ट्वीटर प्रयोगकर्ताको सक्रियतामा चेपाङलाई न्यानो बाँडियो

IMG_4628माघ २२ । मनहरी, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मकवानपुरको मनहरीमा चेपाङहरूलाई न्यानो वितरण गरेका छन् । बुधबार मकवानपुरको उत्तरपश्चिमी भेग राङसिराङ, घाँगडाका करिव तीन सय चेपाङहरूलाई व्ल्यांकेट तथा लत्ताकपडा वितरण गरेका हुन् ।

लोपन्मुख तथा अति पिछडिएको चेपाङ समूदायलाई सामाजिक सञ्जाल मार्फत संकलन गरिएको न्यानो कपडाहरू वितरण गरिएको अभियन्ता विनिता विन्दु ढकालले जानकारी दिइन् । सामाजिक दायित्ववोध गर्दै थोरै भएपनि न्यानो बाडौँ भनेर आफ्नै खर्चमा, कुनै संघसंस्थाको सहयोग बिना अभियान चलाइएको उनको भनाई छ । अभियानमा पत्रकार प्रतीक प्रधान, विनिता विन्दु ढकाल, रामनाथ खनाल, मिलन पुडासैनी, विनोद पौडेल, पुरुषोत्तम पोखरेल, ममता चिमरिया, उपमा काफ्ले, स्वेच्छा राउत, शिव लुईंटेल, दिनेश गौतम, दिपिका जम्केटेल, भीम लामा, विजय साह लगायत रहेका छन् ।

समूह अघिल्लो हप्ता चितवनको लोथर पुगेको थियो । मकवानपुरका चेपाङहरूको पनि दयनीय अवस्था छ भन्ने सुनेर आफूहरू न्यानो वितरण गर्न मनमहरी पुगेको ढकालको भनाई थियो । भूकम्पका कारण चेपाङहरूको घरटहरा भत्किएपछि उनीहरू थप समस्यामा परेको न्यानो कपडा लिन आएको श्याम प्रजाले जानकारी दिए ।

‘उसै त चेपाङहरू पछौटे जीवन बाँचिरहेका थिए,’ उनले भने, ‘भूकम्पले थप समस्या निम्त्याइदियो।’ आय आर्जनका काम नहुँदा अधिकांश चेपाङहरूको अवस्था दयनीय रहेको उनले बताए । ‘कसले कपडा ल्याउँछ, खानेकुरा दिन्छ भनेर आश गर्नु बाहेक चेपाङसँग अर्को विकल्प छैन,’ उनले भने ।

बुधबार चेपाङहरू न्यानो कपडा लिन दुई घण्टाको पैदल हिँडेर मनहरी आइपुगेका थिए । चेपाङहरूको उत्थान र विकासका लागि विभिन्न संघसंस्थाले काम गर्न खोजेको र चासो देखाएको भएपनि आफूहरूले खासै सहयोग पाउन नसकेको गुनासो उनीहरूको छ ।

‘चेपाङहरूको आर्थिक अवस्था सुधार्न काम गर्नु भन्दै सयौं संस्था आए तर उनीहरूले कुनै कामको थालनी गर्न सकेका छैनन्,’ चेपाङको क्षेत्रमा विगत आठ वर्षदेखि काम गरिरहेका चितवनका केपी किरण शर्माले भने, ‘उनीहरूको जीवनस्तर उकास्न आयआर्जन र सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

खेतीपाती र अन्य कामहरू नहुँदा अधिकांश चेपाङहरू जंगलका गिठ्ठा, भ्याकुर, च्यूरी, रूखका बोक्रा समेत खाएर जीवन निर्वाह गर्न बाध्य रहेको केपी किरणको भनाई छ । चेपाङहरूलाई मौरी पालन, बाख्रा पालन लगायतका क्षेत्रमा आबद्ध गराउन सके उनीहरूको जंगल निर्भरता अन्त्य हुने र जीवनस्तर उकासिने उनको भनाई छ ।

मकवानपुर, चितवन, गोरखा, धादिङ लगायतका जिल्लाहरूमा चेपाङहरू बसोबास गर्दै आएका छन् । मुलुकभर चेपाङहरूको जनसंख्या एक लाख माथि रहेको बताइन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु