नेपाल आइडलका उत्कृष्ट ६ प्रतियोगी

भदौ २, काठमाडौं । नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडलको यात्रा अहिले उत्कृष्ट ६ मा आइपुगेको छ । यो क्रम उत्कृष्ट तीनसम्म निरन्तर चल्नेछ । यस अर्थमा अब तीनजना प्रतियोगी बाहिरिनेछन् । बाँकी तीनजना अन्तिम प्रतिस्पर्धामा उत्रिनेछन् । अन्तिम प्रतिस्पर्धामा उत्रिएका तीनमध्ये एकजना विजेताले नेपाल आइडलको सान र मान पाउनेछन् ।

त्यो भाग्यमानी को हुने हो भन्ने बहस सुरु भइसकेको छ । कतिपयले बाजीसमेत राख्न थालेका छन् । नेपालमा पहिलो पटक भित्र्याइएको अन्तर्राष्ट्रिय फ्रेन्चआइच सोको विजेता बनेर इतिहास रच्ने अवसर कसले पाउने हुन् त्यो भने समयले तय गर्नेछ ।

यी हुन् नेपाल आइडलका उत्कृष्ट ६ प्रतियोगी

सुरज थापा 

नेपालगन्जका सुरज थापा नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका छन् । राजधानीबाट अडिसन दिएका उनी आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन् । नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन । यो उपलब्धिबाट उनी पनि निकै खुसी र उत्साहित छन् । उपाधिका लागि आफूलाई दाबेदार मान्ने सुरज रेडियो नेपालमा पुराना कलाकारका गीत सुनेर गीतसंगीतप्रति आकर्षित भएका हुन् । ३० वर्षीय उनले आईए गरेका छन् ।

प्रताप दास

सबै खाले गीत सुन्न र गाउन मन पराउने प्रताप दास नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् । ललितपुर झरुवारासीका २२ वर्षीय प्रताप पारिवारिक वातावरण नै सांगीतिक भएकाले यस क्षेत्रप्रति आकर्षित भएका हुन् । लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका उनी नारायणगोपाल र कर्णदासको स्वरबाट प्रभावित छन् । स्नातक अध्ययनरत उनी अहिले आफ्नो एकमात्र लक्ष्य नेपाल आइडल भएको बताउँछन् । प्रतियोगितामा उत्कृष्ट ६ सम्म आइपुग्दा उनले निकै रोमाञ्चक अनुभूति गरेका छन् ।

सुजाता पाण्डेय

नेपाल आइडलमा सहभागी हुन चाहने हजारौंलाई उछिन्दै उत्कृष्ट ६ सम्म आइपुग्ने एकमात्र महिला प्रतियोगी हुन्, सुजाता पाण्डेय । बुटवलकी २१ वर्षीया सुजाता अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउँछिन् । बुटवलबाट अडिसन दिएकी उनको पनि लक्ष्य जित नै हो । नेपाल आइडलमा आएपछि गायनसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ । बीबीएस अध्ययनरत उनी परिवारको साथ र दर्शकको मायाका कारण नेपाल आइडलजस्तो गरिमामय प्रतियोगितामा यहाँसम्मको यात्रा तय सम्भव भएको बताउँछिन् ।

निशान भट्टराई

दुईवटा चर्चित प्रतियोगितामा मोरङ उर्लाबारीका दुई प्रतियोगी देखा परे । नेपाल आइडलमा निशान भट्टराई र मिस नेपालमा निकिता चान्डक । निकिताले ताज चुमेर उर्लाबारीवासीबाट स्याबासी पाइसकेकी छन् भने निशान त्यस्तै इतिहास बनाउन प्रयासरत छन् । बीबीएस अध्ययनरत २१ वर्षीय भट्टराई सानैदेखि गीतसंगीतप्रति रुचि राख्थे । निशानको गायनकलाका कारण उनी पनि नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् । गजल, आधुनिक गायनमा रुचि राख्ने उनी सबै खाले गीत गाउन सक्छन् ।

सागर आलेमगर

प्लस टु गरेका सागर आलेमगरले पनि नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका छन् । चितवनका २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन मन पराउँछन् । अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायनकौशल र स्वर लोभलाग्दो छ । नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ । परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएका आलेमगरले नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।

बुद्ध लामा

नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका पोखरा, नयाँबजारका बुद्ध लामा अहिलेसम्म बटम लाइनमा परेका छैनन् । प्लस टु अध्ययनरत २० वर्षीय लामा प्रतियोगिताका प्रबल दाबेदारमा पर्छन् । दिदी र दाइका कारण गायन क्षेत्रमा लाग्न सम्भव भएको बताउने उनी पुराना र आधुनिक शैलीका गीत मन पराउँछन् । नेपाल आइडलमा आएपछि उनले जति मेहनत गरेका छन्, श्रोता दर्शकको साथ पनि त्यत्तिकै पाउँदै आएका छन् । सामान्य परिवारका बुद्धलाई मेहनत र गायनकौशलकै कारण धेरैले मन पराएको देखिन्छ । अाजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु