किम जङ-उनको हत्या गर्न खोजिएकै हो त ?

भदौ ३०, काठमाडौं । यही सेप्टेम्बर ३ तारिखमा उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको बताएपछि दक्षिण कोरियाले किम जङ-उनको हत्या गर्नका निम्ति विशेष फौजको एउटा कार्यदल बनाउने योजनालाई अनुमोदन गरेको खबर प्रकाशमा आएको छ । र, पछिल्लो खबरले दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनको विदेश नीति परिवर्तनको दिशामा देखिएको स्पष्ट संकेत दिएको छ।

उत्तर कोरियासँग सम्बन्ध बिस्तार गर्ने वाचासहित गत मे महिनामा निर्वाचित दक्षिण कोरियाका यी प्रगतिशील नेताले गत जुलाई महिनामा बर्लिनमा बोल्दै कोरियाली प्रायद्वीपमा ‘स्थायी शान्ति शासन’ स्थापना गर्ने, उत्तर कोरियालाई विनाश हुनबाट रोक्ने र प्योङयाङविरुद्ध सुरक्षा तथा आर्थिक क्षेत्रमा लगाइएका प्रतिबन्धहरुलाई खुकुलो पार्ने बताएका थिए।

यी र यस्ता आफ्ना वाचा एवं प्रतिबद्धताका बीच उत्तर कोरियाविरुद्ध अचानक आक्रामक नीति अवलम्बन गर्ने निर्णयमा कसरी राष्ट्रपति मून कसरी पुगे?
पारमाणविक परीक्षणको तयारी

सेनालाई आधुनिक बनाउने दिशामा तीव्र एवं आक्रामक ढंगले अघि बढिरहेको उत्तर कोरियालाई रोक्न सैन्य उपाय र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कडा अभिव्यक्ति विफल भएकोमा सोलका नेताहरु त्रसित छन्।

उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्ने निश्चित देखिन्छ र प्योङयाङले आफ्नो एउटा परीक्षण केन्द्रमा सातौं पारमाणविक परीक्षण गर्ने तयारी गरिरहेका विवरणहरु आएका छन्।

यदि उत्तर कोरिया स्पष्ट रुपमा शक्तिशाली र साना परमाणु अस्त्र बोक्ने लामो दूरीको क्षेप्यास्त्र अमेरिकी शहरहरुसम्म मार हान्न सक्षम भयो भने नचाहँदा नचाहँदै कोरियाली प्रायद्वीपमा सैन्य कारबाही गर्नुपर्ने हुनसक्छ।

रिपब्लिकन सांसद लिन्ड्से ग्राहमले पटक-पटक यो कुरा भनेका छन् कि अमेरिकी शहरहरुलाई उत्तर कोरियाली निशानाबाट बचाउनका निम्ति यो जोखिम मोल्नुपर्ने हुन्छ, जसले ठूलो संख्यामा दक्षिण कोरियाली जनता र सैनिकको ज्यान खतरामा पर्न सक्छ।
नेता किम जङ-उनलाई ज्यानको खतरा देखाएरै शायद सोलले उत्तर कोरियालाई उसका पारमाणविक कार्यक्रम रोक्न र रचनात्मक वार्तामा ल्याउने आशा लिएको जस्तो देखिन्छ।
तर के हत्यासम्बन्धी दक्षिण कोरियाली योजना भरपर्दो छ र त्यसले उत्तर कोरियालाई रोक्न सक्छ?

विगतमा उत्तर कोरियाली नेताहरुले हत्याको खतरालाई गम्भीर रुपमा लिएको बताइन्छ।

उदाहरणका लागि सन् १९३३ को मार्चमा उत्तर कोरिया र अमेरिकाबीचको तनाव चरमविन्दुमा पुगेका बेला किम जङ-अनका बुवा किम जङ-इलले लगभग पूरै महिना एउटा सुरक्षित बंकरभित्र बिताएका थिए।

त्यतिबेला परमाणु अप्रसार सन्धिबाट पछि हट्दै उत्तर कोरियाले ‘युद्ध जस्तो’ स्थिति निम्त्याइदिएको थियो।

अमेरिकालाई भड्काएको कारण तत्कालीन नेता लुक्नुपर्ने अवस्था आए पनि उत्तर कोरियाली रवैयामा कुनै परिवर्तन आएन।
उसले कैयौँ अन्तर्राष्ट्रिय नियम तथा विगतका सम्झौताहरुको आक्रामक ढंगले उल्लंघन गरिरह्यो।
उत्तर कोरियाको विगतलाई हेर्दा विदेशी दवावका सामु नेताहरुले विभिन्न रचनात्मक तरिका अपनाएका छन्।
उत्तर कोरियाको प्रचारबाजी

अरु देशबाट आक्रमणको खतरा देखेपछि त्यहाँका अत्तालिने नेताहरुको हौसला बढ्ने गरेको छ।
विगतमा मात्रै होइन अहिले पनि उत्तर कोरियाली नेताहरुलाई अचानक हुने आक्रमणबाट जोगाउन नक्कली गाडीको प्रयोग गरिन्छ।
गत मे महिनामा प्योङयाङले नेता किम जङ-उनमाथि रासायनिक हमला गर्नका निम्ति सीआइएले उत्तर कोरियाली नागरिकलाई पैसा खुवाएको आरोप लगाएको थियो।

उत्तर कोरियाली दावी पुष्टि गर्न त गाह्रो छ तर यो आफ्नै षड्यन्त्रहरुबाट ध्यान अन्तै मोड्ने उत्तर कोरियाको प्रचारबाजी पनि हुन सक्छ।
उदाहरणका लागि मलेसियामा गत फेब्रुअरी महिनामा किम जङ-उनका दाइ किम जोङ-नमको विषालु रसायन प्रयोग गरी हत्या गरिएको विश्वास छ।
किम जङ-उनमाथि हमलाको योजनालाई लिएर दक्षिण कोरिया धेरै सजग रहनुपर्ने हुन्छ किनकि उनको हत्या प्रयास विफल भएमा उत्तर कोरियाले सीमित सैन्य कारबाही जस्ता कदम चाल्न सक्छ। र, त्यस्तो कदमलाई पूर्ण परमाणु युद्धमा परिणत गर्ने खतरा पनि हुन सक्छ।
किम जङ-उनलाई सिधै धम्की दिनुको पछाडि दक्षिण कोरियाली नीति निर्माताहरुको यो पनि आकलन हुन सक्छ कि उनको नजिक रहेका उच्च राजनीतिज्ञहरुलाई सत्तापलटका लागि उक्साउन सकिन्छ।
यद्यपि किम जङ-उन अति कठोर छविका भएका नेता मानिन्छन् जसका कारण ती राजनीतिज्ञहरु डराउँछन्।
हालसालै उत्तर कोरियाबाट भागेका एक व्यक्तित्वले त्यहाँ सत्तापलटको सम्भावना निकै कम रहेको बताएका थिए।
उत्तर कोरियाका उच्च नेताहरु किम जङ-उनसँग जति डराउँछन् र उनलाई घृणा गर्दछन्, त्यतिनै देशभित्रका विरोधीहरुबाट हुन सक्ने खतरालाई लिएर सशंकित देखिन्छन्।

यस्तो पृष्ठभूमिमा नेता किम जङ-उनको हत्या गर्ने योजना सफल हुने सम्भावना कमजोर नै देखिन्छ।

अतः मून प्रशासनले उत्तर कोरियाली खतरासँग जुध्नका निम्ति दक्षिण कोरियाको पारमाणविक शक्ति बढाउनुपर्ने रुढीवादीहरुको मागलाई दबाउने प्रयास पनि गरिरहेको हुन सक्छ।

हालसालै दक्षिण कोरियाली रक्षामन्त्रीले मुलुकमा फेरि सामरिक परमाणु अस्त्र ल्याउनुपर्ने मागप्रति समर्थन जनाएका थिए।
यद्यपि मून प्रशासन त्यसका लागि राजी छैन र सरकारलाई डर छ कि त्यस्तो कदमले कोरियाली प्रायद्वीपमा अस्त्रको होडबाजी बढ्नेछ र त्यसले कोरियाली प्रायद्वीपमा अस्थिरता निम्त्याउन सक्छ।

राष्ट्रपति मून उत्तर कोरियासँगको वार्ताको सम्भावनालाई अन्त्य गर्न चाहन्न।
उत्तर कोरियाली चुनौतीको सामना गर्ने दिशामा कुनै गतिलो नीतिगत विकल्प नदेखिएका बेला किम जङ-उनको हत्याको चेतावनी एकमात्र काम लाग्ने रणनीति हुन सक्ने जस्तो देखिन्छ। बीबीसी

72 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु