यस्तो छ, एमालेको मेची–महाकाली अभियानका लागि केन्द्रीय टोली

umlकाठमाडौँ, नेकपा एमालेले ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान–२०७२’ सुरु गरेको छ ।

‘संविधानको घोषणा ऐतिहासिक उपलब्धिः अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि’ भन्ने मूल नाराका साथ सञ्चालन हुने यस अभियानका क्रममा राष्ट्रव्यापीरुपमा पार्टीपङ्क्ति र जनसमुदायलाई परिचालित गर्ने योजना रहेको छ ।

अभियानपछि सिङ्गो पार्टी पङ्क्तिले नेपालको संविधानको मुख्य अन्तरवस्तुबारे जानकारी प्राप्त गर्ने र संविधान निर्माणमा पार्टीको नेतृत्वदायी भूमिका र संविधानमा नीतिहरूको प्रभावका बारेमा स्पष्ट हुनेछ । संविधान घोषणाको ऐतिहासिक महत्व र संविधान जारी भएसँगै आफूहरुको आन्दोलनको एउटा महत्वपूर्ण चरण पूरा भएको तथा नेपाल नयाँ युगमा प्रवेश गरेको यथार्थबारे पार्टीपङ्क्ति स्पष्ट हुने एमालेले जनाएको छ ।

संविधान घोषणापछिको स्थिति र पार्टीले चाल्नुपर्ने कदमका सन्दर्भमा पार्टीले चितवनमा गत मङ्सिर २१–२२ मा सम्पन्न ‘विशेष राष्ट्रिय कार्यकर्ता भेला’बाट प्राप्त सुझावलाई समेत समेटेर यही पुस ५ गते गरेको निर्णयअनुसार सो अभियान सञ्चालन गरिएको हो । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित रेडक्रस भवनमा अभियानको उद्घाटन गरेका हुन्।

सो पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार अभियान फागुन २१ गतेसम्म चल्नेछ । अभियानका लागि मेची÷कोसीमा भीम आचार्य, सगरमाथामा शङ्कर पोखरेल र सत्यनारायण मण्डल, जनकपुरमा गोकर्ण विष्ट, नारायणीमा योगेश भट्टराई, गण्डकीमा प्रदीप ज्ञवाली, धवलागिरिमा मुकुन्द न्यौपाने, लुम्बिनीमा पृथ्वीसुब्बा गुरुङ, राप्ती÷कर्णालीमा युवराज ज्ञवाली, भेरीमा घनश्याम भुसाल, सेतीमा किरण गुरुङ, महाकालीमा केशव वडाल, उपत्यकामा अष्टलक्ष्मी शाक्य, बाग्मतीमा सुरेन्द्र पाण्डे र सम्पर्क मञ्चमा छविलाल विश्वकर्मालाई केन्द्रीय संयोजकका रुपमा खटाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु