पहिलो लेगमा रियल मड्रिडको पराजय

बर्लीन । स्पेनिस ला लिगाको इएल क्लासिकोमा बार्सिलोनालाई पराजित गरेपछि पहिलोपटक मैदान उत्रिएको रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । शनिबार भएको इएल क्लासिकोमा बार्सिलोनालाई २–१ ले हराएको रियल बुधबार राति भएको पहिलो लेगमा जर्मन क्लब उल्फबर्गसँग २–० ले पराजित भएको हो ।

पहिलो हाफको २५ मिनेटभित्र लिएको दुई गोलको अग्रता जोगाउदै उल्फबर्ग बलियो प्रतिद्वन्दी रियललाई पराजित गरेको हो । भोल्ग्स्वागन एरिनामा १८ औं मिनेटमा पाएको पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले गोल गर्दै उल्फबर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । रियलका कासमिरोले उल्फबर्गका आन्द्रे सोर्लरलाई फउल गरेपछि पाएको पेनाल्टीमा रोड्रिग्वेजले सहजै गोल गरे । त्यसको सात मिनेटपछि म्याक्स आर्नोल्डले रियलको कमजोर डिफेन्सको फाइदा लिँदै गोल गरेपछि उल्फबर्गले पहिलो हाफमा अग्रता दोब्बर बनायो । तर, दोस्रो हाफमा गोल गर्ने अवसर सदुपयोग नगर्दा रियलले पराजय बेहोर्यो ।

“म पहिलो हाफको खेलबाट खुशी छैन,” पहिलो लेगमा पराजित भएपछि रियलका प्रशिक्षक जिनेदान जिदानले खेलबाट असन्तुष्ट देखिए । सन् २००४ पछि रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलोपटक पराजित भएको हो । यस्तोमा जिदानलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा खेलमा फर्कने बिश्वास छ । “फुटबल खेल हो यो जहाँ जे पनि हुन्छ,” उनले थपे, “तर, हामीले केहि हप्ता विश्राम लिन्छौँ र सोच्ने छौँ दोस्रो लेगबारे । किनकी हाम्रो अर्को चरणमा पुग्ने मौका अझै छ ।”

च्याम्पियन्स लिगमा १० पटकको विजेता रियललाई सेमिफाइनल पुग्न अब आउँदो बिहीबार घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित आवश्यक भएको छ । तर, रियलसंग सन् १९८७ को युरोपियन कप अन्तर्गत रेड स्टार क्लबविरुद्धको क्वाटरफाइनल कै पहिलो लेगमा दुई गोलले पछि परेपनि समग्रमा जित निकाल्दै सेमिफाइनल पुगेको इतिहास छ । एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु