साउने सोमबार शिवालयमा भक्तजनको घुइँचो

162-660x330साउन २४ । नवलपरासी, नवलपरासीका विभिन्न शिवालय मन्दिरमा यतिबेला भक्तजनको घुइँचो बढेको छ । बिशेष गरी साउन महिनाको आज चौथो सोमबारका दिन जिल्लाका विभिन्न स्थानमा रहेको शिवालय मन्दिरमा नेपालका विभिन्न स्थान साथै छिमेकी भारतीय बजारबाट आएका भक्तजनको समेत घुइँचो लागेको हो ।

जिल्लाको सबैभन्दा बढी बर्दघाटस्थित शिव मन्दिरमा श्रद्धालुको भिड लागेको छ । साउन महिनामा शिवालय मन्दिरमा गई शिव ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास रहेका कारण साउन महिनाभरि शिवालयमा श्रद्धालुको घुइँचो लागेको हो ।

नवलपरासीको विकास उन्मुख बर्दघाट नगरीको केन्द्रबिन्दुमा अवस्थित यस शिवालय मन्दिरमा आई पूजाअर्चना गरेका मानिसको आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

यस बर्दघाटस्थित शिवालय मन्दिरको उत्तर शक्तिशाली दाउन्नेदेवीको पश्चिमतर्फ भगवान्को अनेक नाममध्ये नर्मदेश्वरको रुपमा परिचित स्थल हो । विसं २०४३ बाट यहाँका धार्मिक व्यक्तित्वबाट यो क्षेत्रलाई धार्मिक रुपमा विकास आरम्भ भएको हो ।

साउन महिनाको सुरुवातसँगै नवलपरासीका विभिन्न शिव मन्दिरमा बोलबमको मेला जारी छ ।
नवलपरासीको बर्दघाटमा रहेको शिवालय मन्दिर, दाउन्नेको कैलासमा रहेको शिव मन्दिर, त्रिवेणीको शिवधाम, बाबा बर्दगोरीया मन्दिरलगायत सुनवल, परासीलगायतका क्षेत्रमा रहेका शिव मन्दिरमा समेत श्रद्धालुको घुइँचो लागेको छ ।

साउन महिना भगवान् शिवलाई मनपर्ने महिना भएकाले यस महिनामा व्रत लिने, जल चढाउने, बेल पुष्प चढाउने अनि एकछाक मात्र साविक भोजन गर्ने परम्परा छ । नवलपरासीको त्रिवेणीघाटमा स्नान र जल भर्नका लागि साउन महिनाभरि भीड लाग्ने गर्दछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु