चीन र पाकिस्तान दुवैसँग एकै पटक लडाइँ हुनसक्ने भारतीय सेनापतिको चेतावनी

भदाै २२, असनेपाल न्युज । भारतीय सेना प्रमुख जनरल विपिन रावतले चीन र पाकिस्तानसँग एकै पटक दुई मोर्चामा हुने सम्भावित युद्धका लागि भारत तयार रहनुपर्ने बताएका छन्। चीनसँगको दोक्लम विवाद अन्त्य भएको केही समयपश्चात नै भारतीय सेनाप्रमुखले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘जहाँसम्म उत्तरी शत्रुको कुरा छ, उसले बिस्तारैबिस्तारै जमिन कब्जा गर्दै ठूलो लक्ष्यका लागि सानासाना सैन्य कार्वाही अघि बढाउन थालिसकेको छ,’ सेन्टर फर ल्याण्ड वारफेयर स्टडिजले दिल्लीमा आयोजना गरेको सेमिनारमा बोल्दै जनरल रावतले भने, ‘यहीँबाट द्वन्द्व सुरु हुनसक्छ, त्यसैले हामीले तयार रहनुपर्छ।’ उनको इसारा चीनतर्फ थियो।

‘यस्तो द्वन्द्व कुनैबेला एक स्थानमा सीमित हुनसक्छ भने कुनैबेला ठूलो युद्धमा परिणत पनि हुनसक्छ। यस्तो परिस्थितिको फाइदा पश्चिमी शत्रुले पनि उठाउने सम्भावना रहन्छ,’ उनले पाकिस्तानतर्फ इसारा गर्दै भने।

त्यसैले दुवैतर्फ एकैपटक युद्धका लागि भारत तयार रहनुपर्नेमा जनरल रावतले जोड दिए। उनले आणविक हतियार भएका मुलुक युद्धमा जाँदैनन् भन्ने कुरा ‘मिथक’ मात्र भएको बताउँदै युद्धको सम्भावना ‘वास्तविकताको दायराभित्र’ रहेको दाबी पनि गरे।

भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपतिसँग भेट गरेको भोलिपल्टै रावतले यस्तो अभिव्यक्ति दिएका हुन्। ब्रिक्स सम्मेलनका क्रममा मोदी र सीबीच भएको भेटमा भारत–चीन सम्बन्धमा पुराना कुरालाई बिर्सेर अघि बढ्ने जनाइएको थियो। एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु