यमनबाट अंक खोस्ने नेपालको योजना

काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल मंगलबार यमनसँग अाफ्नै घरेलु मैदानमा खेल्दै छ । नेपालले यमनसँग हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा अपरान्ह ३ बजे प्रतिस्पर्धा गर्ने छ । हालसम्म नेपाल समूह एफमा अंकबिहिन रहेको छ । यमनसँगको खेलको टुङ्गो लागे पनि हालसम्म अखिल नेपाल फुटबल संघ एन्फाले भने नेपाली टोलीको घोषणा गरिसकेको छैन । एन्फाले नेपाली टोलीको घोषणा सोमबार बेलुकासम्म घोषणा गर्ने जनाएको छ ।औपचारिक घोषणा नभएपनि मंगलबार हुने खेलमा नेपालको बलियो यमनसँग अंक खोस्ने दाउ रहेको छ ।

सोमबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका नियमित कप्तान विराट महर्जनले अाफुहरू जितका लागि प्रशिक्षकको निर्देशन, प्लान अनुसार खेल्ने बताउनुभयो । यस्तै कप्तान विराटले नेपाली टोलीका केही महत्वपूर्ण खेलाडी नहुँदा टिमलाई असर पुगेको पनि बताउनुभयो । उहाँले यमनसँगको खेलका लागि मिडफिल्डर बिक्रम लामा, डिफेन्डर रोबिन श्रेष्ठ टोलीमा नपर्दा खेलाडीमा तालमेल मिलाउन समस्या हुने बताउनुभयो । विक्रम र रोविन टोलीमा नभएकाले आएका नयाँ खेलाडीहरु बीच तालमेल मिल्न नसकेकाले अलिकति गाह्रो बनाउन सक्ने उहाँको भनाइ छ । यसपटक नेपाली टोलीका बिक्रम फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएकोले प्रतिबन्धमा छन् भने रोबिनको खुट्टाको शल्यक्रिया गरिएको छ । तर, नेपालले यमनसँग डिफेन्स र फरवार्ड लाइन बलियो बनाएर प्रस्तुत हुने कप्तान विराटले बताए ।

होम एण्ड अवेका आधारमा चल्ने छनोट अन्तर्गत नेपालले  आगामी  २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले आफ्नो तेस्रो खेलमा आगामी ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग घरेलु मैदानमै खेल्ने छ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

यसअघि सन् २०१४ मा दुबईमा भएको भएको मैत्रीपूर्ण खेलमा नेपाले यमनसँग २ गोलको हार बेहोर्नु परेको थियो  । यस्तै फिफा वरियतामा पनि नेपाल यमनभन्दा ४५ औं स्थान तल  छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जापानिज ग्योतोकी कोजीले यमन बलियो भएपनि नेपालले भएका खेलाडीबाट सक्ने जति च्यालेन्ज दिने बताए । नेपालमा लामो समय फुटबल लिग नहुँदा टोलीमा केही फिटनेस कमजोर देखिएको, तरपनि नेपाली टोलीले जति सिकेका छन् त्यसले यमनलाई च्यालेन्ज दिनेमा उहाँ विश्वश्त हुनुहुन्छ ।

एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४ – १ ले पराजित भएको थियो भने यमनले ताजकिस्तानलाई २ – १ ले हराएको थियो । यमनका अधिकांस खेलाडी अन्तरास्ट्रीय लिग खेल्ने गर्छन । तर, यमनले नेपाललाई कमजोर भने नठानेको यमनका प्रशिक्षक इब्राहिम नेब्राटोले बताउनुभयो । नेपाल टिमबारे सन् २०१२ बाट जानकारीमा भएको बताउने उहाँले नेपालले धेरै सुधार गर्दै लगेको र नेपाल प्रति सम्मान रहेको बताउनुभयो ।

नेपालसँगको खेलका लागि टिममा परेका यमनको खेलाडीमध्ये ९ खेलाडी गल्फ राष्ट्रको उच्च श्रेणीको लिग खेलेको अनुभव छ । नेपालसँगको खेलमा कम्तिमा ४ जना खेलाडी मात्र पहिलो रोजाइमा पर्ने प्रशिक्षक नेब्राटोको भनाई छ । यमनका कप्तान तथा गोलरक्षक आयास इब्राहिम पनि ओमानको उच्च श्रेणीको लिग खेल्ने गर्छन । तर , यमनमा सन् २०१५ बाट जारी गृहयुद्ध र  राजनैतिक अस्थिरताले गर्दा यमनमा पनि खेलाडी उत्पादनमा कमी आएको प्रशिक्षक नेब्राटोले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु