छ गोली लागेको गैँडाको अवस्था सुधारोन्मुख

छ गोली लागेको गैँडाचितवन ९ भदौ । रौतहटको जङ्गलमा तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको अवस्था सुधारोन्मुख देखिएको छ ।

रौतहटबाट चितवन निकुञ्जले यही भदौ ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएर छाडेको करिब १५ वर्षको भाले गैँडाले आफ्नो विचरन र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ ।

सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएको छ । टेन्ट टाँगेर चौबिसै घन्टा गैँडाको निगरानीमा टोली खटाएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए ।

“सुरुमा हिँड्डुल गर्नसमेत सक्दैनथ्यो”, चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले भने, “अहिले राम्ररी हिँड्ने र खानेकुरा खाने गर्न थालेको छ, अब निको हुने आशा पलाएको छ ।”

गोली भित्रैबसेको आशङ्का निकुञ्ज अधिकारीले गरेका छन् । यही भदौ ४ गते रातिको समयमा तस्करबाट गोली हानी घाइते भएको गैँडाको उद्धारपछि अहिले चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रेखदेखमा उपचार भइरहेको छ । गैँडाको निधार, गाला, तथा कन्चट आसपासमा पाँच गोली लागेको र ढाडमा एउटा गोली लागेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका रेन्जर लक्ष्मण रायले गम्भीर घाइते अवस्थामा उद्धार गरिएको गैँडाको अहिले अवस्था सुधार हुँदा खुसी लागेको बताए । गैँडाको उद्धार गरेर ल्याउने टोलीमा उनी सहभागी थियो । “टोली पुग्दा उठ्न सक्थेन, बल्ल बल्ल पानी खुवाएर ल्याइएको थियो, अहिले विचरन गर्न थालेको छ”, रायले भने । रौतहटको चन्द्रपुर नगरपालिका–२ गैँडाटारमा तस्करबाट हानेको गोली लागेर गैँडा गम्भीर घाइते भएको थियो ।

निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा अहिले उपचार चलिरहेको छ । भरुवा बन्दुकले हानेको जस्तो देखिएपनि ढाडको घाउ देख्दा अन्य बन्दुक पनि प्रयोग भएको हो कि भन्ने आशङ्का गरिएको छ । बाटो बिराएर गैँडा त्यहाँ पुगेको संरक्षणकर्मीले बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु