्षा ले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस पनि मृत हो ।जसको जीवनमा केही गर्ने उद्देस्य र मनमा प्रेम छ , त्यहि मानिस पूर्ण जीवन्त हो ।” -पर्ल बेली ।

मान्छे अभावमा आतिन्छ र उपलब्धिमा मातिन्छ , आफुलाई नचिने सम्म। सामान्य मानिसका लागि अभाव र उपलब्धि दुबै छटपटि र अस्थिर मनका कारक हुन्। यस्तै छटपटिले दु:खित हुंदा राजा अकवरले वीरवललाई दु:ख निवारणको स्थायी समाधान सोधेको प्रसङ्ग उनिहरूको कथामा उल्लेख छ । “मलाई दु:ख हुंदा र सुख हुंदा दुबै बखत काम लाग्ने कुरा मेरो भित्तामा लेखिदेउ विरवल , ता कि म हरेक दिन आफुलाई त्यो पढे पछि सम्हाल्न सकुं। ” विरवलको माथिङलले धेरै सोच्यो । सोच्नु ,एकाग्र हुनु ध्यान गर्नु एक माध्यम हो जसले संसारका सबै रहस्य को उद्वोध गर्छ । यसैले भनिन्छ , प्रार्थना आफ्नो कुरा भगवानलाई सुनाउने माध्यम हो भने ध्यान भगवानको कुरा सुन्ने एक अवसर हो । गहिरो सोचले विरवलाई नयां उपाय दियो । उनले अकवरको घरको भित्तामा एउटा सुन्दर वाक्य लेखिदिए , जुन वाक्य पढेर अकवरको मनमा सांच्चै स्थिरता र सुख प्राप्त हुंदै गयो । विरवलले भित्तामा लेखेको त्यो वाक्य थियो “यो क्षण पनि टरेर जानेछ ” ।

चिन्ताले मन पिरोलिंदा अकवर भित्ताको त्यहि वाक्य हेर्थे , अनि यो पनि टरेर जान्छ भन्ने वाक्यांस पढेर आफ्नो समस्याको आस्थायी प्रकृति बोध गर्दथे । यस्तै अति सुखले , विलासले उन्मत्त हुंदा पनि उनलाई यो वाक्य हेर्ना साथ झस्काउंथ्यो र यो आस्थायी उपलब्धि मा धेरै उल्लासित हुनु बेकार हो भन्दै मनलाई शान्त र स्थित पार्दथे। सुन्दा सामान्य लागे पनि दर्शनको शिखरबाट निस्केको विरवलको यो वाक्यांश वास्तवमा सबैलाई स्थिरता तर्फ डोर्याने वाक्यांश हो । मनोविज्ञान अनुसार मानिसहरू आपत र विपतले भन्दा पनि त्यो संकट कति समय सम्म रहने हो भन्ने चिन्ताले ग्रसित भएर वेचैन बन्छन्। जब हामि संकटमा हुन्छौं , अचेत मनले त्यो सन्कट सदाको लागि रहन्छ भन्ने ठान्दछ , अनि अनिस्चयताको त्रासले हामी थप दु:खित बन्छौं । कठिन घडि पार गर्ने एक मात्र साधन हो” हरेक घटनामा अस्थिरता को वोध गर्नु “।
बुद्द शिक्षाका अनुसार तटस्त मन ,आस्थायी भाव वोध र प्रज्ञा जागरण नै आनन्दका भर्याङ्ग हुन्। अविचलित मन नै शान्तिको कारक हो । शरीरका संवेदना नियाल्दै , शरीर अस्थिर छ , संसार अस्थिर छ र जीवनका हरेक घटना अस्थिर छ भन्ने भाव को आधार नै विपश्यना ध्यान हो । यसो त श्रीमद्द्भागवत गीता ले स्थिरतालाई नै , दु:ख को अन्त्य ठहर्याएको छ ।
सुखदु:खे समे कृत्वा लाभ लाभालाभौ जयाजयौं ।
ततो यूद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।। गीता 2/38
संसारका अन्य दर्शनमा नभेटिने ‘वितराग’ शब्दलाई कृष्णले गीतामार्फत भन्नु भएको छ , राग (मोह ) मा पनि मन वेचैन हुन्छ र वैराग्य मा पनि मनमा अहँकारका विज निख्रिएका हुंदैनन् , तसर्थ राग र वितरागको मध्यअवस्था ‘वितराग ‘नै तनाव पाखाल्ने साधन हो । वितराग नै स्थित प्रज्ञ हो , जहाँं भय र मोह रहन्न । रागी वस्तु तथा साधन बाट लोभिन्छ , वैरागी वस्तु तथा साधन वाट भाग्छ । यी दुवैको केन्द्र विन्दु वस्तु तथा साधन नै छन्। तसर्थ सिग्मण्ड फ्रायडले भने झैं भोगका साधन बाट नजिकिएर वा वैरागी भिक्षुहरूले भने झैं भोग बाट भागेर मनको स्थिरता आउंदैन । यसका लागि भोगको प्राप्ति र गुमाइ दुवैमा एकनास रहने मन नै स्थिर चित्त हो । यो अवस्था शरीर सुद्धी , भोजन शुद्धि ,सकारात्मक विचारको अभ्यास , नियमित योग र ध्यान र सम्यक जीवनको साधना मार्फत सम्भव छ । सबै धर्मको गन्तव्य अध्यात्म नै हो ।र,वास्तविक अाफू पत्ता लगाउनु नै आध्यात्मिकता हो ।
वस्तु तथा साधन मात्र हैन , आफ्नै विचारको सत्ता मानिसका लागि अशान्ति को कारक भन्छ । आफ्नै मनको कुण्ठाको कारण उत्पन्न हुने हीन भावनाले मानिस कुनै चिन न जानको निर्दोषिलाई दोषि घोषित गरिदिन्छ। विजय कुमार आफ्नो ‘खुसी ‘पुस्तकमा पोख्छन्-‘अहङ्कार यस्तो घाऊ हो जसलाई बोकेर मानिस हिड्छ । बाटोमा कसैले जानेर , नजानेर दिएको सानो धक्काले पनि त्यो घाऊ धेरै दुख्छ । जती ठुलो घाऊ , उति धेरै पीडा । पीडा अरूको धक्काले भन्दा पनि आफ्नो घाउको साइजले दिन्छ , सामान्य दिमागलाई यो बुझ्न कठिन हुन्छ र मानिस अरूलाई दोष दिंदै आफु दुखित बन्छ ।’ त्यसैले मानिसहरू यदकदा आफ्नै विचारहरूका शिकार बन्द्छन् र ‘मरिच चाउरिन्छ आफ्नै पिरोले ‘भने झैं वाह्य घटना भन्दा पनि आफ्नै अन्तरङ्ग सोचले बढि पिरोलिन्छ ।
जो मिल्छ , जस्तो मिल्छ ,त्यसैलाई ग्रहण गर्ने बानी नै आफु र अरूलाई सुखदायक लक्षण हो । भारतका पुर्व प्रधान मन्त्री अटल कुमार वाजपेयी ले एक हिन्दी कवितामा (ज्ञान र अध्यात्म भाषा को सीमा भन्दा माथि उठ्छ ) सुखलाई यसरी सम्वोधन गरेका छन्:
क्या हार मे, क्या जीत मे
किन्चित नहिं भयभीतमे।
कर्तव्य पथपर जो भी मिले
यह भी सहि, वह भी सहि………..।

हार ले र जीत ले जे उपलब्धी ल्याए पनि त्यो स्वीकार गर्न दरो मनोवल बनाउनेहरू नै वास्तवमा जीवनलाई जितिरहेका हुन्छन्।
यसमा अझ गहिरिऔं , दिन भरमा हामी औषत २१ हजार छ सय पटक श्वास लिन्छौं । जीवन शुरु भएदेखि गरिएको पहिलो कार्य नै श्वास र जीवनको अन्त्यमा गरिने अन्तिम कार्य पनि श्वास प्रश्वास हो । हरेक श्वास हरू अस्थिर छन्। नयां श्वास लिईयो भन्यो , फेरी पुरानो भईहाल्छ । पल-पलमै हाम्रो फोक्सो चल्छ , श्वासलाई लगातार पम्प गर्दै फाल्छ । गहिरिएर हेर्दा यो श्वास नै जीवनको अस्थिरता बोध गराउने आँफैसँग अहओरात्र रहने गुरु हो । भूगर्वविद र खगोलविद वैज्ञानिकहरू हर्मन र साइमानले यो धर्तीको आयू सरदर २२ लाख वर्ष भनेर हिसाव निकालेका छन्। यस्तै ब्रह्माण्डका हरेक पिण्डको आ-आफ्नै आयु छ । अर्थात हरेक वस्तु संसारमा अस्थिर मात्र छन् , यहि अस्थिरता को बोध नै हरेक कर्ममा , व्यवहारमा, सोचमा र चिन्तनमा गर्नुलाई पश्चिममा भन्ने गरिएको ‘सेल्फरियलाइजेशन ‘र पुर्वमा भनिने निर्वाण वा मोक्षको अवस्था हो ।आत्मा मात्र अमर छ । आफ्नो खप्तड सूक्तिमा खप्तड बाबा लेख्नुहुन्छ “आत्मा सुख दु:ख तथा यिनका भोक्ताको पनि साक्षी हो । अस्थिरता वोध हुनासाथ थाहा हुन्छ “तपांई तत्व दृष्टिले उही अजर-अमर , शुद्द -बुद्द , नित्य -मुक्त तुरीय ब्रम्ह हो । ” जब यो सत्य को बोध हुन्छ तब हामी नदेखिने भविश्यका लागि भन्दा देखिने वर्तमानका लागि बढी सुखले बांच्छौं । एकैछिन सोचौं –
जुनदिन हाम्रो आखिरी श्वास सकिन्छ , त्यसदिन पनि हाम्रो नगद बैंकमा र अन्य धन यहि सन्सारमा नै रहन्छ । अहिले धेरैलाई लागिरहेको छ “-
‘ हामिसित खर्च गर्न पर्याप्त धन सम्पत्ती छैन ।’
जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ , यो डा योगि बिकासआनन्दको अनुसन्धान पनि हो । जसलाई एउटा सानो कथा बाट अर्थ खुलाउनु प्रासङ्गिक छ ।
एकजना चिनियाँ महाजन वा बादशाह को मृत्यु भयो । उ धनी थियो तर समाज सेवा , दान वा आफ्नै अत्यावस्यक सेवाका खर्चमा समेत रुची राख्दैन थ्यो । यहाँं सम्म कन्जुसकी आफ्नो नोकरको तलव कटाएर समेत उ भविश्यलाई र आफ्नो बुढेसकालको लागि भनेर सुका -सुका पैसा बच्चाउंथ्यो । एक दिन जे हुनु थ्यो सोहि भयो , उ कालको शरणागतिमा गयो । आफ्नो विधवा पत्नी को लागि बैंकमा १९ लाख डलर छोडेर गयो । विधवाले केहि समय पछि आफ्नै घरको उहि जवान नोकरसित विवाह गरिन । विवाह पछि नोकरले एक दिन भन्यो ‘
” म हमेशा सोच्थें कि म आफ्नो मालिकको लागि काम गर्थें , र उ मेरो लागि गर्दैन तर उसकै लागि धन कमाउन ब्यस्त रहन्छ , तर आज आएर म सम्झन्छु , आखिर मालिकले नै हमेशा मेरो लागि मरिमेटेर धन थुपार्दिन काम गरेको रहेछ ”
यसबाट के सिक्न सकिन्छ ?

सुखका लागि बांच्ने हैन सुखले बांचौं।
• धन अधिक आवश्यक छ तर अधिक धन आर्जन गर्नु भन्दा अधिक बाँच्न सिकौ ।
• राम्रो र स्वस्थ शरीरको लागि प्रयास गरौं ।
• महंगो फोनको ७० % फंकशन अनुउपयोगी रहन्छ ।
• महंगो कारको ७०% गतिको उपयोग हुदैन ।
• घरको पुरै दराजमा ७०% कपडा त्यतिकै राखिएको हुन्छ ।
• पुरै जिन्दगीको ७०% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
• ७०% गुणहरुको उपयोग हुदैन भने ३०% गुणहरुको उपयोग कसरी हुन्छ ।

सबै घटना टरेरै जान्छन्, मात्र हरेक पलमा साक्षि भावको विकास गर्दै वांचौं । तपाईं भोक्त्ता हैन द्र्स्टा बन्न सिक्नुहोस। कर्ता हैन साक्षि बन्ने अभ्यास गर्नुहोस्। आनन्दका दैलाहारू विस्तारै तपाईंका लागि खुल्दै जाने छन्।

361 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु