सती आमैसँगको  रात [कविता]

 

आर्यघाट नजिकै एक रात
गौशाला देखि केही तल
श्लेषमान्तक नपुग्दै
पछ्यायो पिरो धुवाँले

सोंचे, आर्यघाट अघिल्तिर छु
जल्दै गरेको चिताबाट
फुस्फुसाउँदै आयो होला
र, मेरो बाटो बथान्यो

तर, त्यो धुँवा केही क्षणमै
मानवाकृतिमा बदलियो
रातो साडीको मुजा पिठ्युँबाट काँध हुँदै अगाडि ओरालेकी
अनुहार मझेत्रोले ढाकेकी

सिउँदोमा झलमल्ल सिन्दूर12030420_1152689908083952_3536540003546665130_o
हातमा लस्करै चुरा
गलामा नौगेडी,
हरियो र पहेँलो पोतेका झुप्पा

तर, निधारमा ठूलो खत
कोतरिएको/कोपरिएको शरीर
फाटेका कुर्कुचा
रगताम्य पैतालाहरू

कलेटी परेका अोठ
आँसु सुकेर निलडाम बनेका गाजलका धर्सा
तेल चुहिँदै गरेका
धागो फुकेरर अस्रेल्ल कपालहरू

नियालेर हेरें शिरदेखि पाउसम्म
केही कौतुहलता, अलिकती भय
थोरै सन्त्रास र उत्सुकताले
सोधें उनलाई, यत्ति राती यो हविगतमा कता ?

“पनातीकि छोरी भेट्ने मनको तिर्सना मेट्न”
काखमा दूदानी च्यापेकी
साथमा केही अौषधि
र, हातमा नखोलिएको ‘पारलेजी’

बाबू, मोटसाइकलमा पुर्याइदेउन
उ परको सुकुम्बासी बस्ती
अचेल हाम्रा शाखासन्तान
एकपछि अर्को गरी थातथलो छाड्दैछन र शरणार्थी बन्दैछन्

असमञ्जसमन परें, रनभुल्ल भएँ
सोध्नै पर्यो, को हुनुहुन्छ तपाईं ?
अश्रुमिस्रित भावमा, लेघ्रो र धोद्रो बसेको श्वरमा उनले भनिन्,
“म सती आमै”

धत् के आइलाग्यो मध्यरातमा
उनले पुन: शान्तपूर्वक भनिन्
बाबू, त्यहाँ पुर्याइदेउ
उ तिनदेखी अचेत छे

वर्षैपिच्छे छोराको आशमा
पालनकर्ता जन्मने विश्वासमा
समाजले कुरा काट्ने त्रासमा जन्मिएकी ऊ
अहिले जीवन र मृत्युको दोसाँधमा छे

चार मरिसके
ऊ पाँचौं हो
ढिला नगरौं
अन्तिम श्वास फेर्नु अघि मलाई उसको नजिक पुग्नु छ

डरले डेरा जमाए पनि
मनमा भयको तुफानी चले पनि
मोटरसाइलको एक्सिलेरेटर बढाएँ
आमै अप्ठ्यारोसँग बसिन पछाडि

रित्तो सुकुम्बासी बस्ती
आगोले केही दिन अघि अझै उजाडेको
बुधबारको हुरीले उडाएर असरेल्ल जस्ताका पाताहरू
लोग्ने र हुर्केका छोरा विदेशिएकाले
रित्ता बनेका घरका भित्ताहरू

“बाबू पख्नुस है”
ओर्लिन् र उनी मैनको उज्यालो भएतिर हराइन
अचानक रुवावासी चल्यो
केहीक्षणमै आइपुगिन् ती आमै मेरो नजिक

उनको काखमा मृतमुद्रामा थिइन्
लोलीपप चुस्दै गरेकी एक बालिका
रगताम्य, च्यातिएको गुप्ताङ्ग
चिथोरिएको शरीर
उनले भनिन्, “पापिष्ट पुरुषको करामत”

“बाबू गएँ है”
तत्पश्चात उनको आकृति धुवाँमा बदलियो
पृष्ठभुमिमा छोपियो जूनको प्रकाश
घर आइपुग्दा उज्यालो हुन अझै बाँकी थियो रातको केही प्रहर ।अस्तु।
© अक्षर काका

Comments

comments

सम्बन्धित शिर्षकहरु