थारू संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय स्थापना गरिने : राज्यमन्त्री बाँनिया

कञ्चनपुर, १२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले थारू संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्दिया र कञ्चनपुरमा सङ्ग्रहालय स्थापना गर्न लागिएको बताएका छन् ।

बुधबार कञ्चनपुरको झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शुक्लाफाँटा क्षेत्रीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले थारू समुदायको लोप हुँदै गएका कला, संस्कृति, रहनसहन, भाषा, वेशभूषा र गहना संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने बताए ।

उनले बर्दियामा चौधरी डगौरा थारूको सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ५० लाख र कञ्चनपुरमा राना थारू समुदायको सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ५० लाख बजेट मन्त्रालयले विनियोजन गरिसकेको बताए ।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्न सके मात्रै पर्यटकलाई भित्र्याउन सकिने भएकाले सबैले कला, संस्कृति जोगाउनका लागि लाग्नुपर्ने उनले बताए । पर्यटन व्यवसायलाई विस्तार गर्नका लागि शुक्लाफाँटा आरक्षलाई निकुञ्जमा परिणत गरिएको उनले दाबी गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु