गुरुकुल पाठशाला सञ्चालन गर्न आर्थिक अभाव

रामपुर (पाल्पा), २४ वैशाख – कालीगण्डकीको उत्तरगङ्गा चापाकोटमा रहेको मणिमुकुन्देश्वर गुरुकुल पाठशाला आर्थिक अभावमा अहिले सञ्चालन गर्न समस्या परेको छ । हिन्दू धर्मग्रन्थअनुसार संस्कृत भाषामा पठनपाठन हुँदै आइरहेको गुरुकुल पाठशालाको आयस्रोत नहुँदा पाठशाला कसरी सञ्चालन गर्ने भन्ने समस्याले पिरोल्न थालेको छ । विसं २०६५ मा स्थापना भई सञ्चालन हुँदै आइरहेको यस पाठशालाको आर्थिक अवस्था बलियो नहुँदा गुरुकुल सञ्चालक समिति, शिक्षक र यहाँका स्थानीय बासिन्दालाई सञ्चालन गर्न ठूलो समस्या आइपरेको हो ।

गुरुकुलमा अध्ययन गर्न टाढाटाढाबाट विद्यार्थी यहाँ आएका छन्, आर्थिक समस्याले विद्यार्थीलाई घर जाऊ भन्न पनि सकिएन, चलाऊँ कसरी रु भन्ने ठूलो समस्या आइलागेको गुरुकुलका अध्यक्ष दीर्घवन्धु पौडेल बताउनुहुन्छ । गुरुकुलको नाममा ३२ रोपनी जग्गा रहेको छ, त्यसमध्ये २२ रोपनी धान फल्ने खेत छ । बर्सेनि नहर पहिरो गई पानी नियमित सञ्चालन नहँुदा खाद्यान्न उत्पादनमा समस्या परेर पाठशाला चलाउन निकै धौ–धौ भएको पौडेल बताउनुहुन्छ ।
विभिन्न सङ्घसंस्था, व्यक्ति, स्थानीयवासीबाट आर्थिक रकम जुटाएर भए पनि पाठशाला नियमित रूपमा सञ्चालन गर्ने सोचमा रहेको पौडेलको भनाइ छ ।

संस्कृत भाषाको उत्थान, अनुशासन, कर्मकाण्ड, नैतिक चरित्रवान निर्माण गर्ने उद्देश्यका साथ गुरुकुल पाठशाला सञ्चालनमा ल्याइएको हो ।

यस पाठशालामा अध्ययन गर्ने विद्यार्थीलाई गाँस, बास र निःशुल्क पढ्ने व्यवस्था रहेकाले पाल्पा, स्याङजा, कास्की, जुम्ला, सुर्खेत, बर्दियालगायतका विभिन्न जिल्लाबाट अध्ययन गर्न आउने गर्छन् । एक दरवन्दीसहित निजी स्रोतका तीन गरी चार शिक्षक, २५ जना विद्यार्थी, दुईजना भान्से र हेरालु गरी ३१ जना यही गुरुकुलको आश्रममा बसोबास गर्दै आइरहेका छन् ।

एक महिनामा झन्डै रु ७० हजार बराबरको खाद्यान्नमा खर्च हुने गरेको प्रधानाध्यापक शोभाकान्त पङ्गेनी बताउनुहुन्छ । पाठशालालाई नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई वैकल्पिक व्यवस्था मिलाइदिन उहाँ आग्रह गर्नुहुन्छ ।

यहाँ अनिवार्य विषयतर्फ अङ्ग्रेजी, गणित, नेपाली, सामाजिक र ऐच्छिक विषयतर्फ कर्मकाण्ड, संस्कृत भाषा, संस्कृत व्याकरण, वेद र रूद्रीलगायतका विषय पठनपाठन हुँदै आएको छ । बेलाबेलामा पुराण, कथा प्रवचन, महायज्ञलगायतका विभिन्न धार्मिक कार्य सञ्चालन गरेर बढो मुस्किलले गुरुकुल चलाउँदै आएका छौँ, अबका दिनमा कसरी चलाउने हो रु भन्ने ठूलो समस्या काँधमा आइपरेको समाजसेवी डोलराज न्यौपाने बताउनुहुन्छ ।

कलकल बग्ने कालीगण्डकीको मनोरम दृश्य, चिसो हावा बहने पवित्र उत्तरगङ्गामा अवस्थित यस गुरुकुल पाठशाला प्राकृतिक रूपमा भरिपूर्ण र अति नै सुन्दर ठाउँमा सञ्चालित छ । तर आर्थिक अभावमा यस धार्मिक धरोहरका रूपमा रहेको विशेषतः हिन्दू धर्मालम्बीहरूको महत्व र आस्थाको केन्द्रविन्दु मानिने गुरुकुल पाठशालालाई समस्याकै बाबजुद पनि यहाँका स्थानीयवासीले हालसम्म सञ्चालनमा ल्याएका छन् ।

यहाँ कक्षा ६ देखि ८ सम्म मात्र पढाइ हुने गर्छ । यस पाठशालामा नौदेखि १३ वर्ष उमेर समूहका छात्रमात्र पठनपाठन गर्छन् । गुरुकुलमा अध्ययनरत छात्रले बिहानै उठेर नुहाइधुवाइ गरेपछि मन्दिरमा नित्य पूजाआजा, वेद, कथा वाचन, स्वस्ती शान्तिलगायतका पाठ प्रवचन गर्ने गर्छन् । रासस

15 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु