‘लेखन र साहित्य सिर्जना मेरो जीवन हो’

साहित्य लेख्नु मात्र होइन समाज देख्नु पनि हो । अथवा समाजकै बिम्बमा साहित्य फुल्छ, मुस्काउँछ र समाज त्यसैमा पुलकित हुन्छ । लेख्न असाध्यै गाह्रो छ । यसकारण कि आम मानिसहरू आमाको कोखबाट जन्मन्छन । तर, लेखकहरू समाजको गर्भबाट जन्मन्छन् । रत, सर्जकको सिर्जनामा समाज दुख्नु पर्छ र त्यसको पीडा आम पाठकहरूलाई हुनुपर्छ, लेखकको कोरा कल्पनालाई मात्र कहाँ साहित्य मान्न सकिन्छ र?

पाल्पाको गोठादीमा जन्मिएकी नीलम कार्की निहारिकाको पहिलो कविता आमा शीर्षकमा कक्षा– ६ मा अध्यन गर्दा नै प्रकाशित भएको थियो । हवन, कागजमा दस्तखत र बेली कथा संग्रह प्रकाशित छ भने पछिल्लो कृति आएको थियो, उपन्यास ‘अर्की आईमाई’ । र उनले अर्को उपन्यासको तयारी गरिरहेको पनि बताएकी छन् । प्रस्तुत छ, उनीसँगको छोटो भलाकुसारीः

यहाँ लेखक हो कि साहित्यकार ?
म लेख्छु, लेखक । साहित्य सिर्जना गर्छु, सर्जक हुँ ।

लेख्न के ले झक्झकाँउछ ?
बिषयवस्तुले ।

भन्नाले ?
समाजमा पात्रहरू भेट्छु ,लेखिनु पर्ने बिषय भेट्छु अनि लेखूँ लेखूँ लाग्छ । लेख्छु ।

लेखनका सुरुवात कसरी गर्नु भयो ?
६ कक्षामा पढ्दा स्कुलमा प्रतियोगिता र त्यसमा बिजयी भएमा मुखपत्रमा प्रकाशित गर्नका निम्ति कविता आह्वान भएको थियो । त्यसको निम्ति कविता लेखेँ । आमा शीर्षकको कविता प्रकाशित भयो पनि । त्यसपछि अलि अलि गर्दै लेख्दै गएँ ।

अमेरिका पुगेर पनि लेखिरहनु भएको छ ?
लेखिरहेकी छु । लेखिरहन्छु ।

अर्की आइमाईमा के छ ?
जीवन छ । जगत छ । प्रदेशिनु पर्ने हाम्रा साझा विवषता र भोगाई छ ।

बढी नारीका आवाज छ हो ?
अर्की आइमाईमा बर्तमान समाज छ । समाजमा नारी पुरूष दुवैको आवाज हुन्छ । यसमा पनि त्यस्तै छ तर जसको आवाजमा बढी पीडा चित्कार छ त्यो बढी सुनिनु स्वभाबिक हो ।

अरू के छ अर्की आइमाईमा?
मुलुकको राजनीतिक अस्थिरताले गर्दा जनताले भोग्नु परेको समय छ । जन्म भूमि छाडेर बिदेशिनु पर्ने बाध्यता छ । बिदेशिनु रहर मात्र होइन बाध्यता पनि हो । त्यही बाध्यताको कारण गाउँका घरहरू एक्लिँदै छ । आमा बाबुसँग सन्तानहरू टाढा भएका छन् । परिवार टुटेको छ । अत्यास लाग्दो छ समय ।

बिदेश जानु रहर पनि होइन र ?
भन्नको लागि जे भनि दिँदा पनि हुन्छ । सम्पूर्णको बारेमा म भन्न सक्दिन तर अधिकांशको चाहिँ बाध्यता नै हो । पारिवारिक दायित्व, आर्थिक अवस्था, देशको परिस्थिति, धेरै–धेरै कारण छन । मैले एक जना मान्छेले विदेशमा काम गरेर परिवार पालेका र छोरा छोरीदेखि भाइ भतिजा भान्जाभान्जी गरी सोह्र जना सम्मको अभिभारा उठाएको देखेकी छु । उनी बाह्र वर्षदेखि आफ्नो देश जान सकेका छैनन । भन्छन, म एकले दुख गरिदिँदा धेरैले शिक्षा र स्वास्थ्योपचार पाएका छन । फरक–फरक बाध्यता छन् बिदेशिनु को !

पछिल्लो समय के मा ब्यस्त हुनु हुन्छ ?
लेखनको कुरामा म अविच्छिन्न ढंगले लेखि नै रहेकी छु । मेरो अर्को उपन्यास पनि आउँदैछ । त्यसको अलावा अमेरिकामा रहेका सर्जकहरूको रचनाको अंक अभिव्यक्तिको विशेष अंक आउदै छ त्यसको सम्पादनमा पनि लागिरहेको छु ।

यहाँलाई साहित्यमा आफ्नो स्थान कहाँ निर छ भन्ने लाग्छ ?
म हिँडी रहेकी छु । यात्री हुँ कहाँ पुगें मैले नै फर्केर हेरेकी छैन । र त्यो तय गर्ने मेरा सचेत पाठक ले हो नि ।

कथा लेखि रहेको मान्छे फेरि उपन्यासमा किन आउनु भयो ?
त्यो पात्र र कथा को माग हो । समाजको पात्रमा आधारित भएर मैले कलम चलाउने गरेको छु । अर्की आइमाईका पात्रलेकविता या कथा होइन उपन्यास मागिरहेका थिए ।

अब के लेख्दै हुनु हुन्छ ?
केही कविता पनि लेखि रहेकी छु तर प्रकाशनको हिसाबले उपन्यास नै आउँदै छ ।

कति समय लाग्यो उपन्यास लेख्न?
मैले उपन्यासको निम्ति तीन वर्ष जति अध्ययन गरें । त्यसपछि लेख्न दुई वर्ष लाग्यो ।

यो उपन्यास कहिलेसम्म आइसक्ला र उपन्यासको नाम के हो ?
प्रकाशनको ढोकाभित्र पसी सकेको छ, मेरा अक्षरहरू पुस्तक बनेर निस्कने प्रतिक्षा छन् । प्रथम पटक यहाँबाट भन्दै छु, ‘चीरहरण’ हुने छ उपन्यासको नाम ।

नारी कथामै आधारित हो कि क्या हो चीरहरण पनि ?
केही हदसम्म हो । तर के राज्यको पनि चीरहरण भएको छैन र ?
प्रस्तुतिः अक्षर काका

सम्बन्धित शिर्षकहरु