अन्ततः पछि हट्यो कांग्रेस, भ्रष्टाचारीले चुनाव लड्न नपाउने विधेयक पारित

भदौ १९,काठमाडौं । भ्रष्टाचारको सजाय पाएका नेताले पनि चुनावमा उम्मेदवारी दिन पाउनु पर्ने मागबाट कांग्रेसका सांसद पछि हटेका छन। नेपाली कांग्रेसका सांसदले भ्रष्टचारीले पनि चुनाव लड्न पाउनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी दुवै विधेयक पारित भएको छ। विधेय पारित भएसँगै भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेकाहरुले अब निर्वाचन लड्न नपाउने भएका छन्।

विधेयकमाथि छलफल गर्न सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सहमति जुटेको हो । विधेयकको दफा १३ को उपदफा ‘ङ’ मा भ्रष्टाचारीले आजीवन चुनाव लड्न नपाउने व्यवस्था प्रस्ताव गरिएकोमा कांग्रेसका १९ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।

तर सोमाबारको बैठकमा कांग्रेसका सांसदले संशोधन प्रस्ताव फिर्ता लिएका हुन् । संशोधन प्रस्ताव फिर्ता लिँदै कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले भ्रष्टाचारीले उम्मेदवारी दिन पाउनु पर्छ भन्ने पार्टीको धारणा नरहेको र संशोधन प्रस्ताव आफूहरुले व्यक्तिगत रुपमा पेश गरेको बताउनुभयो । उहाँले संशोधन प्रस्ताव फिर्ता लिँदै कांग्रेस संविधान कार्यान्वयका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संशोधन प्रस्ताव फिर्ता भएपछि राज्य व्यवस्था समितिले विधेयक अनुमोदन गरेको छ । विधेयक गएको एक महिनादेखि समितिमा अड्किएको थियो ।

 

सम्बन्धित शिर्षकहरु