गोरखा दरबारको यस्तो कन्तविजोग

रामनाथ खनाल, कुनै समय राष्ट्रिय एकताको प्रतिक बनेको एतिहासिक गोरखा दरवार अहिले जीवन र मरणको दोसाँधमा छ भन्दा धेरैको मन कुँडिन सक्छ । सिंगै देश राष्ट्रिय  भावनाले ओतप्रोत भइरहेको बेला राष्ट्रिय एकताको बिम्ब गोरखा दरवारको यस्तो हविगत देखेर धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर वास्तविकता यहि हो, सिंगो नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहको तत्कालिन दरबार गोरखा दरबार अहिले क्षतविक्षत भएको छ ।

गएको वैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बनेको गोरखा दरबार अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । भूकम्पको नौ महिना वितिसक्दा पनि जिर्णोद्धारको पहल नहुँदा अहिले गोरखा दरबार पुग्ने जो कसैको मन दरबारजसरी नै चरचिंगल बन्न पुग्छ ।

पुरातात्विक एतिहासिक महत्वका दरबार क्षेत्रहरू राष्ट्रका अमूल्य निधी हुन् । तर, राज्यले यस्ता चिजहरूको संरक्षण र सम्बद्र्धनमा उचित दृष्टि नपुर्याउँदा देशका अचल सम्पत्तिहरू क्रमशः मासिँदैन गइरहेका छन् । भावि पुस्तालाई  हस्तान्तरण गर्नुपर्ने इतिहासका यी नासोहरू चरम अस्तित्व संकटबाट गुज्रिइरहेका छन् ।

IMG_2415गोरखा दरबार क्षेत्रका लागि काठमाडौंबाट पुगेकी स्वेच्छा राउतले पृथ्वीनारायण शाहको तत्कालिन दरबारको यो हविगत देखेर आफ्नो मन भक्कानिएको बताइन् । उनले भनिन्, ‘देशको सम्पत्ति यसरी नासिँदा पनि सम्बन्धित पक्षले ध्यान नपुर्याउनु आश्चर्यको कुरा हो ।’

अर्का आगन्तुक पुरुषोत्तम पोखरेलले पनि यस्तो एतिहासिक सम्पदाको राज्यले उचित संरक्षण गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको औंल्याए । उनले भने, ‘सरकारको यो चरम लापरवाही हो, यस्ता कुराको बेलैमा उचित संरक्षण गर्न सकिएन भने देशको पूँजि नष्ट हुँदै जान्छ ।’

दरबार क्षेत्र अवलोकनका लागि पुगेकी ममता चिमरियाको अनुभव पनि यो भन्दा पृथक छैन । भूकम्पको केन्द्र गोरखा नै परेकाले पुरानो दरबार क्षतविक्षत हुनु अस्वभाविक नभएपनि सरकारले समयमै मर्मत सम्हार गरिसक्नु पर्ने उनको तर्क छ ।

समयमै मर्मत नगर्ने हो भने इतिहासले प्रदान गरेको यो सम्पत्ति नासिन सक्छ । यो समयमै मर्मत सम्हार हुनुपर्दछ । उनले राज्यसँग माग पनि गरिन् ।

त्यसो त यो दरबार क्षेत्र भ्रमण गर्न विभिन्न स्वदेशी एवम् विदेशी आगन्तुकहरूको ओइरो नै लाग्दछ । तर, सरोकारवाला पक्षले यसमा उचित ध्यान नपुर्याउँदा यसलाई पुँजिकृत गर्न सकिएको छैन भने स्वयम् दरबार क्षेत्र पनि खण्डहरमा परिणत भएको छ ।

अहिले दरबार क्षेत्रको अधिकांश भवनहरू क्षतिग्रस्त बनेका छन् भने पुराना इँटा, काठपात लगायत महत्वपूर्ण सामग्रीहरूको चोरीको खतरा पनि बढेको छ।

भत्किएका चर्किएका भवनहरूको पुनर्निर्माणका लागि करोडौं रुपैयाँ लाग्ने देखिन्छ । सरकारले यी भवनहरूको पुनर्निर्माणका लागि रकम विनियोजनको प्रक्रिया अघि बढाइसकेको भएपनि त्यो कागजमा मात्र सिमित भइरहेको छ । यसकारण अहिले गोरखा दरबारले इतिहासलाई निर्मम गिज्ज्याइरहेको छ । र गोरखा भ्रमण गर्न आउने जो कसैको दयाको पात्र बनिरहेको छ । यसमा सरोकारवालाको ध्यान जाओस् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु