काबुल आक्रमणका पीडित नेपालीको यस्तो गुनासो

14513532_1308169252536016_1870626390_oकाठमाडौं । गत असार ६ गते अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावास अगाडि भएको विस्फोटमा मृत्यु भएका परिवार र घाइतेहरूले सरकारले झन् आहत तुल्याएको दुःखेसो पोखेका छन् । काबुल घटनामा २ भारतीयसहित १३ नेपालीको ज्यान गएको थियो ।
विस्फोटमा गम्भीर घाइते भएका ६ जना पीडित र १३ मृतकका आफन्तहरूले सोमबार पत्रकार सम्मेलन गरी सरकारले क्षतिपूर्तिका लागि पहल नगरिएको गुनासो गरे । मृतक विदुर सुवेदीकी श्रीमती गंगा सुवदीले सरकारले झन् पीडा थपिदिएको गुनासो पोखिन् ।
उनले घटना घटेको चार महिना बितिसक्दा पनि सरकारले क्षतिपूर्तिका लागि सेबर कम्पनी र क्यानेडियन दूतावाससँग कुनै पहल नगरिएको बताउँदै भनिन्–“तालिवानीहरूले एकै पटक बमले उडाइदिए तर सरकारले त दिनप्रतिदिन दुःख थपिदिँदैछ ।”
“हामी रातदिन रोएर दिन बिताइरहेका छौँ, हामी आफूखुसी अफगान गएका पनि होइनौं, सरकारसँग श्रम स्वीकृति लिएर त्यहाँ पसिना बगाउन गएका हौँ, सरकारले क्षतिपूर्तिका लागि आवस्यक पहल गरोस्,” उनको भनाइ थियो ।
उनले अगाडि थपिन्, “सरकार तिम्रा भाउजूबुहारी र आमादिदीबहिनीको सिन्दूर पुछिएको भए के गथ्र्यौ ?”
उनले सेबर कम्पनीका एचआर म्यानेजर देउमान तामाङले आफूहरूलाई दिनु दुःख दिएको दुःखेसो पोखिन् ।
“सन् २०११ मा सम्झौता गर्दा इन्स्योरेन्स वापत एक लाख डलर दिने उल्लेख छ, अहिले ३० हजार डलर मात्र इन्स्योरेन्स रकम दिएको छ, इन्स्योरेन्सको कागज देखाउन भन्दा कम्पनीले आनाकानी गरिरहेको छ,” उनले थपिन् ।
घाइतेको पीडा उस्तै
असार ६ गतेको घटना सम्झँदा घाइते मनबहादुर थापाका आँखा रसाउँछन् । त्यसो त उनको आँखा धमिलो देखिन्छ, कान पनि राम्रोसँग सुन्न सक्दैनन् । टाउकोमा भर्खर शल्यक्रिया गरेको छ । भन्छन्, “यहाँ पाएको हण्डर गोता सम्झँदा बेकार बाँचेछु जस्तो लाग्छ ।”
घटनाको स्मरण गर्दै भन्छन्, “पाँच बजेको ‘मुभ’ थियो, दूतावास र हामी बसेको ठाउँबीचको दूरी दश मिनेटको मात्रै थियो । क्यानेडियन दूतावास नपुग्दै ‘ब्लास्ट’ भइहाल्यो ।”
त्यसबेलाको क्षण शब्दमा वर्णन नै गर्न सकिने भन्दै उनले थपे, “कसैको टाउको उछिट्टिएको, कोही रक्तमुच्छेल भइरहेका, त्यस्तो अवस्थामा कसरी बाँचे हुँला म, बिस्फोटमा मेरो वरिपरिका चारैजना साथीको ज्यान गयो !”
२१ दिन पछि बल्ल होस आएको बताउँदै उनले दुःखेसो पोखे, “सरकारले उपचारमा खासै सहयोग गरेन, दिल्लीबाट पनि निको नभइ नेपाल ल्याइयो, अहिले बाँचेकोमा पश्चाताप छ ।”
इन्स्योरेन्स कम्पनीले ९० दिनका लागि बयोधा अस्पतालमा उपचार गराइरहेको बताउँदै उनले भने, “शरीरभरी छर्रा छ, अझै तीन–चारवटा अप्रेसन गर्नुपर्नेछ, न सरकारले उपचार गर्न सहयोग गर्छ, न कम्पनीले नै खर्च बेहोर्छ, दोहोरो मारमा पो प¥यौँ हामी !”
मृत्युसँग हात मिलाएर आएँ
पत्रकार सम्मेलनमा घाइतेहरूसँग दुई हात जोडेर न्याय माग्नुको विकल्प नरहेको बताउँदै थिए अर्का घाइते अमृत रोकाया क्षेत्री ।
“हामी परराष्ट्र मन्त्रालयको कन्सुलर शाखा, सेबर कम्पनीका अधिकारीहरूको दैलो चहार्दाचहार्दै थाक्यौं,” उनले पत्रकार सम्मेलनमा भने, “तर हामी घाइतेहरूको कुरा कसैले सुनेनन् ।”
घाइतेहरू राम्रोसँग हिँडडुल गर्न नसक्दै दिल्लीबाट नेपाल फर्काइएको भन्दै उनले सरकारसँग प्रश्न गरे,“ दिल्ली भन्दा राम्रो अस्पताल नेपालमा भएर हामीलाई यहाँ ल्याइएको हो, अस्पताल भए उपचारमा बेवास्ता किन ?”
कतिपय घाइतेहरूको शरीरमा छर्रा र फलामका टुक्रा रहेको बताउँदै क्यानडा सरकारसँग आवश्यक उपचार र क्षतिपूर्तिको माग गरिदिन उनले नेपाल सरकारलाई आग्रहसमेत गरे ।
उनले भने, “हामी अवैधानिक हिसाबले होइन, बैधानिक बाटो भएरै अफगान गएका हौं, सरकारले उपचार गर्न सक्दैन भने, सम्बन्धित कम्पनी र क्यानेडियन सरकारसँग उपचारका लागि पहल गरोस् ।”
उनले इन्स्योरेन्स कम्पनीले अंगभंग मात्र उपचार गर्न सकिने बताएको भन्दै शरीरका छर्रा झिक्न आफूलाई समस्या भएको दुःखेसो पोखे ।
एउटा घटना नसेलाउँदै सरकारले इराक र अफगानमा पुनः नेपाली पठाउने गृहकार्य सुरु गरेको भन्दै आश्चर्यसमेत व्यक्त गरे ।
“तालिबानी आक्रमणमा परेकाहरूको यो बिचल्ली छ, घाइतेहरूले उपचार पाएका छैनन्, सरकार यसलाई आँखा चिम्लिएर पुनः इराक अफगान खुला गर्ने प्रपञ्चमा लागेको छ,” उनको भनाइ थियो ।
उनले क्यानेडियन दूतावास र बिट्रिस एजेन्ट सेबर इन्टरनेशलको लापरवाहीले घटना घटेको दाबी गरे ।
“मैले घरमा फोन गर्दा भन्ने गरेको थिएँ, अरु ठिकै छ, क्याम्पबाट सार्वजनिक बसमा दूतावास जाने आउने गर्नुपर्छ, कुन दिन बाटोमै बिस्फोट हुन्छ !,” उनले स्मरण गरे ।
दूतावास र कम्पनीले नेपाली सुरक्षा गार्डको सुरक्षामा कुनै ध्यान नदिएको उनको भनाइ थियो ।
आत्मघाती हमला भएको होइन
घाइते रोकायाले काबुल बिस्फोट आत्मघाती हमला नभएको बताउँदै सुनियोजित आक्रमण भएको दाबी गरे । “ड्राइभरसँग मिलेमतो गरेर रिमोट कन्ट्रोलमार्फत बिस्फोट गराइएको हुनसक्छ, आत्मघाती हमला भए त बिस्फोट गराउने भेटिनुपर्ने नि !”
बिस्फोटलगत्तै अफगानी चालकको हाउभाउ र अस्पतालमा उसले देखाएको व्यहारले आशंका मलजल तुल्याएको उनको तर्क थियो ।
“चालकको सिट पछाडिको मानिस मर्दा ऊ बाँच्नु, केही नभएको मानिस सडकमा गएर अल्लाह डाक्दै लडीबुडी गर्नुलाई हामीले अस्वाभाविक लियौँ,” उनले थपे ।
मृतकहरूले अलिअलि क्षतिपूर्ति पाए पनि घाइतेहरू समस्यामा परेको बताउँछन् अर्का घाइते चेकबहादुर सुनुवार ।
“म त गएको एक महिनामै विस्फोटमा परेँ, इन्स्योरेन्स आदि प्रक्रियाको बारेमा पनि खासै थाहा थिएन, चिकित्सकले एक–दुई वर्ष अस्पतालकै निगरानीमा बस्नुपर्छ भनेको छ खर्च छैन कसरी उपचार गर्ने ?”
अन्तिममा उनले सरकारले क्षतिपूर्ति र उपचारका लागि आवश्यक पहल गरिदिनुपर्ने बताउँदै अन्यता घाइतेहरूको बिजोग हुने धारणा राखे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु