बसाईं सरेको छैन पहाड !

।। आदि कवि भानुभक्तको सम्झनामा शब्द श्रद्दा  ।।  

– भीमसेन सापकोटा, सिड्नी, अस्ट्रेलिया ।bhimsen bhanu

डांडा बाट झर्दैमा
कहाँ अस्ताउंछ र सूर्य ,
क्षितीज उक्लेर हेर त !
चांदलाई वादलले पोल्टोमा
कहिले सम्म लुकाउन सक्छ !
सोध त्यो ‘लिवर्टीलाई,
खोज मरूभुमिको देशमा,
हेर त्यो ओपेराको धुरी बाट,
हल्ला गर्दैमा किन हराउंथ्यो र चन्द्र, सुर्य ।
कहिले झुकेको छ र हिमाल
वादलले छेक्दैमा, आंधिहुरीचल्दैमा
कहिल्यै बसाई सरेको छैन पहाड ।

स्वाभिमानको लगाम पक्रेर
सगरमाथा भुगोलभरी ईमानको झण्डा
तन्काईरहेछ सन्तानहरू को पाइलामा ।
कहिले जापानी साकुराहरुमा
‘हाइकु ‘ बनेर फुल्छ नेपाल
कहिले क्याप्टेन कुकको देशमा
गजल बनेर गुनगुनाउंछ ,
कहिले अरबको मरूभूमि त
कहिले मलेसियाको जङ्गलमा,
मुक्तकको ढुकढुकिन बन्छ ,
कहिले फिजिमा तिम्रो
‘कान्तिपुरे’ गाथा गांउंदै
आयतन बढाई रहेछ तिम्रो नेपाल ।

कोलम्वसको देशमा छरिएका देशका ,
धुलो उठाएर हेरत ,
गोर्खालीले टेकेको माटोको गन्ध सुंग त,
स्वाभिमानी पहिचानका नेपाली मानचित्र
दिन दुगुना रात चौगुना झाङ्गिदो छ ।
डायस्पोरामा छरिएका अक्षरहरू केलाउ त,
तिम्रो ‘कान्तिपुर नगरी ‘अनि तिम्रै मसिको विज
भुगोलभरी अस्तित्वको नक्सा कोरी रहेछ भानु ।
भानुभक्त अनेक उपनाममा
फैलीरहेकै छ्न् अनेक उपनाममा
त्यसैले मन नखुम्च्याउ, भानु
अझै लेख्नु छ हाम्रो सुनौलो गौरव गाथा .
विश्व साहित्य , पुस्तकालय र विश्वविध्यालयहरूमा
नाम नभेटिए तिम्रो ति अधुरा हुनेछन्।
तिमीलाई नचिन्ने देशहरू अब अपुरो हुंदैछन् ।

त्यसैले सगरमाथा झुक्ने छैन
पहाडहरूले गाउं छाडने छैनन्
जहाँ पुग्छन् तिम्रा कलम विजहरू
नेपाल चित्र कोरि
रहेछन् छरिएर भुगोलभरि ।
हिमाल झुकेकै छैन ,
पहाड सरेकै छैन,
तराई बिकेकै छैन, भानु ।
ठडिरहने छ, तिम्रो स्वाभिमान,
एकपटक ‘डायस्पोरा’को सगरमाथा
उक्लिएर त हेर !

सम्बन्धित शिर्षकहरु