‘स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्नुस्’

madhav-kumar-nepalकाठमाडौँ। नेकपा (एमाले)का नेता माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ।

एमाले नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणको काम अगाडि बढ्न नसकेको र भ्रष्टाचार मौलाएका कारण त्यसलाई नियन्त्रण गर्न पनि निर्वाचन जरुरी रहेको बताए।

उनले भने ‘‘ स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएका कारण एमालेका हरेक कमिटीमा महिलालाई उचित स्थान दिएर अगाडि बढाउन जरुरी छ, प्रान्तीय, स्थानीय र केन्द्रीय निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गरिनुपर्छ, त्यसका लागि एमालेले पूर्ण तयारी गर्नुपर्छ ।’’

स्थानीय निकायमा जाने बजेटको सदुपयोग गर्न र जनपक्षीय काम गर्न आग्रह गर्दै नेता नेपालले अन्य दलले गर्ने गलत काम र प्रवृत्तिको भण्डाफोर गरेर अगाडि बढ्न समेत कार्यकर्तालाई आग्रह गरे ।

नुवाकोट बिस्तारै आर्थिक केन्द्रका रुपमा विकास हुँदै गएको बताउँदै उनले रसुवा– केरुङ सडकखण्डको स्तरोन्नति र चिनियाँ रेल समेत सोही जिल्ला भएर आउने भएको तथा पेट्रोलियम पदार्थको भण्डारणका लागि नुवाकोट छानिएकामा खुसी व्यक्त गरे।

काठमाडौँ– नुवाकोट सुरुङ मार्ग, सडकको स्तर वृद्धि एवं कृषि, पर्यटन तथा जलविद्युत्मा समेत नुवाकोट अग्रणी भएको बताउँदै उनले आर्थिक विकासका लागि एमालेले नै नेतृत्व गर्नुपर्नेमा जोडदिए ।

एक फरक प्रसङ्गमा पार्टीलाई एकताबद्ध बनाएर लैजान नेता तथा कार्यकर्ताको अग्रणी भूमिका रहने उनको कथन थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु