दुई नम्बर प्रदेशकालागि एमालेले टुंग्यायो आफ्ना ११६ स्थानीय तहका उम्मेदवार

भदौं ११, काठमाडौं । स्थानीय चुनावका लागि नेकपा एमालले दुई नम्बर प्रदेशका एक सय १६ स्थानीय तहमा मेयर वा अध्यक्षका उम्मेदवार छानेको छ।

एमाले दुई नम्बर प्रदेश कमिटीका सहसंयोजक नागेन्द्र चौधरीका अनुसार २ नम्बर प्रदेशका एक सय ३६ मध्ये अब २० वटा स्थानीय तहका मेयर वा अध्यक्षबारे निर्णय गर्न बाँकी रहेको छ।

उनका अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख वा अध्यक्षको उम्मेदवारबारे प्रदेश समितिले निर्णय गर्ने र महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे स्थायी समितिले निर्णय गर्ने कार्यविधि बनाएको छ।

स्थायी समितिले निर्णय गरेपछि एक साथ एक सय ३६ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक गरिने चौधरीले बताए।

१५ गते स्थायी समिति बैठक बस्ने तयारी भइरहेकाले सम्भव भएसम्म १५ गते नै यी सबै नाम सार्वजनिक गरिने उनले बताए।

दुई नम्बर प्रदेशमा एक महानगर र तीन उपमहानगरपालिका छन्। यी सबै स्थानका मेयरबारे स्थायी समितिले निर्णय गर्नुपर्ने छ। यसबाहेक प्रदेश कमिटीले टुंगो लगाउन नसकेका नगरपालिका वा गाउँपालिकाका स्थानीय तहका उम्मेदवारबारे पनि स्थायी समितिले नै निर्णय गर्ने छ।

दुई नम्बर प्रदेशको एक्लो महानगर वीरगञ्जमा बसरूद्धिन अन्सारी उम्मेदवार बन्ने निश्चित भइसकेको छ।

‘स्थायी समितिले औपचारिक निर्णय गर्न मात्रै बाँकी छ,’ चौधरीले भने, ‘वीरगञ्जमा उहाँ नै एमाले उम्मेदवार हो।’

 

Comments

comments

सम्बन्धित शिर्षकहरु