सचिवहरूलाई प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन यस्तो छ

pm-prachandaसाउन २४ । काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरूलाई तीन दिनभित्र परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक प्रचण्डले मुख्यसचिवलगायत विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत ६० जनाभन्दा बढी सचिवहरूलाई आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर विभिन्न २८ बुँदे निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्तिप्रक्रियाका बाँकी कार्यहरूको शीघ्र समापन, भूकम्पपछि पुनर्निर्माण, सार्वजनिक सेवाको प्रभावकारिता र सुशासन कायम एवं देशको समृद्धिका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए ।

विस्तृत कार्ययोजनाका खाका तीन दिनभित्र पेस गर्नोस्

प्रधामनन्त्री प्रचण्डले सबै मन्त्रालय र निकायहरूले आ–आफ्नोतर्फबाट चालू आर्थिक वर्षमा दिनुपर्ने प्राथमिकताका विषय र त्यसको कार्यान्वयनमा आवश्यक पर्ने विस्तृत कार्ययोजनाको खाका तीन दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्न निर्देशन दिएका छन् । ‘कार्ययोजना बनाएर सोहीअनुसार काम गरेर परिणाम निकाल्नुहोस्, परिणाममुखी काम नगर्नेमाथि कारबाही हुन्छ,’ उनले भने ।
प्रधानमन्त्रीको डेढ घन्टे निर्देशन
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाकक्षमा आइतबार दिउँसो सवा ३ देखि पौने ५ बजेसम्म प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई निर्देशन दिएका थिए । कार्यक्रमको सुरुमा मुख्यसचिव डा. सोमलाल सुवेदीले सार्वजनिक प्रशासनको वर्तमान अवस्था र समस्याबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।
के–के छ २८ बुँदे निर्देशनमा ?
प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई ‘गरिबका लागि सरकार अभियान’ सञ्चालन गर्न, भूकम्पबाट प्रभावित पाँच लाख ३३ हजार परिवारलाई ४५ दिनभित्र पहिलो किस्ता अनुदान उपलब्ध गराउन, पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने, चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र चिकित्सक पठाइसक्नुपर्ने, जिल्ला र सोभन्दा माथिल्ला अस्पतालमा गुणस्तरीय औषधि दिनेगरी औषधि कक्ष सञ्चालन गर्नुपर्ने, देशभरका दलित र कर्णालीका नवजात शिशुुको जन्मदर्ता गर्न म्यादभित्र आउने परिवारलाई एक हजार प्रोत्साहनस्वरूप दिने व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका छन् ।
यस्तै, पूर्वाधार र विकास निर्माण कार्यमा गुणस्तरीयता कायम गर्दै आर्थिक अनुशासन र मितव्ययिता अपनाउनुपर्ने, विकासका कार्यहरू गर्दा दिनरात दुवै समयमा द्रुतगतिमा गर्ने (राति काम नरोक्ने), ऊर्जा संकटका लागि बनाइएका कार्ययोजना तत्काल कार्यान्वयन गर्ने, सरकारले बनाएको तत्काल सुधारको कार्ययोजना २०७२ लाई कार्यान्वयनमा लैजाने, कर्मचारीतन्त्रले जनतालाई दिने सेवा–सुविधामा विशेष ध्यान दिनेछन् ।
यसैगरी, संघीयता कार्यान्वयनको सवालमा कर्मचारी व्यवस्थापनको कार्ययोजना ३० दिनभित्र पेस गर्न, राष्ट्रिय गौरवका र प्राथमिकता प्राप्त योजनाहरूलाई गौरवशाली ढंगले कार्यान्वयन गर्न, संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा र परिवर्तन गर्ने काम सक्नुपर्ने, सरकारी कार्यालयलाई भरोसायोग्य र जनताको सहयोगी बनाउनुपर्ने, सरकारी कामकारबाहीलाई सूचना र प्रविधिको प्रयोग गरी जनताको पहुँच बढाउनुपर्ने निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विदेशमा काम गर्न जाने नेपालीको समस्या समाधान गर्नुपर्ने, कालोबजारी, भ्रष्टाचार, कृत्रिम अभाव रोक्नुपर्ने, सबै सचिवले आफूले गर्ने अनुगमनको कार्ययोजना बनाई आकस्मिक निरीक्षण गर्नुपर्ने र कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने, सरुवा–बढुवालाई न्यायपूर्ण र विवेकपूर्ण बनाउनुपर्ने, राजनीतिक संक्रमणलाई छोट्याउन विशेष रूपमा तथा विशेष सीप र उत्साहका साथ काम गर्नुपर्ने, व्यावसायिक दक्षता र उपयोगमा प्रतिबद्ध रहनुपर्ने निर्देशन दिएका छन् ।
मसँग छोटो समय छ, काम धेरै गर्नुछ
प्रधानमन्त्री प्रचण्डले कर्मचारीतन्त्र जनताको सेवक बन्नुपर्नेमा शासकजस्ता बनेको भन्ने गुनासो आउने गरेको भन्दै त्यसतर्फ सजग हुन सुझाब दिए । अब मन्त्रीले सचिव रोज्ने र सचिवले मन्त्री रोज्ने प्रवृत्ति सदाका लागि अन्त्य हुनुपर्ने उनको भनाइ थियो । सचिवहरूलाई निर्देशन दिँदा झन्डै डेढ घन्टा बोलेका प्रधानमन्त्री प्रचण्डले आफूस“ग निकै छोटो समय भएको र यो समयमा जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
कठिन अवस्थामा प्रधानमन्त्री भएको छु सहयोग गर्नोस्
प्रचण्डले आफू कठिन अवस्थामा प्रधानमन्त्री भएकाले इमानदारीपूर्वक आफूलाई सहयोग गर्न सचिवहरूलाई आग्रह गरे । ‘म क्रमभंग चाहने व्यक्ति हुँ,’ उनको भनाइ थियो, ‘हरेक दिनको रिजल्ट ग्राफमा देखिनुप¥यो, त्यसो नभएमा मैले बाध्य भएर कडा स्टेप लिनुपर्छ ।’ सचिवहरू र आमकर्मचारीमा काम नगर्ने प्रवृत्ति रहेकोतर्फ संकेत गर्दै उनले कर्मचारीहरूलाई ‘चेन अफ कमान्ड’मा रहन र प्रधानमन्त्रीय पद्धतिअनुसार चल्न निर्देशन दिए । ‘तपाईंहरू आफूखुसी चल्ने होइन, विधि, कानुन र चेन अफ कमान्डमा रहनुपर्छ,’ प्रचण्डले भने ।

नयाँ पत्रिका

Comments

comments

सम्बन्धित शिर्षकहरु