मानिसमा हरियो रंग प्रभाव

–देवेन्द्र थुम्केली-

प्रकृतिमा देखिने यावत् चीज रंगीन हुन्छन् । ती सबै प्रकाशबाट प्रभावित रहेका हुन्छन् । पृथ्वीमा देखिने सबै वस्तुको एक न एक प्रकारको रुप र रंग हुन्छ । रंग र रुपका कारण वस्तुको विशेषतालाई हामीले चिन्न र बुझ्न सक्छौ । प्रकृतिलाई रंगकै कारण सुन्दर देख्न सकिएको हो । रंगले पृथ्वीमा रहेका सबै चीजलाई सुन्दर र आकर्षक बनाउन सकेको हो । रंगले नै जगतका सारा वस्तुलाई चिन्न र बुझ्न सजिलो बनाइदिएको छ । जे भएपनि यस पृथ्वीमा तीनवटा रंगबाट हजारौं रंग बनेको वैज्ञानिक पुष्टि भएको छ । यी तीन रंग रातो, पहेलो र निलो हुन् । यी तीन रंगलाई प्राथमिक रंग भनिन्छ । यी तीन रंगको मिश्रणबाट माध्यमिक रंग बन्दछन् । जस्तो रातो र पहेलो मिसाउँदा सुन्तला रंग, रातो र निलो मिसाउँदा बैजनी रंग र निलो र पहेलो मिश्रण गर्दा हरियो रंग बन्दछ । प्राथमिक र माध्यमिक रंगलाई एकअर्कामा मिसाउँदा पृथ्वीमा देखिने र भेटिने सबै रंगहरु बन्दछन् । यस संसारमा रंगको प्रभाव जताजतै देखिन्छ । रंगको प्रभाव प्रकृतिमा मात्रै नभई मानव निर्मित वस्तुमा पनि परेको हुन्छ । यसरी रंग मानव जीवनका लागि निकै उपयोगि रहेको छ । रंगलाई प्रकाश सशक्त रुपले प्रभाव पारिरहेको हुन्छ । प्रकाशले नै रंगको महत्व र उपयोगितालाई बढाउने हुनाले प्रकाश रंगको रुप र विशेषता छुट्टाउनका लागि पनि महत्वको रहेको हुन्छ । त्यसैले रंगको मुल स्रोत प्रकाशलाई मान्नुपर्ने हुन्छ । यो तथ्य सन् १६१६ मा वैज्ञानिक सर आई ज्याक न्यूटनले पत्ता लगाएका थिए । सिसाको गिलासमा रंगलाई प्रकाशले मात्रै प्रभाव पर्न सक्दछ भन्ने तथ्य उनले पत्ता लगाएका थिए ।


रंगको आवश्यकता र महत्व यस पृथ्वीमा रहँदै आएता पनि अहिलेको समयमा यसको महत्व झनै बढेर गएको छ । बढदो औद्योगिक उत्पादनदेखि मानिसका दैनिक जीवनमा उपयोगमा आउने यावत वस्तुमा रंगको महत्व बढ्दै गएको छ । अहिलेको बजारीकरणको युगमा उत्पादित चिजलाई बजारसम्म पुर्‍याउन बनाइने डिजाइन र तिनलाई आकर्षक बनाउन प्रयोग गरिने रंगको अर्थ निकै महत्वको रहन्छ । उत्पादित सामानलाई बजारसम्म पुर्‍याउन छापा तथा इलेक्ट्रानिक माध्यममा विज्ञापन गर्नका लागि पनि रंगको केन्द्रिय भूमिका रहेको हुन्छ ।
हरियो रंग वातावरणीय रंग भएकाले यसको महत्व झनै बढेको छ । विश्वमा आजकल ग्रीन सिटीको अवधारणा आएको छ । यसले सहरलाई हरियो बनाउने र वातावरणमा प्रदूषण कम गर्ने हो । यस कार्यका लागि विश्वका विभिन्न देशले लाखौं अरबौं डलर खर्च गरिरहेका छन् । हरियो रंग मानव तथा अन्य प्राणीको जीवनका लागि उपयोगी रंग हो । यो रंगलाई प्रकृतिका हजारौं रंगमध्ये प्रमुख रंग मानेको पनि पाइन्छ । हुनत अरु रंगको पनि यस जगतमा उत्तिकै महत्व रहेको छ । तर विज्ञान र विकासले गर्दा आएको संकटका लागि मान्छेले यो रंग अर्थात हरियाली बढाउने काममा निकै जोरबलका साथ लागेका छन् । हरियो रंग माध्यमिक रंग हो । शितल रंगको रुपमा चिनिने यो रंगले जाडो या ठण्डी मौसम या शितलतालाई जनाउँदछ ।


हरियो रंगलाई जीवनको प्रतीकको रुपमा पनि चिनिन्छ । प्रकृतिमा सबैभन्दा बढी देखिने रंग हरियो हो । रुख बिरुवादेखि प्रकृतिमा भेटिने प्राय चिज हरियो रंगकै हुन्छन् । यहीकारणले हरियो रंगलाई जीवनदायी रंगको रुपमा चिनिन्छ । स्वथ्य जीवनका लागि मानिसमा हरियो चीजको प्रभाव बढी हुनुपर्दछ । किनकि यो रंग भनेको मानव जीवन लगायत सारा प्राणीको जीवन बचाउने रंगको रुपमा लिनुपर्ने हुन्छ ।
धार्मिक तथा सांस्कृतिक रुपमा पनि हरियो रंगको प्रभाव समाजमा परिरहेको हुन्छ । जस्तो इस्लाम धर्मको प्रतीकको रुपमा हरियो रंगलाई लिने गरिन्छ । प्राय इस्लाम धर्म मान्ने देशका झण्डा पनि हरियो रंगको भएको पनि भेटिन्छ । हिन्दु नारीले साउन महिनामा हरियो चुरा लगाउने चलन रहेको छ । त्यस्तै हरियो पोते पनि लगाउने प्रचलन रहेको छ । इसाई धर्ममा संस्कारका रुपमा हरियो रंगको प्रयोग गरिन्छ । मीन राशीलाई हरियो रंगका रुपमा चिनिन्छ ।
यो रंग प्राणीका लागि बाँच्ने आधार भएकाले यसलाई जननी रंग भनेर पनि चिनिन्छ । त्यसैकारण हरियो रंग उर्वरताको प्रतीक पनि हो । यस पृथ्वीमा रहेका प्राणीको बाँच्ने आधार र स्रोत भनेकै हरियो अर्थात अन्न, रुख–घाँसपात आदि हुन् । जुन हरियो रंगका हुन्छन् । फूर्ति, उमंग ल्याउन पनि हरियो रंगको प्रभाव ज्यादा हुन्छ । मानिसलाई सधै सक्रिय र उर्जावान् बनाउनका लागि पनि यस रंगको बढता उपयोगिता रहन्छ । साथै मानिसलाई सकारात्मक बनाउन र नयाँ ढंगले उत्साह बढाउन पनि रंगको प्रभाव बढी हुने हुनाले उपयोगिता बढी रहेको हो । रोगीको उपचारमा पनि डाक्टरले हरियो चिज खान सल्लाह दिन्छन् । मानिस स्वस्थ्य रहनका लागि पनि यसको उपयोग जान–अंजान ढंगले मानिसले गरिरहेका हुन्छन् ।


धनधान्य र समृद्धिको रुपमा समेत यस रंगलाई चिन्ने गरिन्छ । मानिस समृद्ध र सम्पन्नशाली बन्न चाहान्छ । यसैमा नैै मानिसको जीवनभर त्याग र समर्पण रहेको हुन्छ । यसरी सम्पन्न र समृद्ध बन्न हरियो रंगको प्रभाव रहन्छ भन्ने विद्धानको मत रहेको छ । हरियो रंगलाई शान्तिको प्रतीकको रुपमा पनि चिनिन्छ । समाजमा हुने हरेक प्रकारका हिंसाबाट मानिस दिनदिनै आक्रान्त बनिरहेको छ । उनीहरु यस्तो वातावरणबाट मुक्ति चाहान्छन् । कोलाहल, त्रास, भय, आदिबाट मुक्ति पाउन मानिस एकै क्षण भएपनि हरियाली भएको ठाउँमा गएर रमाउन खोज्छ । त्यसैकारण ठूल–ठूला शहरका बीचमा पार्क निर्माण गरिएको हुन्छ । जहाँ मानिसले काम र व्यस्तताले गर्दा उब्जिएका तनाब कम गर्न सकोस भनेरै यस्ता पार्क बनाइएको हो ।
हरियो रंगका हजार फाइदा रहेता पनि केही बेफाइदा छन् । विषालु रंगको रुपमा हरियो रंगलाई हेर्ने गरिन्छ । जस्तो वनजंगल, पाखा–पखेरा तथा खेतबारीमा एकप्रकार सर्प पाइन्छ । त्यो हरियो हुन्छ । त्यसलाई हर्यौ भनिन्छ । त्यो विषालु हुन्छ । त्यसले टोक्यो भने मानिसलाई निकै असर गर्दछ । हरियो रंगकै हुने भएकाले यसलाई झट्टै चिन्न गाह्रो पर्दछ । विषालु घाँसपात र जडिबुटिले मानिस एवं प्राणीको ज्यानै लाने हुनाले यो रंगलाई विषालु रंगको रुपमा चित्रित गरिएको हो । आलोकाँचो स्वभाव तथा ईष्यालु, विषालु, अभिमानी÷घमण्डी स्वभावलाई हरियो रंगले जनाउने गर्दछ । भरत नाट्यमा भयानक रसको रुपमा हरियो रंगलाई लिइएको छ– बालकृष्ण समका अनुसार । हरियो रंग मानव जीवनमा मात्रै नभई हरेक प्राणीका लागि निकै आवश्यक रहेको छ । स्वस्थ जीवन जिउन र समृद्ध बन्नका लागि यस रंगको महत्व रहेको हुनाले रंगहरुको रंगको रुपमा पनि यो रंंगलाई लिन सकिन्छ अर्थात रानी रंगको रुपमा यसलाई लिन सकिन्छ । हरियो रंग शितल रंग भएकाले चिसो ठाउँका मानिसमा यसले निकै प्रभाव पार्दछ । चिसोमा न्यानोको आवश्यकता बढी रहेता पनि यसले झन् ठण्डी बनाउँछ । त्यसैले गाढा र फिक्का हरियो रंगले ईष्यालु, विषालु, क्रोध, भयानक, घमण्डी भावको रुपमा चिनाउदँछन् ।
यसरी हरियो रंगलाई कलाकारले पनि विशेष महत्व दिएर बनाएको पाइन्छ । हरियो रंग स्फूर्ति, उमंग, स्वस्थ्यताको प्रतीकको रुपमा चिनिन्छ । त्यसैगरी सुख, शान्ति, समृद्धि, सुरक्षाको रुपमा पनि हरियो रंगलाई लिने गरिन्छ । अगाडि बढ्ने संकेतको रुपमा पनि यसलाई हेर्ने गरिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु