आईपीओको आवेदन र शेयरबारे सम्पूर्ण विवरण अब घरबाटै

असार १२,काठमाडौं । साउन १ गतेदेखि आस्बा प्रणाली अनिवार्य भएलगत्तै अब पूँजीबजारका लगानीकर्ताहरूले प्रत्येक आईपीओमा १० कित्ता शेयर अनिवार्य पाउनुका साथै एकपटक आईपीओ भरेपछि एउटै कोड (नम्बर)को भरमा घरैबाट निवेदन दिन पाउने भएका छन् ।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएस एण्ड क्लियरिङ) लिमिटेडले सी–आस्बा (सेण्ट्रलाइज आस्बा) नामक सफ्टवेयर निर्माण गरी लगानीकर्तालाई यस्तो सुविधा दिन लागेको हो । उक्त सफ्टवेयर प्रयोगको शुल्क निर्धारण गर्न यतिबेला नेपाल धितोपत्र बोर्डले छलफल शुरू गर्न लागेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेण्ट्रलाइज आस्बा सञ्चालन गर्ने निर्देशिकालाई बोर्डमा पेश गरेको छ । सफ्टवेयरलाई साउनदेखि प्रयोग गर्न मिल्ने गरी छिट्टै निर्णय गरेर असारभित्रै टुङ्गो लगाक्इने भएको छ ।

सीडीएसले उक्त सफ्टवेयरको परीक्षण गरिसकेको छ । बोर्डले शुल्कबा स्वीकृति दिएपछि अब खुल्ने आईपीओमा यो सफ्टवेयर लागू गर्ने योजना भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताउनुभयो ।

‘मेरो शेयर डट कम डट एनपी’ तथा ‘सीडीएससी डट कम डट एनपी’ मार्फत लगानीकर्ताले आफ्नो डिम्याट खातामा भएको शेयरबारे सम्पूर्ण विवरण वेबसाइट नै हेर्न र आईपीओको आवेदन दिन सक्नेछन् ।

डिम्याट खातामा आफ्नो कारोबारको विवरण हेर्न प्रयोग हुने सफ्टवेयरमार्फत नै हितग्राहीले घरैमा बसेर आईपीओमा आवेदन दिन सक्नेछन् । यसका लागि खाता रहेको बैङ्कले सीडीएससीसँग सम्झौता गरेर उक्त सफ्टवेयरको सुविधा लिनु पर्नेछ । यसपछि शुरूमा बैङ्कमा निश्चित शुल्क वा निःशुल्कमा पहिलोपटक ग्राहकले आईपीओको आवेदन भरेपछि बैङ्कले भेरिफिकेशन गर्नेछ । बैङ्कले एकपटक ग्राहकको भेरिफिकेशन गरेपछि फेरी पटकपटक ग्राहक बैङ्क जानु पर्ने छैन । बैङ्कले दिएको कोड नम्बरको आधारमा ग्राहकले ‘मेरो शेयर डट कम’मा लगइन गर्न सक्नेछन् ।

 

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु