को हुन् शेर वहादुर देउवा

जेठ २३ काठमाडौं । चौँथोपल्ट मुलुकको बागडोर सम्हाल्न पुगेका शेरबहादुर देउवा ‘बोल्ड डिसिजन’ लिन सक्ने नेतामा गनिए पनि विवादरहित भने छैनन् उनका धेरैजसो कदम विवादास्पद हुनेगरेका छन् । प्रधानमन्त्री हुँदा होस् वा पार्टीको नेतृत्वमा रहँदा उनी विवादबाट टाढा रहनै सक्तैनन् । अप्ठेरोमा पनि आफ्नो निर्णयमा अडिग रहने देउवा चौथोपटक देशको कार्यकारी प्रमुख अर्थात् नेपालका प्रधानमन्त्री निर्वाचित भएका छन् । संयोग, उनी जहिले जहिले प्रधानमन्त्री भए त्यति त्यति नै बेला देशमा जटिलता देखापरेको छ । देउवा सुदूरपश्चिका ‘आइकन’ हुन् । विक्रम सम्वत् २००३ साल जेठ ३१ गते रुवाखोला, आसिग्राममा जन्मिएका शेरबहादुर देउवाले २३ जेठमा प्रधानमन्त्रीको माला पहिरिन पुगेका छन् । सुदूर पश्चिमको पहाडमा जन्मिएर सिंहदरबारमा चार चार पटक अड्डा जन्माउने भाग्यमानी पनि हुन पुगेका छन् । हाल काठमाडौंको बूढानिलकण्ठमा बसोबास गर्दैआएका देउवाका पत्नी आरजु राणा देउवा र एक छोरा छन् । अध्ययन देउवा अध्ययन र चिन्तनमा रूचि भएकै नेता हुन् । विचार सिद्धान्तप्रति अविचलित देउवाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यतिमात्र होइन उनले लण्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलोका रूपमा राजनीतिशास्त्र विषयमा अध्ययनसमेत गरेका छन् । त्यसका अतिरिक्त उनी कानुनमा पनि रूचि राख्छन् । र, उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । राजनीतिक यात्रा उनको राजनीतिक ‘बामेसराइ’ नेपाल विद्यार्थी संघबाट प्रारम्भ भएको हो । विसं २०२७ सालमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ गठन भयो र देउवा त्यसको संस्थापक सदस्य हुँदै सभापतिसमेत बने । त्यसयता उनी राजनीतिमा निरन्तर रहेका छन् । कांग्रेस पार्टीभित्र तीक्ष्ण, अब्बल र कूटिल नेताका रूपमा दरिएका देउवा नेविसंघ गठन हुनुपूर्व २०२० देखि २०२३ सालसम्म सुदूरपश्चिम विद्यार्थी युनियन, काठमाडौंको अध्यक्ष थिए । र ३०३६ सालसम्म नेविसंघको अध्यक्षकै रूपमा रहेर उनले विद्यार्थी आन्दोलनको नेतृत्व गरे । मुलुकमा एकतन्त्रीय, निरंकुश पञ्चायती व्यवस्था लादिएको थियो । जनअधिकार कुण्ठित थिए । दलहरू प्रतिबन्धित थिए । जनताको सार्वभौमसत्ता, बाँच्न पाउने अधिकार दरबारमा कैद थियो । मुक्तिको राँको बोकर हिँडेका देउवा तत्पश्चात बहुदलीय व्यवस्था प्राप्तिमा सडक आन्दोलनको नेतृत्व गर्न थाले । विसं २०३६ साल जनमतसंग्रहको समयमा बहुदलीय प्रजातन्त्रको पक्षमा सक्रिय थिए । तिनैताक नेपाली कांग्रेसका नेता बीपी कोइरालाले उनलाई ‘शेरे पश्चिम’ भनेका थिए । त्यस्तै विसं. ०४१ सालमा भद्र अवज्ञा आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह पनि गरे । विसं. ०३८ देखि ०५४ नेपाली कांग्रेसको केन्द्रीय राजनीतिक सल्लाहकार समितिको संयोजकत्वको भूमिका निर्वाह गरेका उनले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको लागि सुरू भएको आन्दोलनको क्रममा उनले बेलायतबाट पश्चिमी मुलुकको सद्भाव जुटाउने काम गरे । र २०४७ सालमा नेपाली कांग्रेस सुदूपश्चिमको राजनीतिक इन्चार्ज भए । पद र प्रतिष्ठा देउवा २०४८ देखि २०५१ कात्तिकसम्म नेपाली कांग्रेसको तर्फबाट डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । त्यस्तै मंसिर विसं. २०४८ देखि ०५१ भदौसम्म कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भए । विसं २०५२ भदौदेखि २०५३ फागुनसम्म देउवा संयुक्त सरकारको प्रधानमन्त्री भए । विसं २०५४ फागुनदेखि २०५५ सम्म संसद् सदस्य देउवा पार्टी केन्द्रमा पनि रहे । त्यसबखत उनी केन्द्रीय सदस्य थिए । विसं. २०५१ कात्तिकदेखि ५२ भदौसम्म उनी कांग्रेस संसदीय समितिको सदस्य पनि भए । देउवा २०४८ सालको निर्वाचनदेखि २०७० सालसम्म लगातार डडेलधुराबाट चुनाव जित्ने नेता पनि हुन् । विद्रोह र पार्टी गठन उनी सानैदेखि विद्रोही थिए । र उनको हठी चरित्र थियो । पार्टीभित्र सुस्पष्ट विचार राख्ने र मतको कदर नभए उनी तत्कालै प्रतिवाद गर्ने नेतामा पर्छन् । विसं. २०५९ भदौमा पार्टी फुटाएर आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गरे । नेपाली कांग्रेसको सभापति रहँदा पनि उनलाई पार्टी विभाजन गरेको आरोप भने लागिरहेको छ । बर्खास्तगी र नियुक्त देउवा ०५८ साउनदेखि ०५९ असोज १८ सम्म नेपालको प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त भए । त्यही बेला उनले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गर्न पुगे । राजनीतिक अकर्मण्यता, दाउपेचको सिकार मुलुक भइरहेको थियो । विसं ०५८ जेठ १९ को दरबार हत्याकाण्ड र राजा वीरेन्द्रको वंश विनाशपछि राजगद्दीमा आसीन भएका राजा ज्ञानेन्द्र उपयुक्त मौकाको प्रतीक्षामा थिए । राजाको चालमा फसेका देउवाले पहिले प्रतिनिधि सभा विघटन गरे र त्यसपछि नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर, विसं ०५९ असोज १८ को कदममार्फत देउवालाई प्रधानमन्त्रीबाट अपदस्थ गरे । केही समय मुलुकमा आन्दोलन चर्कियो । प्रतिगमन सच्च्याइएको भन्दै पुनः २१ जेठ २०६१ मा देउवा नेकपा (एमाले) सम्मिलित संयुक्त सरकारको नेतृत्व गर्दै २०६१ माघ १९ सम्म नेपालको प्रधानमन्त्रीमा रहे । र, माघ १९ को शाही ‘कु’ मार्फत देउवा फेरि हुत्याइए । पार्टी नेतृत्व असंवैधानिक कदममार्फत राजाले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिए । सशस्त्र संघर्षरत माओवादी र ७ राजनीतिक दलबीच १२ बुँदे सहमति भयो र ०६२÷६३का आन्दोलनको जग तयार भयो । ०६३ वैशाख ११ गते शाही घोषणामार्फत राजाले ‘जनताको नासो जनताकै हातमा फिर्ता गरेको’ घोषणा गरे । त्यसको केही समयपछि दुवै कांग्रेसबीच एकीकरण भयो । मुलुकमा लोकतन्त्रको स्थापना भयो । र, देउवा विसं. २०६३ वैशाखदेखि ०६४ असोजसम्म पार्टीको संसदीय दलको नेतामा चुनिए । उनले विसं. २०६५ जेठदेखि २०६९ सम्म सोसलिस्ट इन्टरनेसनलका उपसभापतिको जिम्मेवारी सम्हालेका छन् । विसं २०७२ फागुन २३ मा सम्पन्न नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित भए । त्यसअघि उनी १२ औँ महाधिवेशनमा पनि सभापतिका प्रत्याशी थिए तर सुशील कोइरालासँग पराजित हुन पुगे । जेल र यातना विसं. २०२१ देखि २०६१ सम्म गरी उनले पटकपटक जेल जीवन भोगेका छन् । अमानवीय यातना भोगेका छन् । जेलभित्रकै यातनाका कारण जिब्रोमा समस्या छ । विभिन्न कालखण्डमा राजनीतिक विचारका कारण जेल चलान भएका देउवा जेलमा भएकै बेला मुलुकमा १२ बुँदे सहमति भएको हो । विदेश भ्रमण देउवा प्रधानमन्त्री भएको बेला अथवा राजनीतिको विभिन्न तह र तप्कामा रहेका बेला विभिन्न देश भ्रमण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेका छन् । उनले हालसम्म बेलायत, संयुक्त राज्य अमेरिका, भुटान, माल्दिभ्स, भारत, चीन, श्रीलंका, थाइल्याण्ड, जापान, जर्मनी, फ्रान्स, नर्वे, कोलम्बो, स्वीडेन, बेल्जियम, कतार, स्विटजरल्याड, अष्टेलिया, दक्षिण कोरिया र ग्रीसआदि देशका भ्रमण गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु