प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा परराष्ट्रविदहरुको यस्तो सुझाव

clubकाठमाडौं, परराष्ट्रविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण दुई मुलुकवीच चिसिएको सम्बन्ध सुधारमै सबैभन्दा बढी केन्द्रीत हुनु पर्ने सुझाव दिएका छन ।

आईतबार राजधानीमा आयोजित साक्षात्कारमा अमेरिकाकालागि पूर्व नेपाली राजदुत डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण एजेण्डा नै दुई मुलुकको विग्रएको समस्या सामान्यीकरण गर्नु हुनु पर्ने भन्दै भ्रमणलाई सफल बनाउन नेपालले अहिलेका समस्याहरु भारतलाई नविझाउने गरेर टेवलमा राख्न सक्नु हुने बताए ।

साक्षात्कारमा उनले यसकोलागि खुल्ला माईण्ड लिएर जानु पर्ने भन्दै भुईचालोमा भारतले गरेको सहयोग, ट्रमा सेन्टरको फाईदा बताएर छ महिनामा भएको समस्या अब दोहोरिन नदिन के गर्नु पर्छ  भनेर छलफलको क्रमस सुरु गर्नु पर्ने सुझाव दिए ।

शर्माले भने, ‘नाकाबन्दी र दुखको विषयमा कडा कुरा गर्नु हुँदैन । भारतको आर्थिक बृद्धिबाट कसरी फाईदा लिने भन्ने कुरा गर्नु पर्छ । सन् १९५० साल यताको असमान सन्धीको कुरा अहिले गर्नु ठिक हुँदैन । विगतमा भएका सम्झौताको कार्यान्वयन र सहयोगको उपयोगको कुरा गर्नु पर्छ ।’

त्यसैगरी पञ्चेश्वर, हुलाकी राजमार्गको काम अगाडि बढाउने, फाष्टट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको चासो बुझ्ने र पारस्परिक स्वार्थकालागि आगाडि बढाउने कुरालाई उठाउनु पर्ने भन्दै सात वटा प्रदेशको विकास गर्ने र मधेसको संबेदनशिलताको विषयमा पनि कुरा गर्नुपर्नेमा जोड दिए ।

चीनकालागि पूर्व नेपाली राजदुत टंक कार्कीले बदलिएको परिस्थितिको गन्तब्यमा सम्बन्ध कस्तो हुनु पर्छ भन्ने विषयमा केन्द्रीत हुनु पर्नेमा जेड दिदै नेपालको भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासहित कुनै पनि नाजायज माग पुरा गर्न सकिदैन भनेर भन्न सके भावी दिनमा सम्बन्धमा समस्या नआउने तर्क गरे ।

उनले नेपालको प्राकृतिक स्रोत, चीनको प्रविधी, पुजि र भारतको बजारलाई संयोजन गर्ने विषयमा कुरा गर्न सके त्यसले सबैको हित हुने भन्दै नेपालको स्थिरता, शान्ति र सार्वभौमिकतामा क्षेत्रको शान्तिकै लागि आवश्यक रहेको तर्क गरे ।
उनले भने,‘ प्रधानमन्त्रीले नेपाल स्वतन्त्र राष्ट्र हो भन्ने कुरामा स्थापित गरेर आए पुग्छ । त्यसपछि सबै समस्या समाधान हुन्छ । ’

डा. सम्भुराम सिंखडाले प्रधानमन्त्रीले भारत भ्रमणमा पारस्परिक शंकाको बातावरण अन्त्य गरेर विग्रिएको सम्बन्धको उपचार गर्न सक्नु पर्ने भन्दै दिर्घकालिन महत्वको विषयमा नगई सम्बन्ध सुधारमा लाग्नु नै उपयूक्त हुने तर्क गरे ।
उनले भारतसँगको सम्बन्धलाई राजनीतिबाट मुक्त गर्नु पर्ने भन्दै अब पानीको उपयोग र खुला सीमाको ब्यवस्थापनमा सहकार्य गर्न सके सम्बन्ध राम्रो भएर जाने विश्वास ब्यक्त गरे ।

सिंखडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जस्तो जादुई सम्बन्ध भए दुबै देशले फाईदा लिन सक्ने भन्दै पानीको झगडा र सार्वभैमिकताको भुतबाट माथि उठ्नु पर्ने सुझाव दिए ।

भारतकालागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमण विग्रएिको सम्बन्ध पुर्नस्थापित गर्नमा केन्द्रीत हुनु पर्ने भन्दै परराष्ट्र नीतिलाई राजनीतिकरण गर्ने परम्पराको अन्त्य हुनु पर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्रीले ठूलो विषय बस्तु भन्दा विगतमा भएका जलस्रोत र पूर्वाधार विकासको एजेण्डालाई लिएर जानु पर्ने भन्दै गैर कुटनीतिक ढंगले ब्यवहार गर्दा अहिलेको अवस्था आएको बताए ।

उनले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धान्जली दिन विदेशमन्त्री शुष्मा स्वराजको नेतृत्वमा विशेष टोली आउनु सम्बन्धकोलागि सकारात्मक कदम भएको दावी गरे ।

परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्यले नाकाबन्दीको घाउ पुरेर सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनु हुनु पर्ने भन्दै भारतीय विदेशमन्त्री शुष्मा स्वराजको हालैको भ्रमणले सकारात्मक बातावरण बनाएको बताए ।
भारतको एकाधिकार हुने गरी कुनै पनि सम्झौता नगर्न सुझाव दिदै नेपाललाई दुख दिने गरी हस्तक्षेप नगर भन्ने कुटनीतिक संदेश दिएर आउन सक्नु पर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय सहमतिका साथ प्रष्ट कुरा राख्न सक्नु पर्ने भन्दै राष्ट्रिय हितमा भने ख्याल गर्नुपर्ने सुझाव दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु