साउदीबाट नेपाल फर्केलगत्तै बेखबर हरिप्रसाद

भदौ ११, बागलुङ । बागलुङ नगरपालिका–१३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर बन्नुभएको छ । बुधबार राति ९ः३० बजे त्रिभुवन विमानस्थलबाट बाहिरिएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । गत मंसिरमा रोजगारीका लागि विदेशिनुभएका शर्मा आठ महिनामै घर फर्केका थिए। शर्माको परिवारले खोजीका लागि प्रहरीलगायत सबैसँग आग्रह गरेको छ । विमानस्थल ओर्लेपछि शर्माले श्रीमती सवितालाई फोन गरी आफू आएको जानकारी गराएका थिए। बिहीबार बिहान पुनःश्रीमतीलाई फोन गरेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको शर्माका दाजु टीकाराम शर्माले बताए।

शर्मालाई लिन भनी हिँडेका श्रीमती सविता र जेठान गोपाल सडक जामका कारण बेलैमा विमानस्थल पुग्न सकेका थिएनन् । प्रहरीको ‘रिपोर्ट’ अनुसार चितवनको दासढुंगासम्म शर्माको मोबाइलको ‘ट्र्याकिङ’ भएको जनाइएको छ । शुक्रबार दिउँसो र शनिबार पनि नारायणगढमा देखिएको भन्ने अपुष्ट खबर आए पनि अहिलेसम्म नभेटिएको परिवारले जनाएको छ । “प्रहरी र आफन्तसँग खोजीका लागि सहयोग मागेका छौँ, अझै केही पत्तो लागेको छैन”– दाजु टीकारामले भने।

चितवनमा रहेका शर्माका आफन्तजनले प्रहरीसँग मिलेर खोजी कार्य जारी राखेका छन् । गहुँगोरो वर्ण, साढे पाँच फिट उचाइ भएका शर्मालाई देखे÷भेटेमा नजिकको प्रहरी कार्यालय वा ९८५५०५४४९० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । शर्मा अस्वस्थ भएपछि नेपालमै आई उपचार गर्ने भन्दै विदेश गएको छोटो समयमै घर फर्केको जनाइएको छ । घरमा उनका वृद्ध बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु