निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो भएन : उपप्रधानमन्त्री थापा

बर्दिया ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो नभएको बताएका छन् ।

शनिबार सदरमुकाम गुलरियामा भेरी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताए ।

उनले भने, – “मुलुक निर्वाचनमा होमिइसकेको छ । अब बहिष्कार गर्ने कुरा कसैले गर्नु राम्रो हुँदैन ।” उनले निर्वाचन तोकिएकै मितिमा गरेरै छाड्ने बताए ।

“निर्वाचनको बहिष्कार गर्नु भनेको नेपाली जनतालाई अधिकारबाट वञ्चित गर्नु हो, जनताको अधिकार सुनिश्चित गर्न निर्वाचन बहिष्कारको कुरा गर्नु उपयुक्त हुँदैन,” अध्यक्ष थापाले भने।

सिंहदरबारमा रहेको अधिकार अब जनताको घरदैलोमै पुग्ने भएकाले सबै जनतालाई निर्वाचनमा भाग लिन उनले आग्रह गरे । मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष थापाको भनाइ थियो । उनले निर्वाचन बहिष्कार गर्ने निर्णयबारे पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरे।

केही दल जातजाति, भाषा, भूगोलजस्ता विषयलाई लिएर नेपाली जनताबीचको एकतालाई भाँड्न लागिपरेकाले सबै सचेत हुनुपर्नेमा थापाले जोड दिए।

भेरी अञ्चलस्तरीय भेलालाई राप्रकाका महामन्त्री धवलशम्शेर राणा, केन्द्रीय सदस्यहरु फत्तेसिंह थारु, कुन्ती शाही, कोमल वलीलगायतले सम्बोधन गरेका थिए । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु