मन्त्री नपुग्दै ओइलायो फूल

Singhdarbarपुस १५ । काठमाडौं, सिंहदरबारस्थित वाणिज्य मन्त्रालयको गेटमा आइतबारै फूलले घडा सजाइयो, नवनियुक्त मन्त्रीलाई स्वागत गर्न। शुक्रबार फुटाएर बनाइएको नयाँ मन्त्रालय हाँक्ने जिम्मेवारी पाएका दीपक बोहरा तीन दिनसम्म मन्त्रालय आएनन्।

मन्त्रालयको गेटका घडामा राखिएका फूल त्यसै ओइलाए ।

कारण थियो– फुटाएर बनाइएको नयाँ मन्त्रालयमा उनलाई बस्ने कुर्सीधरी थिएन । अन्य भौतिक संरचना, कर्मचारी व्यवस्थालगायत तयारी गर्नै तीन दिन लाग्यो । मन्त्री बोहराले मंगलबार बल्ल पदबहाली गरे ।

त्यसो त उनको नियुक्ति नै नाटकीय ढंगले भएको थियो वाणिज्य मन्त्रालयमा । बिहीबार मात्र बोहराले श्रम तथा रोजगार मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदबहाली भएको थिएन । शुक्रबारै प्रधानमन्त्री केपी शर्मा ओलीले वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याएर भागबन्डा मिलाए । उनलाई वाणिज्यको पनि जिम्मा आइप¥यो ।

प्रधानमन्त्री ओलीले साना दलका नेतालाई भाग मिलाउन मन्त्रालय फुटाउँदा मन्त्रालय व्यवस्थापनको भार थपिएको छ । मन्त्रालय फुटाइएको पाँच दिनसम्म पुरानै संरचनामा काम भइरहेको छ ।

कर्मचारी मात्र होइन, कामका लागि मन्त्रालय पुगेका सेवाग्राहीसमेत अलमलमा परिरहेका छन् । थपिएका मन्त्रालयको सांगठिनक संरचना, दरबन्दी, भौतिक व्यवस्थापनजस्ता विषय मिलाउन अझै केही समय लाग्ने देखिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई २०६५ सालमा टुक्र्याएर उद्योगलाई छुट्टै मन्त्रालय बनाइएको थियो । त्यति बेला पनि कुनै सैद्धान्तिक आधारमा होइन, भागबन्डा मिलाउनकै लागि मन्त्रालय फुटाइएको थियो । शुक्रबार प्रधानमन्त्री ओलीलाई पनि आपत प¥यो, सत्ता टिकाउन साथीभाइ मिलाउनै प¥यो । पूर्वसहमतिअनुसार उनले वाणिज्य र आपूर्ति मन्त्रालय टुक्र्याएर दुई जनालाई भाग लगाइदिए ।

मन्त्रालय त फुटाइयो, भवन फुटाउन मिलेन । एउटै भवनले अहिले उद्योग, वाणिज्य र आपूर्ति तीन मन्त्रालय धानिरहेको छ ।

बिनातयारी मन्त्रालय टुक्रिएपछि कर्मचारी पनि अलमलमा छन् । सँगै रहेका भौतिक संरचनामा दुइटा मन्त्रालयका काम गर्नुपर्दा समस्या आउने नै भयो । कर्मचारी भेट हुँदा आपसमा सोध्छन्, ‘तपाईं अब कतातिर (कुन मन्त्रालय) ?’ भन्दै अन्योल व्यक्त गरिरहेका देखिन्छन् ।

मंगलबारसम्म वाणिज्य तथा आपूर्ति मन्त्रालय लेखिएको लेटरप्याड चलिरहेको छ दुवै मन्त्रालयमा । पहिलेकै रजिस्टरमा हाजिरी । ‘नयाँ संरचना तयार पार्न समय लाग्छ,’ प्रशासन शाखा अधिकृत नवराज आचार्यले भने, ‘अब नयाँ संरचनामा आवश्यकताअनुसार शाखा, उपशाखा बनाउनुपर्ने हुन्छ, कर्मचारी अपुग हुन्छ ।’

वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ९६ जना कर्मचारी कार्यरत छन् । दुइटा मन्त्रालय भएपछि कर्मचारी संख्या थप्नुपर्ने जनाइएको छ । कुन मन्त्रालयअन्तर्गत कुन संस्थान, विभाग राख्ने भन्ने प्रक्रियाबारे छलफल हुँदैछ ।

वाणिज्य मन्त्रालयमा सचिव, दुई जना सहसचिव, पाँच जना उपसचिवसहित ५८ कर्मचारी, आपूर्ति मन्त्रालयमा सचिव, दुई जना सहसचिव, १८ जना उपसचिव सहित ८८ जना कर्मचारी आवश्यक रहने प्रस्ताव गरिएको छ । एउटै मन्त्रालय चलाएका कर्मचारीले कार्यभार सम्हाल्न नसक्दा ५० जना कर्मचारी थप्नुपर्ने प्रस्तावमा छ ।

बिहीबारसम्म मन्त्रालयबाट संगठन संरचना र दरबन्दीबमोजिम कर्मचारीसहितको प्रतिवेदन संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिमा पेस गर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले बताए । उनले भने, ‘समितिमा पेस गरेपछि प्रक्रिया अगाडि बढ्छ । अहिलेसम्म निश्चित भइसकेको छैन । अहिलेसम्म पुरानै रुपमा काम गरिरहेका छौं । हामी कुन मन्त्रालयका भन्ने आधिकारिक पत्र आइसकेको छैन ।’

पहिले एउटै मन्त्रालयमातहत रहेका निकायलाई दुइटामा बाँड्ने प्रस्ताव गरिसकिएको छ । उक्त प्रस्तावअनुसार वाणिज्य मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल इन्टरमोडल यातायात विकास समिति, पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, नेसनल टे«डिङ लिमिटेड राख्न मन्त्रालयले प्रस्ताव गरेको छ ।

आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल खाद्य संस्थान, नेपाल आयल निगम लिमिटेड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड, द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड राखिने प्रस्ताव तयार पारिएको मन्त्रालयले जनाएको छ ।

यता, कृषि विकास मन्त्रालयको माथिल्लो तलामा पशु विकास मन्त्रालय राखिएको छ । कात्तिक २९ गते बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएकी र बिहीबार शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी शान्ता मानवीले शुक्रबार पशु विकास मन्त्रालयको जिम्मेवारी पाइन् । कृषि मन्त्रालय टुक्र्याइएको पशु विकासमा उनले सोमबारै पद बहाली गरिन् । नागरिक दैनिक

Comments

comments

सम्बन्धित शिर्षकहरु