लाप्राकमा पुनर्निर्माण सुरु

भूकम्पको १८ महिनापछि भूकम्प अति प्रभावित गोरखाको उत्तरी गाविस लाप्राकमा पुनर्निर्माणको सुभारम्भ गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले लाप्राकको एकीकृत नमुना बस्तीको शिलान्यास गरेका हुन् । बस्तीको शिलान्यास गर्न शुक्रबार प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरबाट लाप्राक पुगेका थिए ।
“यो एकीकृत बस्ती मात्रै होइन, नमूना बस्ती पनि हो । यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ । यसले सम्पूर्ण नेपालीमा आशा जगाउन सक्छ । एनआरएनका अध्यक्ष शेष घलेलगायत एनआरएनका साथीहरूको देशप्रतिको ममता सम्मानयोग्य छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनको सचिवाललयले भन्यो, “एनआरएनको ६०० घर बनाउने चाहनाको सरकार सम्मान गर्छ । ४४४ घर यहाँ बन्नेछन् । बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्नु छ, त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नेछ ।”
प्रधानमन्त्रीले एनआरएनको कामको प्रशंसा गर्दै भने, “एनआरएनले खतरा मोलेको छ, जोखिम मोलेको छ । शेष घलेजीको परिचय त्यसै बनेको होइन । उहाँले आँटेपछि काम पूरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । एनआरएनका साथीहरूभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ ।”

कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले एकीकृत बस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको बताउँदै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताए । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले यसअघि नै निर्माण थाल्ने एनआरएनको योजना भएपनि एकीकृत बस्ती निर्माणका लागि इन्जिनियरिङ र अन्य प्राविधिक तयारीले बिलम्ब हुन पुगेको उनको प्रष्टिकरण थियो ।
लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामग्रीको प्रयोगद्वारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिए । नमुना बस्तीमा संघले ४४४ घर आधुनिक घर निर्माण गर्नेछ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरूप कायम हुने खालका घरहरू बनाइने छ ।
एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत वस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुनेछ ।
बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेले बताए । घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने, १८ हेक्टर जमिन निर्माण स्वीकृति लिइएको र ३० देखि ३५ लाखको लागत लाग्ने अनुमान गरिएको एनआरएनएको भनाइ छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु