बाढीसँगै भारत पुगेकाे गैंडा नेपाल ल्याइयो, अझै २ वटा ल्याउन बाँकी

भदाै २, चितवन । केहि दिन अघि बाढीमा बगेर भारतको बगाहा पुगेका दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज ल्याइएको छ । नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको थियो ।

गैंडा लिन निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालसहितको टोली गएको थियो। गैंडालाई बेहास बनार्इ खोरमा राखी खोरसहित नै सौराहा ल्याइएको हो। चितवन निकुञ्ज हुँदै राप्ती र नारायणी नदी बग्छन् । भारतीय क्षेत्रमा चितवन निकुञ्जका अझै दुई वटा गैंडा रहेका छन्।

बाढीमा नै बगेर गएको अर्को एउटा गैंडा नेपालको बाल्मिकी आश्रम नजिक र भारत बाल्मिकीनगर भैसालोटनको बाल्मिकी टाइगर रिजर्भ क्षेत्रको जंगलमा ओहर दोहर गर्ने गरेको सुचना अधिकारीसमेत रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। सो गैंडाको रेखदेखमा रिजर्भका सुरक्षाकर्मीहरु पनि जुटेका छन्। त्यस्तै अर्को गैंडा पनि वालमिकी नगरकै वन क्षेत्रमा देखिएको छ। भारत पुगेका यी तीनवटा गैंडा बाहेक दुई वटा गैंडा नेपालकै त्रिवेणी नजिकको केउलेनी र नर्सहीमा पुगेका छन्। बाढीले पाँचवटा गैंडा स्वभाविक वासस्थानबाट बगेर तल्लो क्षेत्रमा पुगेको हो ।

बाढीले बगाएका कारण एउटा गैंडा नवलपरासी त्रिवेणी नजिक नर्सहीमा मृत अवस्थामा फेला परेको थियो। एउटा गैंडा सौराहाको इचर्नी क्षेत्र नजिक घाइते अवस्थामा भेटिएको छ। त्यसको उपचारमा टोली खटेको अर्यालले बताए। चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु गैंडाको मुख्य वासस्थल हो। नेपाल भर ६४५ गैंडा रहेकोमा चितवनमा मात्रै ६०५ गैंडा रहेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु