हिउँ परेपछि गोरखामा भूकम्पपीडितको बिचल्ली

 

Snow_in_Gorkha_1_753869566पुस २६ । काठमाडौं, भीषण हिमपातका कारण पालमुनि बस्दै आएका लाप्राक गुप्सीपाखाका बासिन्दा बिचल्लीमा परेका छन् ।

शुक्रबार रातिदेखि हिउँ परेपछि लाप्राकबाट विस्थापित भई गुप्सीपाखामा बस्दै आएका पाँच सय ९५ घरधुरीको बिचल्ली भएको जानकारी स्थानीय मार्सिङ गुरुङले दिए ।
त्रिपालभित्र हिउँ पसेर बस्नै नसक्ने भएको लाप्राकका धनप्रसाद गुरुङले बताए । उनका अनुसार गुप्सीपाखामा एक फिट हिउँ परेको छ । लाप्राक गाउँमा करिब ६ इन्च हिउँ परेको छ ।

‘रातभरि पालभित्र रुवाबासी छ’, उनले भने, ‘रातिदेखि कोही पनि सुतेका छैनन् । उज्यालो भएपछि मान्छेहरू सबै भागेर भत्केको गाउँतिर गएका छन् ।’ हिउँबाट बच्न वैशाख १२ गते भूकम्पले भत्काएको घरमा बस्न बाध्य भएको उनले बताए ।

हिमपातका कारण आइतबारदेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न समस्या भएको स्थानीय मणिकामदेवी माविका प्रधानाध्यापक भविराज गुरुङको भनाइ उद्धृत गर्दै सुनार गुरुङले बताए । उनका अनुसार भीषण हिमपातका कारण परीक्षाको तयारी गर्न पनि सकिएको छैन ।

हिउँ परेपछि पालबाट पनि पानी चुहिएको र जमिनको हिउँ पग्लिई टहरोभित्र पसेर समस्या भएको सुनार गुरुङले बताए । ‘भूकम्प गएको पनि आठनौ महिना भइसकेको छ ।

यतिबेला सानोतिनो भए पनि घर बनाएर बसेको भए अहिले यस्तो बिजोक हुँदैनथ्यो’, उनले भने, ‘यस्तो हुन्छ भनेर गाउँलेले सरकारको ध्यानाकर्षण गराइरहेका थिए । अहिले यहाँका भूकम्पपीडितको रुवाबासी भएको छ । सरकार उदास भएर बस्न मिल्दैन ।’
हिमपातपछि टेलिफोन विच्छेद

हिमपात हुन थालेपछि शुक्रबार रातिदेखि नै लाप्राक र त्यसभन्दा माथिका १३ गाविसको टेलिफोन सम्पर्क विच्छेद भएको छ । काशीगाउँको टावर हिउँले पुरिएपछि काशीगाउँ, केरौंजा, लाप्राक, गुम्दालगायत गाविसमा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

‘पालमाथि एक फिट हिउँ परेको छ’, लाप्राक ४ का श्रीबहादुर गुरुङले भने, ‘हिउँ पग्लिएर झरेको पानीले पालभित्रका खानेकुरा र लुगा सबै भिजेर कामै नलाग्ने भएको छ । के खाने ? के लगाउने, के ओढ्ने ? ’ सरकारले लाप्राकबासीको बिचल्ली हेरेको भन्दै उनले दुःख व्यक्त गरे ।

लाप्राक दुई हजार ७ सय मिटर उचाइमा रहेको गाउँ हो । बारपाक, घ्याच्चोक र त्यसभन्दा माथिका गुम्दा, उहिया, केरौंजा, काशीगाउँ, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाविसमा पनि हिमपात भएको छ ।

कतै हिउँ परेपछि खुसी

हिमपात भएपछि घरबाहिर निस्कनै नसकिएको छेकम्पार ६ लारका लोप्साङ लामाले बताए । उनका अनुसार सबै गाउँले आगो तापेर बसेका छन् ।

लामो समयपछि हिउँ परेकाले किसान खुसी भएको उनको भनाइ छ । ‘भदौ/असोजदेखि नै पानी परेको थिएन । हिउँ पनि परेको थिएन’, उनले भने, ‘अब जौ र गहुँ राम्रो हुने भयो भनेर सबै खुसी भएका छन् ।’

भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा पनि शुक्रबार रातिदेखि असिनापानीसहित हिमपात भएको स्थानीय जितबहादुर घलेले बताए । ‘गाउँमा अति ठूलो असिनापानी पर्‍यो । त्यसपछि हिउँ परेको छ’, उनले भने, ‘तर दिउँसो घाम लागेकाले केही राहत भएको छ ।’

बारपाकका विभिन्न टोलका गरी करिब सय घरका बासिन्दा पालभित्रै छन् । वडा नम्बर १ को स्नान गाउँ र २ को मान्द्रे गाउँका बासिन्दाको पालमुनि बिचल्ली भएको घलेले बताए । उनीहरू रातिदेखि नै आगो तापेर बसेको जानकारी उनले दिए ।अन्नपूर्ण पोष्ट

 

Comments

comments

सम्बन्धित शिर्षकहरु