आईसीसी महिला विश्वकप एसियाली छनोटमा नेपालले आज हङकङसँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ । हङकङमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले विहीबार आयोजक हङकङसंग खेल्दै छ ।
हङकङको कोलुनस्थित कोलुन क्रिकेट मैदानमा नेपाल र हङकङबिचको खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुँदैछ । अघिल्ला दुई खेलमा पराजय र एक खेलमा जित निकालेको नेपाली टोली दोस्रो जितको खोजीमा मैदान उत्रने छन् । र, नेपाललाई पहिलो खेलमा बेहोरेको हारको बदला लिने मौका रहेको छ ।

छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । त्यसै नेपाल आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग ३ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा नेपालले मंगलबार चीनलाई २० रनले पराजित गरेको थियो ।

छनोटमा नेपालले तीन खेलबाट २ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आयोजक हङकङ शीर्ष तथा थाइल्याण्ड दोस्रो स्थानमा छ । टि–ट्वान्टी फर्म्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड डबलराउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन् ।

एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।

इंग्ल्यान्डले आयोजना गर्ने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ । महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु