मुगलान (दाई, तैँले उमेर बेचेर कमाएर पठाएको पैसाले….)

असनेपाल न्युज ।

लेखक : निरज दाहाल

दाई, तैँले उमेर बेचेर कमाएर पठाएको पैसाले
यो पाली बालाइ मैले कमिज किन्दिएँ
तीन बर्ष देखि आमाको साडी फेर्ने चाहाना
मेरो कलेज शुल्क अर्को पाली तिर्ने शर्तमा पुरा गरे
बाको नयाँ कमिज र आमाको नयाँ साडीको फोटो
बाले हात थरथर कमाउँदै
तलाई नै हाम्रो बारेमा लेखेको चिठी पत्रमा
बडो जतनको साथ बेरेर पठाएको छु
आशा गर्नेछु तँ सँग छिटै आइपुग्नेछ ।


दार्इ, कहिलेकाही बाको कुराले आमा रुनुहुन्छ
जब तैँले पठाएको पैसाले किनेको
कमिजबाट पसिना आउँछ
तब बाले आमालाई भन्नुहुन्छ,
‘सुँघ त केटी यो कमिजको पसिना
ठ्याक्कै ठूलेको बास्ना आउँछ ‘
त्यो बेला तँलार्इ मैले भन्दा बढी मेरो मनले सम्झिन्छ
तैले त्यो परको देशमा पाएको दुखलाइ
प्रत्येक चोटि आमा ढोका भित्र पस्दा
ढोका माथि भएको तेरो फोटो हेर्दै रुनुहुन्छ ।


दार्इ, प्रत्येक रात सिरानीमा टाउको बिसाएर
म यहीँ कुरा सम्झिन्छु कि,
साच्चै भगवान् सबैको घरमा पुग्न सक्दैनन
त्यसैले तलाइ हाम्रो घरमा
भगवानले भगवान बनाएर पठाइदिए ।।

-निरज दाहाल ( बुलबुल पत्रिका )

98 total views, 2 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु