महाधिवेशनमा साढे चार करोड के–केमा खर्च हुँदै छ ?

अघिल्लो महाधिवेशनभन्दा १३औँ महाधिवेशनमा झन्डै दोब्बर खर्च हुँदै छ
congress-9-660x330फागुन  १६ । काठमाडौं, कांग्रेसले १३औँ महाधिवेशनमा चार करोड ५८ लाख ७० हजार खर्च लाग्ने अनुमान गरेको छ । क्रियाशील सदस्यता शुल्क, लेबी र चन्दाबाट खर्च व्यवस्थापन गर्ने उसको तयारी गरेको छ ।

१२औँ महाधिवेशनमा दुई करोड ७१ लाख ३० हजार एक सय ४९ रुपैयाँ खर्च भएको थियो । महाधिवेशन तयारीका लागि गठिन अर्थ संकलन समितिले २० देखि २३ फागुनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि खाना, आवास, कार्यक्रम, प्रचारप्रसारसहितका शीर्षकमा सबैभन्दा धेरै खर्च लाग्ने जनाएको छ ।

चन्दाबाट तीन करोड २० लाख संकलन गरिने
अर्थ संकलन समितिका सदस्यसचिव खुमाप्रसाद अर्यालले चार दिन चल्ने महाधिवेशनका लागि चार करोड ५८ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने बताए । करिब तीन हजार दुई सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । अनुमानित खर्चमध्ये तीन करोड २० लाख चन्दाबाट उठाउने र बाँकी आन्तरिक स्रोतबाट जुटाइने अर्यालले बताए ।

सांसदबाट २५ हजार र प्रतिनिधिबाट दुई हजार
केन्द्रीय समितिमा रहेका सांसदबाट २५ र केन्द्रमा नभएका सांसदबाट २० हजारका दरले रकम उठाइनेछ । त्यस्तै, प्रत्येक प्रतिनिधिबाट दुई हजारका दरले प्रवेश शुल्क लिइनेछ ।

उम्मेदवारी शुल्कबाट साढे १९ लाख उठ्ने अनुमान
केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूबाट महाधिवेशनमा १९ लाख ६१ हजार रुपैयाँ संकलन हुने अनुमान छ । सभापतिको उम्मेदवारीमा २० हजार, महामन्त्री र कोषाध्यक्षमा १५ हजार र सदस्यमा पाँच हजार पाँच सय रुपैयाँ लाग्नेछ ।

बैंक खातामा ७० लाख र ब्याजबाट ३० हजार
अहिले पार्टी कोषबाट एक करोड रुपैयाँ लिएर खर्च गरिएको र अहिलेसम्म ७० लाख रुपैयाँ चन्दा उठेको अर्यालले बताए । ‘हामीले स्वेच्छिक चन्दाका लागि शुभेच्छुकहरूलाई पत्र पठाएका छौँ, नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा अहिलेसम्म ७० लाख जम्मा भएको छ,’ अर्यालले भने ।

पार्टीको विभिन्न बैंकमा रहेको बचतको ब्याजबाट ३० हजार रुपैयाँ आउने अर्थ समितिले जनाएको छ । १२औँ महाधिवेशनमा आफ्ना विभिन्न बैंकमा रहेको जम्मा बचतको ब्याजबाट ५१ हजार चार सय ८१ रुपैयाँ १९ पैसा लिएको कांग्रेसले जनाएको छ ।

कहाँ पुग्यो महाधिवेशनको तयारी ?
कांग्रेसको १३औँ महाधिवेशन २० फागुनबाट काठमाडौंमा हुँदै छ । मूल आयोजक समिति र मातहतका १३ समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको कांग्रेस मुख्यालयका सचिव प्रकाश शर्माले बताए । ‘महाधिवेशन मूल आयोजक समिति र त्यसअन्तर्गतका १३ समितिले करिब ९० प्रतिशत तयारी पूरा गरेका छन्,’ उनले भने ।

सात क्षेत्रका प्रतिनिधि चुनिन बाँकी
दुई सय ३३ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिइसकेको छन् । धनुषाको १, ४, ५, ६ र ७, र महोत्तरी–३ तथा रसुवामा क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताए । बाँकी क्षेत्रमा सोमबार अधिवेशन हुने उनको भनाइ छ ।

आठ जिल्लामा पछि मात्रै अधिवेशन
६५ जिल्लाको अधिवेशन सकिएको छ भने कञ्चनपुर, बझाङ, डोल्पा, पर्सा, धनुषा, महोत्तरी, रसुवा, सिरहा, संखुवासभा र सिन्धुपाल्चोकको अधिवेशन हुन बाँकी छ । संखुवासभा र रसुवाबाहेकका जिल्लामा महाधिवेशनपछि मात्रै अधिवेशन हुने भएको छ, नयाँ पत्रिकाले लेखेको छ ।

महाधिवेशनमा इलेक्ट्रोनिक मतदान
महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी निर्वाचन समितिले गरेको छ । ‘नेपालमा बनेको इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग हुन्छ । यो निर्वाचन आयोगसँग भएभन्दा फरक हो,’ निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले भने । निर्वाचन कार्यक्रम केन्द्रीय कार्यालयमा हुनेछ ।

सबैजसो शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधि छनोट
कांग्रेस शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)बाहेक अन्य भ्रातृ संस्था, शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधिको नाम सिफारिस भइसकेको छ । भ्रातृ–शुभेच्छुक संस्थाबाट ९८ र १७ देशका जनसम्पर्क समितिबाट एक सय १९ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । केन्द्रीय समितिले गर्ने ३० प्रतिनिधिको मनोनयन गर्न बाँकी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु