‘ट्रम्प मलाई कार्टुनजस्ता लाग्छन्’

असार १९ । अर्जेन्टिनी लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खिल्ली उडाएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका छन्। उनले ट्रम्पलाई कार्टुनको संज्ञा दिए भने पुटिन ‘असाधारण नेता’ भएको बताए।

‘ट्रम्प मलाई कार्टुनजस्ता लाग्छन्,’ शुक्रबार मस्को पुगेका म्याराडोनाले भने, ‘ट्रम्पलाई टिभीमा देख्नेबित्तिकै म च्यानल परिवर्तन गर्छु ।’ तर पुटिनका बारेमा म्याराडोनाले भने, ‘मलाई लाग्छ, ह्युगो चाभेज र फिडेल क्यास्ट्रोपिछि एरिएल ओर्टेगा, एभो मोरालेस र पुटिन नै सबैभन्दा उच्च राजनीतिक नेता हुन्।’

‘पुटिन विश्वमा धेरैका लागि शान्ति ल्याउन सक्ने नेता हुन्, उनी असाधारण छन्,’ म्याराडोनाले थपे । उनले अमेरिकाको कटु आलोचना गर्न पनि बाँकी राखेनन्, ‘हामीले रुस, चीन र उत्तर कोरियालाई पनि बिर्सिनु हुँदैन। अमेरिका अब सबैको पहरेदार रहेन। ऊसँग जोडतोड मिल्ने बन्दुक खोजिनेछ।’

उनले कोही पनि युद्ध नचाहने बताए। ‘तर जब ट्रम्पजस्ता कार्टुनका चरित्र तपाइँ देख्नुहुन्छ, त्यसले हामी सबैलाई शत्रु देख्छ भन्ने कुरामा तपाइँ विश्वास गर्न थाल्नुहुन्छ।’ उनले ल्याटिन अमेरिकामा दक्षिणपन्थबाट दबाब बढिरहेको भन्दै चिन्ता पनि व्यक्त गरे। अर्को प्रसंगमा म्याराडोनाले आफ्नै देशका फुटबलर लियोनल मेसीले यसै साता गरेको विवाहमा आफूलाई ननिम्त्याएकोमा व्यंग्य पनि गरे।

‘उसलाई थाहा छ, म उसलाई धेरै माया गर्छु,’ म्याराडोनाले भने, ‘उसको विवाहमा मलाई पठाइएको निम्ता बाटैमा हरायो तर पनि ऊ प्रतिको मेरो धारणामा कुनै परिवर्तन हुँदैन।’‘म उसलाई बधाइ दिन्छु र आशा गर्छु, उसका धेरै जना स्वस्थ बच्चा जन्मिनेछन्,’ उनले थपे। एजेन्सी

5 total views, 5 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु