कूटनीतिक सम्बन्धको ५७ वर्षपछि नेपाल र अष्ट्रेलियाबीच परामर्श संयन्त्र बन्दै

असार २८, काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्षपछि आपसी हित र चासोका विषयमा नियमित परामर्शका लागि दुवै देशले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा उच्चस्तरीय सरकारी अधिकारीबीचको संवादलाई थप घनिभूत तुल्याउन यसै साता नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्र स्थापना हुने भएको छ । नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध र भावी दृष्टिकोण’ विषयक छलफलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमे बडले यसै साता क्यानबेरामा अष्ट्रेलिया र नेपालले परामर्श संयन्त्र गठनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

परामर्श संयन्त्र स्थापनाबाट दुई देशबीचको सम्बन्धमा नयाँ आधार निर्माण हुनुका साथै त्यसले पारस्परिक सम्बन्धलाई थप परिपक्व तुल्याउने विश्वाश लिइएको छ । संयन्त्र जलवायु परिवर्तन, व्यापार तथा लगानी, क्षेत्रीय सुरक्षा र शरणार्थी समस्या, आपसी चासोका क्षेत्रीय एवम् विश्वव्यापी मुद्दाबारे छलफल गर्न महत्वपूर्ण स्थल बन्ने बडले बताउनुभयो । संघीय प्रणालीको अभ्यास अंगिकार गरेको नेपाललाई उसको राष्ट्रिय जलस्रोत नीति निर्माण तथा कार्यान्वयनमा अष्ट्रेलियाली सहयोग रहने बताउँदै राजदूत बडले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्, दिगो वन व्यवस्थापन, नागरिक उड्डयन, पशुपालन, अन्न भण्डारण व्यवस्थापनमा मद्दत गर्दै आएको जानकारी दिनुभयो ।  सन् २०१७ मा आफ्नो मुलुकले औपचारिक विकास सहायताअन्तर्गत शिक्षा, रोजगारी, वित्त व्यवस्थापनलगायत क्षेत्रमा केन्द्रित हुनेगरी तीन करोड ४० लाख अमेरिकी डलर प्रदान गर्ने उहाँले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु