नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित, नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त

काठमाडौँ । हङकङमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटमा शुक्रबार नेपाल थाईल्याण्डसँग पराजित भएको छ । छनोट अन्तर्गतको पाँचौ खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित भएको हो ।
वोङनाईस्थित हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको १ सय ९ रनको लक्ष्य थइल्याण्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन् । नेपालकी करुणा भण्डारीले चार तथा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान दुई दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन जोडेको थियो । नेपालकी नेरी थापाले अविजित ३२ रन जोडिन । त्यस्तै इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ रन बनाइन् ।
यो हारसंगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । यता थाइल्याण्डको भने ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ । पाच खेलबाट ४ खेल जितेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा कामय छ । मात्र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले अब शनिबार चीनसँग खेल्ने छ ।
टि–ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड डबलराउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन् । एसियाली छनोटको शीर्ष स्थानमा रहने एक टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्डमा हुने महिला विश्वकप खेल्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु