फुजेल घटनाको अन्तिम फैसला मङ्सिर १२ मा

चितवन, २४ कात्तिक । चितवन जिल्ला अदालतले मङ्गलबारका लागि तोकेको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सरेको छ । कात्तिक ५ गते वादी, प्रतिवादी र जाहेरवालाका तर्फबाट लिखित बहस नोट पेस भएपछि अन्तिम फैसला मङ्गलबारका लागि तोकिएको थियो ।

अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार सो मुद्दा हेर्दै आएका अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर बिदामा रहेकाले मुद्दाको अन्तिम फैसला मङ्सिर १२ गते हुने भएको हो । न्यायाधीश कुँवरको आदेशअनुसार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र सहायक न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले लिखित बहसनोट पेस गरेका छन् ।

त्यसैगरी, प्रतिवादीका तर्फबाट १० र जाहेरवालाका तर्फबाट १० जना अधिवक्ताले लिखित बहस नोट पेस गरेको बरालले बताए। यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गरेका थिए । असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गरेका छन्।

सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा विसं २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यसपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आइएको छ र अर्का विष्णु तिवारी फरार आएका छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल समेत फरार भएका छन् । अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल अजीव लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटीमा तारेखमा छाडेको छ ।

त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राख्न लगाई तारेखमा छाडेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु