महाअभियोगको औचित्यबारे आफ्ना सांसदलाई एमालेद्वारा जानकारी

काठमााडौँ । नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ ।

व्यवस्थापिका–संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा माओवादी केन्द्र सँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो । यसमा एमालेका १०७ र माओवादी केन्द्रका ५० जना सांसदले हस्ताक्षर गर्नुभएको छ ।

संसदीय दलको आज नयाँ बानेश्वरमा बसेको बैठकमा एमालेले महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका सांसदलाई हस्ताक्षर गर्न पनि निर्देशक दिएको दलका प्रमुख सचेतक भानुभक्त ढकालले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले व्यवस्थापिका–संसद्को यही कात्तिक ७ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएको बताए ।

बैठकमा दलका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, नेता झलनाथ खनालको पनि सहभागिता थियो । नयाँ संविधान जारी भएपछि पहिलो पटक सदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धमा महाअभियोग दर्ता भएको हो । यो महाअभियोगका बारेमा सदनको सो दिनको बैठकमा छलफल हुने बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु