यी हुन माओवादी एकताका ७ अप्ठ्याराहरु : लेखनाथ न्यौपाने

lekhnath-Neupaneपछिल्लो समयमा विभाजित माओवादी पार्टीहरूबीच एकताको प्रयास भइरहेको सुनिन्छ । यसै सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको विश्लेषण यस्तो छ :

जनयुद्धबाट आएको माओवादी र त्यसका नेता–कार्यकर्ता अहिले ६ समूहमा विभाजित छन् । आजको आवश्यकता माओवादी आन्दोलनकै पुनर्गठनको हो । एकताका लागि एमाओवादी र क्रान्तिकारी माओवादीबीच अलि बढी छलफल चलिरहेको देखिन्छ । माओवादीका कार्यकर्तादेखि जनस्तरसम्म हेर्दा धेरै गाह्रो भयो, घेराबन्दीमा परियो, धेरै अप्ठ्यारोमा परियो, छिटै एकता गरिहाल्नुपर्छ भन्ने भाव छ । जुन सकारात्मक पक्ष हो । माओवादीहरूबीच एकता कति सम्भव छ त ? यो अर्को विश्लेषणको पाटो हो । आवश्यकतालाई सम्भावनायुक्त बनाउने विषयवस्तु धेरै पक्षसँग जेलिएर आउँछ । जनयुद्धको बिरासतसहित आएको पार्टी विभाजित भइसकेको सन्दर्भमा ‘त्यत्तिकै छुट्टियौँ, अब मिसिऔँ, दुईवटा चुल्हो भत्काएर एउटै चुल्हो बनाइहालौँ’ भनेजस्तो एकता सहज छैन । एकताका लागि केही अप्ठ्यारा पनि छन् ।

१. सैद्धान्तिक अप्ठ्यारा
एकताको पहिलो आधार सैद्धान्तिक प्रस्तावना हो । जनयुद्धमा हामीले के भनेका थियौँ ? शान्तिप्रक्रियामा आएपछिको स्थिति के छ ? हाम्रो विश्लेषण के छ ? र, आगामी दिनमा के गर्छौँ ? यी विषय नै हाम्रा मुख्य सैद्धान्तिक प्रस्तावना हुन् । एमाओवादी नयाँ जनवादी क्रान्तिको फेज सकियो, अबको क्रान्ति समाजवादी क्रान्ति हो भन्छ । क्रान्तिकारी माओवादी जनवादी क्रान्ति नै पूरा भएको छैन भन्नेमा छ । राज्यसत्ता र शासन सत्ता फरक हुन् । शासन सत्ता त परिवर्तन भयो, राज्यसत्ता परिवर्तन भएको छैन । राज्यसत्ताको प्रश्नसँग क्रान्तिको परिभाषा जोडिन्छ ।
राज्यसत्ता परिवर्तन नहुँदै ‘क्रान्तिको एउटा चरण पूरा भयो’ भन्ने एमाओवादीको निष्कर्ष एकताका लागि सहज छैन । एउटा उदाहरण– जनयुद्ध राज्यसत्ता परिवर्तनको उद्देश्यमा थियो । क्रान्तिको एउटा चरण पूरा हुँदा बालकृष्ण ढुंगेल, अग्नि सापकोटाहरूको मुद्दा फिर्ता हुनुपथ्र्यो । तर, नयाँ जनवादी क्रान्ति पूरा भयो, समाजवादी क्रान्तिको तयारीमा जानेभन्दा नयाँ जनवादी क्रान्ति गर्दा लागेका मुद्दा यथावत् छन् । यो सामान्य घटनाले पनि जनवादी क्रान्ति पूरा भएको मान्न सकिँदैन । बहसमार्फत एकताको ढोका खोल्न सकिएला । तर, एउटाले गरेको विश्लेषणमा अर्कोले सहवरण गर्ने कुराले एकता सम्भव हुँदैन ।

२. संविधानसभा र संविधानमाथिको बुझाइ
एमाओवादीको भर्खरै सम्पन्न केन्द्रीय समितिले पारित गरेको प्रतिवेदनमा संविधानको पक्षमा व्याख्या छ । त्यसैअनुसार समग्र कार्यक्रम बनाउन निर्देशन छ । क्रान्तिकारी माओवादी संविधान प्रतिगामी भयो भन्छ र च्यात्छ । संविधानसभाबाट बनेको संविधानलाई हेर्ने दृष्टिकोणमा दुई माओवादीबीच आकाश–जमिनको फरक दृष्टिकोण छ । यससँगै संविधानसभा रणनीति थियो कि कार्यनीति भन्ने जोडिन्छ । संविधानसभा कार्यनीति थियो । कार्यनीतिलाई रणनीतिक उपलब्धिका रूपमा बुझ्यौँ भने गल्ती हुन्छ । एमाओवादीले संविधानसभाबाट संविधान बनाउनेलाई रणनीतिका रूपमा बुझेको पाइन्छ । यसले एकतालाई सहज बनाउँदैन ।

संविधानसभा कार्यनीति थियो । कार्यनीतिक नारा कार्यान्वयन भयो । परिणामको विश्लेषण गर्दै गरौँला । कार्यनीतिक नाराले केही सकारात्मक योगदान गर्‍यो, रणनीतिक योगदान होइन । संसदीय भए पनि गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता आयो, मूर्त नभएको भए पनि संघीयता आयो । संविधानसभाको चुनाव रणनीतिक थिएन, त्यसकारण त्यसको उपलब्धिलाई रणनीतिक उपलब्धिका रूपमा मान्नुहुन्न भन्ने बुझाइमा जटिलता छ । शब्दावली प्रयोग नगरे पनि संविधानसभालाई रणनीतिक रूपमा बुझ्ने एमाओवादी र कार्यनीतिक रूपमा बुझ्ने र यसले सामान्य उपलब्धिबाहेक केही दिएन भन्ने क्रान्तिकारी माओवादीको निष्कर्षले उनीहरू एकै ठाउँमा आउन सहज छैन ।

३. चुनावप्रतिको बुझाइ
चुनाव हारियो, फेरि हारिएला, सबैले हेपे भन्ने एमाओवादीको र आन्दोलन पनि खास उठाउन सकिएन, अरू केही गर्न सकिएन भन्ने क्रान्तिकारी माओवादीको बुझाइ छ । त्यसकारण एक ठाउँमा आउने मात्र उद्देश्यले एकता गर्न जरुरी छैन । देश र जनताका लागि माओवादीले जति योगदान गर्नुपथ्र्यो, त्यो पुगेन । त्यसका लागि एकता गर्न जरुरी होला । आधारभूत तहका जनतालाई राज्यसत्ताको मालिक बनाउने या राज्यसत्ताको चरित्र फेर्नका लागि एकता आवश्यक हो । त्यो प्रतिस्पर्धात्मक संसदीय व्यवस्थामा गएर सम्भव हुँदैन भन्ने एकताको आधार बन्न सक्छ । तर, स्थानीय होस् या केन्द्रीय चुनाव होस्, संविधानसभाबाट बनेको संविधानले परिकल्पना गरेको चुनावलाई एमाओवादीले रणनीतिका रूपमा बुझेको देखिन्छ । क्रान्तिकारी माओवादी कार्यनीतिक रूपमा मात्रै कहिले बहिष्कार र कहिले उपयोग गर्न सकिन्छ भन्छ । चुनावलाई रणनीतिक रूपमा बुझ्ने हो भने दुई माओवादीको एकता तत्काल सम्भव देखिन्न ।

४. विगतको समीक्षा
०६२/६३ को आन्दोलनपछि प्राप्त उपलब्धिलाई रणनीतिक तहमा बुझ्ने हो भने विगतको हाम्रो विश्लेषण कि सच्याउनुपर्छ कि गल्ती गर्‍यौँ भन्नुपर्छ । क्रान्तिको आधारभूत चरित्र राज्यसत्ताको परिवर्तन हो । मूर्त रूपमा जाँदा आर्थिक आधारमा परिवर्तन हो । राजनीतिक परिवर्तनसँगै आर्थिक आधार कति परिवर्तन भयो भन्नेमा क्रान्ति हुने कि नहुने निर्भर हुन्छ भन्ने हाम्रो विगतको लामो व्याख्या छ । ००७ र ०४६ को परिवर्तनलाई हेर्ने दृष्टिकोणमा हाम्रो धेरै लामो विश्लेषण छ । ००७, ०४६ र ०६२/६३ को आन्दोलनका राजनीतिक परिवर्तन केही फरक छन् । तर, आर्थिक प्रणाली र राज्यसत्ताको अवयव भने यथावत् छन् ।

जनयुद्धको जगमा भएको ०६२/६३ को आन्दोलनबाट हामीले संसदीय गणतन्त्र ल्याएका छौँ । संसदीय गणतन्त्र ल्याउनु क्रान्ति होइन । यसैलाई क्रान्ति मान्ने हो भने ००७, ०४६ का आन्दोलनलाई पनि क्रान्ति मान्नुपर्छ । ती आन्दोलनले पनि केही न केही राजनीतिक परिवर्तन ल्याएका थिए । क्रान्ति सम्पन्नपछि जनयुद्ध सुरु गर्ने कुरा सैद्धान्तिक हिसाबले मिल्दैन । संसदीय गणतन्त्र ल्याउन जनयुद्ध भएको थिएन । त्यसकारण क्रान्ति सम्पन्न भएको छैन । यसलाई कार्यनीति मात्र मान्न सकिन्छ । रणनीतिक रूपमा बुझ्ने हो भने जनयुद्ध अन्यायपूर्ण थियो भन्ने ठाउँमा पुर्‍याउँछ हाम्रै विश्लेषणले । हामी त्यसो भन्न सक्छौँ त ? जनयुद्धका सुप्रिम कमान्डर प्रचण्डले त्यसो भन्न सक्नुहोला ? लिखित रूपमा नगरे पनि एमाओवादीको प्रतिवेदन हेर्दा उहाँहरू जनयुद्धले यत्रो संविधानसभा ल्यायौँ भन्नेमा पुग्नुभएको छ । यसले एकता हुन गाह्रो पार्छ ।

५. दोहोरो चरित्र कि भित्रैबाट ?
एकताको कुरा दोहोरो चरित्र हो कि भित्रैबाट आएको हो ? आफ्ना कार्यकर्तालाई ‘इन्टेक’ गर्न एकताको प्रचार गर्ने, तर भित्रैदेखि रुचि नभएजस्तो देखिन्छ । औपचारिक रूपले यो कुरा समाउन सकिँदैन । क्रान्तिकारी माओवादीमा एकताका निम्ति सबैलाई ढोकाबाट छिराउन नसक्ने समस्या छ । ढोकाबाट छिर्ने आधिकारिक भए अध्यक्ष, महासचिव होलान्, त्यसको नेतृत्व गर्ने । एकथरी साथी झ्यालबाट, अर्काथरी धुँवाको प्वालबाट छिरेका छन्, एकता गर्नुपर्छ भनेर । एकताका लागि सबैलाई ढोकाबाटै छिराउनुपर्छ ।

एमाओवादीमा प्रचण्डपछिको नेतृत्व दाबी गर्ने नेताहरूले एकताका निम्ति त्यत्ति रुचि देखाइरहेका छैनन् । स्वयं प्रचण्डको कति इच्छा हो एकताका निम्ति ? व्यक्ति–व्यक्ति तान्नका निम्ति उद्यत हुने, टुक्रा टुक्रा ल्याएर कमजोर बनाउने मात्र उद्देश्य राख्नुभएको हो या संस्थागत एकता गरेर एउटा सन्देश दिन खोज्नुभएको हो ? यो प्रस्ट छैन । एकता वा फुटमा कम्युनिस्ट पार्टीमा शीर्ष नेता नै निर्णायक हुन्छन् ।

६. सांगठनिक अवस्था
विचारसँग नेतृत्व जोडिन्छ कम्युनिस्ट पार्टीमा । एमाओवादी छाड्नुअघि डा. बाबुराम भट्टराईको दाबी ‘विचार मेरो हो, त्यसकारण मैले नेतृत्व पाउनुपर्छ’ भन्ने थियो । ‘विचार त मेरै हो, कहाँ तेरो हो’ भन्ने प्रचण्डको दाबी होला । एकताको आधार हामी कुन विचारलाई बनाउँछौँ भन्नेसँग नेतृत्वको कुरा होला ।
एमाओवादीमा होस् या क्रान्तिकारी माओवादीमा, पुरानो लिडरसिप प्राविधिक हिसाबले केही समय रहे पनि अबको पुस्ता, प्रविधि, मनोविज्ञानको नेतृत्व गर्न एउटा सीमा अभिव्यक्त हुने समय सुरुवात भइसकेको छ । त्यसभन्दा पछाडिको पुस्ता कस्तो छ भनेर पनि हेर्नुपर्छ । त्योभन्दा पछाडिको पुस्ता दुवै पार्टीमा झन् समस्याग्रस्त देखिन्छ ।
पार्टी विभाजनअगाडि हाम्रा जिम्मेवारी के थिए भन्ने आधारमा एकतापछिको संगठन बनाउन सकिन्छ । एउटै पार्टीमा बसेको हुनाले हिजो हामी कुन स्ट्याटसमा थियौँ भन्ने छर्लंग छ । त्यसलाई आधार मान्न सकिन्छ । मुख्य नेतृत्व प्राविधिक कुरा होला । सिद्धान्तका हिसाबले नेतृत्व प्राविधिक कुरा होइन । तर, एकताका लागि प्राविधिक विषय बनाउन सकिन्छ । पार्टी विभाजित भएकाले एकताका लागि यो पनि अर्को जटिल विषय हो ।

७. सबै समूहबीच एकता हुन्न
जनयुद्धबाट आएको माओवादी ६ वटा टुक्रामा विभाजित भयो । त्यसमध्ये एमाओवादीबाट निस्किएको डा. बाबुराम भट्टराईले नेतृत्व गरेको शक्ति र माओवादीबाट निस्किएको विप्लव नेतृत्वको शक्ति रूपमा फरक धारमा छ । सारमा कहाँ छ ? अहिले टिप्पणी गर्दा हतार र पूर्वाग्रह होला । नयाँ शक्तिको धार सामान्य कम्युनिस्ट पार्टीको नाममा पनि संगठित नहुने भनेपछि पूर्वमाओवादी त भन्न सकिएला, तर माओवादीको नाममा संगठित नहुँदा त्यसलाई चिन्ताको विषय ठान्नुहुन्न । त्यो एकतामा आइहाल्दैन । विप्लवहरू सिद्धान्तमा एकता गर्नुपर्छ भने पनि एकताका लागि त्यत्ति रुचि देखाउनुहुन्न । उहाँको पार्टीले सामान्य राष्ट्रियता, जनजीविकाका मुद्दामा सहकार्य गर्ने, संयुक्त मोर्चा बनाउने, एउटै नारामा सडकमा निस्कने कुरामै अनिच्छा देखाएको छ । बाँकी रहेका चारवटा शक्ति एमाओवादी, क्रान्तिकारी माओवादी, मणि थापा र मातृका यादव नेतृत्वका माओवादीबीच एकता सम्भव छ । एकताका लागि उल्लिखित अप्ठ्यारा फुकाउन सक्नुपर्छ । नेतृत्वको भित्री इच्छा भए यी अप्ठ्यारा फुक्नसक्छन् । र, एकता हुनसक्छ । हामी माओवादी आ–आफ्नो तहबाट यी अप्ठ्यारा फुकाएर एकताको आधार तयार पार्ने दिशामा अघि बढ्नुपर्छ ।नयाँ पत्रिकाबाट

Comments

comments

सम्बन्धित शिर्षकहरु