सगरमाथा आरोहणका पाँच अपत्यारिला घटना यस्ता छन्

aangchiring_sherpaपुस २३ । काठमाडौं, हिमाल आरोहणमा इच्छा राख्ने कसलाई विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोलाई चुम्न मन नहोला र ? तर, सगरमाथा आरोहण इच्छाले मात्र पूरा हुँदैन, त्यसका लागि मिहिनेत र ठूलो खर्चको पनि आवश्यकता पर्छ । तर, इच्छाका अगाडि यी कुराले खासै ठूलो अर्थ राख्दैनन् । सन् ७० को दशकमा इटालीको एउटा आरोहण दलले सगरमाथामाथि विजय पाउन गरेको खर्चले यसलाई थप प्रमाणित गर्छ जुन अहिलेसम्म विश्वकै महँगो आरोहणका रूपमा विश्वविख्यात पनि छ । त्यो आरोहणमा करोडौँ खर्च भएको थियो । त्यतिवेला आरोहण दलका सदस्य आधार शिविरबाट काठमाडौंका तारेहोटेलसम्म लन्च खान आए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा त्यो घटना सम्झँदा अहिले पनि आश्चर्यमा पर्छन् । यस्तै अपत्यारिला घटनाबारे उनले नयाँ पत्रिकाका योगेश ढकालसँग कुरा गरेका छन् :

बेसक्याम्पबाट लन्च खान काठमाडौंमा

धेरैलाई आश्चर्य लाग्न सक्छ, सगरमाथाको आधारशिविरबाट आरोहण दलका सदस्य नै लन्चका लागि काठमाडौंसम्म आए भन्दा । तर, यस्तो पनि भएको छ । र त्यो एउटा घटना विश्वकै सबैभन्दा खर्चिलो र ठूलो टिम पनि मानिन्छ । अहिलेसम्मै खर्चिलो मानिएको सन् १९७३ को इटालीको एडिसन टिम हो । त्यो टिमको आरोहणका लागि लुक्लाबाट मात्रै तीन हजार पाँच सयजनाले भारी बोकेर सामान आधारशिविरसम्म लगेका थिए । त्यतिवेला काठमाडौंबाट लुक्लाको उडान पनि हुन्थ्यो ।

यो टोलीले दुईवटा हेलिकोप्टर इटालीबाट नै ल्याएको थियो । आइसफल रुटलाई सगरमाथाको खतरनाक रुट मानिन्छ । त्यही रुटबाट यो टोली सगरमाथा चढेको थियो । बेसक्याम्पबाट क्याम्प टुसम्म सामान हेलिकोप्टरबाट लगेको थियो । यो टोलीका सदस्य क्याम्प टुबाट लन्चका लागि काठमाडौं आउँथे हेलिकोप्टरमा । काठमाडौंको शंकर होटेलमा लन्च खाने, नुहाउने काम गर्थे अनि बेसक्याम्पमा फर्किन्थे, लिडर झुन्जिमो । क्याम्प टुमा उनको डाइनिङ हलदेखि टेन्टसम्म रातो कार्पेट बिछ्याइएको थियो ।

त्यतिवेला हाई अल्टिच्युड भनेर चुचुरोसम्म पुग्न एक सय १२ जना शेर्पालाई लगिएको थियो । करिब दुई सयजना शेर्पालाई लो अल्टिच्युडमा लगिएको थियो । लो अल्चियुडका लागि भनिएका शेर्पाहरू क्याम्प टुसम्म मात्रै जान पाउँछन् । अनि किचन स्टाफमात्रै करिब ३५ जना थिए त्यो टोलीको । पाँचजना शेर्पा र पाँचजना नेपालीले आरोहणमा सफलता पाएका थिए । तर, दुर्भाग्य लिडर झुन्जिमोले सफलता पाएनन् । त्यही पनि उनले आरोहणमा सहयोग गर्नेलाई बोनसका रूपमा ठूलो रकम दिए । आरोहणमा संलग्न कतिपय शेर्पालाई उनले धर्मपुत्र बनाए । केहीलाई होटेल खोलिदिएका थिए । नेपालमा बोनस मात्रै त्यतिवेला पाँच करोड रुपैयाँजति उनले बाँडेका थिए होला । इटालीका ठूला–ठूला होटेलका मालिक हुन् उनी । उनका विभिन्न स्थानमा चेन होटेलहरू थिए । यो टोलीमा आएकामध्ये पाँचजना इटालियन चुचुरोमा पुगेका थिए । चुचुरोमा पुग्ने ती इटालियनलाई एक–एक वटा होटेल नै बोनस दिए झुन्जिमोले भन्ने सुनियो । अहिलेसम्मकै सबैभन्दा धेरै खर्च गरिएको आरोहण हो यो ।

टिभीमा पहिलो प्रत्यक्ष प्रसारण

१९८८ मा नेपाल, चीन र जापानको संयुक्त टोलीले सगरमाथा आरोहण गरेको थियो । यो टोलीले चीन र नेपाल दुवै साइडबाट सगरमाथाको आरोहण गरेको हो पहिलोपटक । यो आरोहणलाई चुचुरोबाट प्रत्यक्ष प्रसारण गरेको थियो जापानिज टेलिभिजनले । जापानको निप्पोन टिभीले चुचुरोबाट प्रसारण गरेको त्यो पहिलो घटना हो । अर्को कुरा, त्यो आरोहणको सम्पूर्ण खर्च त्यसै टिभीले प्रायोजन गरेको थियो । र, यो टोली सगरमाथा आरोहणको दोस्रो महँगो टोली हो । नेपाली टोलीको नेतृत्व गर्नेमा डा. हर्कबहादुर गुरुङ, कुमार खड्गविक्रम शाहलगायत थिए ।

अनि नेपालबाट आरोहण गरेको टोली चीनतिरबाट झर्‍यो । चीनतिरबाट आएको टोली नेपालतिरबाट झरेको थियो । काठमाडौं, बेइजिङ र जापानमा यो टोलीको भव्य स्वागत कार्यक्रम भयो । त्यतिवेला एक सय ‘क्लाइम्बिङ’ शेर्पा लिएको थियो यो टोलीले । टोलीमा ४० जना जापानिज थिए, त्यति नै संख्यामा थिए चाइनिज र नेपाली । बैंक नै स्पोन्सर १९७५ को ब्रिटिस एक्स्पिडिसन टिम पनि निकै चर्चित टिममध्ये एक हो । यो टिमलाई भार्केलिड बैंकले स्पोन्सर गरेको हो । यो टिममा अधिकांश ब्रिटिस नै थिए । त्यतिवेला त्यो बैंकले यो टिमलाई एक करोड ४० लाख डलर स्पोन्सर गरेको थियो । अरू पनि स्पोन्सर त थिए, तर बैंकले मात्रै यति ठूलो रकम स्पोन्सर गरेको हो । एभरेस्टको सबैभन्दा गाह्रो मानिएको साउथ वेस्टको रुटबाट समिट गरेको थियो यो टोलीले ।

पैसा खोलाले बगायो

१९६३ को अमेरिकी टोली चौथो महँगो टोली हो । उनीहरूलाई अमेरिकी एभरेस्ट एक्स्पिडिसन टोली भनिन्थ्यो । संयोगले त्यो टिममा मैले पनि सहभागी हुने मौका पाएको थिएँ । त्यतिवेला म १० वर्षजतिको थिएँ । यो टिममा मेरा काका आङछिरिङ शेर्पा र बुबा पनि हुनुहुन्थ्यो । मेरा बुबाचाहिँ एक्स्पिडिसनका सामानको हेड हुनुहुन्थ्यो । म अलि–अलि अंग्रेजी जान्ने भएकाले हिसाबकिताब मिलाउन मलाई राखेका थिए । त्यतिवेला बनेपासम्म गाडी चल्थ्यो काठमाडौंबाट । अनि हामी बनेपाबाट हिँडेर गयौँ । बनेपाबाट हिँडेको १९ दिनमा ताङबोचे पुगेका थियौँ । अनि २३ दिनमा बेसक्याम्प पुगेका थियौं । बीच बाटोमा एउटा घटना भयो, अविस्मरणीय । झट्ट सुन्दा पत्यार पनि नलाग्ने । बनेपाबाट जाँदा बीच बाटोमा ठोसे भन्ने ठाउँ छ । त्यहाँ एउटा खोला थियो । केही अमेरिकन खोलामा पौडी खेल्न थाले । उक्त खोलामा झोलुंगेपुल थियो । भारी बोक्नेहरूको लर्को थियो पुलमाथि । पछि त झोलुंगे पुल नै एकछेउ उप्किएर खोलामा झर्‍यो । त्यसपछि त ओहो कस्तो कोकोहोलो भयो । पुल खस्दा मान्छेलाई त केही भएन । तर, ११ वटा भारी हरायो । ती भारी सायद खोलाले बगायो, भेटिएन । हाम्रो क्याम्प माथि सेते भन्ने स्थानमा थियो । त्यहाँ पुगेपछि मेरा बुबा र अमेरिकन हेड तनाबमा हुनुहुन्थ्यो । टेन्ट भित्र–बाहिर गनुहुन्छ्, खुसखुस गर्नुहन्छ । खुबै तनाबमा देखिनुभएको थियो । के भयो भनेर मलाई त थाहा भएन । पछि, बुझ्दा त हराएको ११ भारीमध्ये ३ भारी त पैसाको पो रहेछ ।

पहिलो स्की चुचुरोबाट

सगरमाथाको चुचुरोबाट पहिलोपटक स्की गरियो सन् १९७० मा । यो स्कटिङ जापानिज स्की एक्स्पिडिसन टिमले गरेको हो । त्यसअघि कसैले पनि सगरमाथामा स्की गर्ने सोचेका पनि थिएन सायद । जापानिजले पहिलोपटक नै साउथ कोलबाट बेसक्याम्पसम्म स्की गरे । त्यसको नेतृत्व मिचुरीले गरेका थिए । पछि, उनैले अर्को रेकर्ड पनि बनाए । अहिलेसम्म सगरमाथामाथि सफलता पाउने सबैभन्दा बढी उमेरका उनै हुन् । उनी स्की च्याम्पियन पनि हुन् । त्यो टोलीमा पनि मेरा काका हेड सरदार हुनुहुन्थ्यो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु