विजय जुलुस मनाउँदा काँग्रेस र एमाले बिच झडप,मतगणनानै स्थगित

 असार १६ खोटाङ । विजयी जुलुस सहित उत्सव मनाउने क्रममा झडप भएपछी खोटाङको रुपाकोट मझुवागढी नगरपालीकामा मतगणना स्थगित भएको छ ।

नेपाली काँग्रेसले विजय जुलुस मनाउँदा एमाले कार्यकर्ताले आक्रमण गरेपछि आज साँझ दोहोरो झडप भएको थियो । रुपाकोट मझुवागढी नगरपालीका १ मा नेपाली काँग्रेस विजय भएपछि दिक्तेल बजारमा निकालिएको विजय जुलुसमा एमाले कार्यकर्ताले दिक्तेलस्थित त्रिवेणी चोकमा आक्रमण गरेको थियो । दुई पार्टी बिच भएको दोहोरो झडपमा एमालेका सुवास आचार्य, भीम राई र शिवसाकार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा काँग्रेसका वडा सदस्यमा निर्वाचित भएका प्रकाश श्रेष्ठ, क्रियाशिल सदस्य बिनिता श्रेष्ठ लगाएतका कार्यकार्ता हरु घाइते भएका छन् । घाइते सबैको खोटाङ जिल्ला अस्पतालमा उपचार भइरहेको काँग्रेस खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तिर्थराज भट्‍टराईले जानकारी दिए ।

साँझको समयमा झडप भएपछि उग्ररुप लिने सम्भावना लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारका सबै होटेल बन्द गराएको छ । झडपपछि दिक्तेल बजारको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

दुई पार्टीको दोहोरो झडप भएपछी काँग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना स्थगित गराएको छ । झडप भएलगत्तै काँग्रेस कार्यकार्ताले शान्तिपुर्ण विजय जुलुस भइरहँदा बिनाकारण एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै आक्रमणमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मतगणना स्थगित गराएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना काँग्रेसले स्थगित गराएपछि अहिले सर्वदलिय बैठक बसिरहेको छ । झडप हुनुका कारण अहिले सम्म पत्ता लाग्न नसकेको जि प्र का खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । रासस

 

Comments

comments

सम्बन्धित शिर्षकहरु