दिनहुँ तीन जना बाकसमा फर्कन्छ

mritueमंसिर २७ । काठमाडौं, बाँके, उढरापुर–२ शान्तिनगरका नरबहादुर बस्नेतको तीन महिना अघि साउदी अरबमा मृत्यु भयो। साउदीको ‘मुसा’ नामक कम्पनीमा काम गरेर कोठा फर्केलगत्तै नरबहादुरको मृत्यु भएको कम्पनीले परिवारजनलाई जानकारी गरायो। भदौ ११ गते कम्पनीले नरबहादुर काम गरेर कोठामा फर्केपछि सुतेको सुत्यै भएको परिवारलाई जानकारी दिनुबाहेक अरू कुनै खबर गरेको छैन।

नरबहादुरका मितभाइ हस्तबहादुर विकले कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि अझै मृत्युको कारण खुल्न नसकेको बताए। ‘६ महिनाअघि घर छाड्ने बेला शारीरिक रूपमा तन्दुरुस्त नरबहादुरको त्यहाँ कडा काम गर्नुपरेकै कारण मृत्यु भएको आंशका गरेका छौं,’ हस्तबहादुरले भने।

दस दिनअघि संयुक्त अरब इमिरेट्समा मृत्यु भएका गोरखा, फुजेलका ३८ वर्षीय कृष्णप्रसाद पोखरेलको शव मंसिर २२ गते नेपाल ल्याइयो। उनका भाइ परशुरामका अनुसार मुटुसम्बन्धी समस्याले कृष्णप्रसादको मृत्यु भएको हो। ‘कृष्णप्रसादको मृत्युले दुई सन्तानको शिक्षादीक्षा र पत्नीको जिउने आधार खोसेको छ,’ त्रिभुवन विमानस्थलमा दाइको शव बुझ्ने क्रममा परशुरामले दुःखेसो पोखे। वैदेशिक रोजगारीका लागि कृष्णप्रसाद तीन वर्षअघि संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीदेखि १ सय ६० किलोमिटर टाढाको अल एन हसर पुगेका थिए।

वैदेशिक रोजगारीमा युवायुवतीको आकर्षण बढेसँगै गन्तव्य मुलुकमा ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ। श्रम गर्ने उमेरका युवायुवतीले विदेशी भूमिमा ज्यान गुमाउने संख्या निरन्तर बढिरहँदा नेपालमा वैदेशिक रोजगारीको वैकल्पिक व्यवस्थाबारे गम्भीर छलफल हुन सकेको छैन।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ मा कामको खोजीमा खाडी मुलुक र मलेसिया पुगेका १८ देखि ४५ वर्ष उमेर समूहका एक हजार दुई जना कामदारले ज्यान गुमाए। अधिकांश कामदारको सडक दुर्घटना, मुटुसम्बन्धी समस्या तथा कार्यस्थलमा काम गर्दागर्दै मृत्यु भयो। जबकि सोही अवधिमा तिनै मुलुकमा प्राकृतिक कारणले मृत्यु हुनेको संख्या २ सय ४५ मात्र थियो ।

बोर्डका अनुसार सोही वर्ष सबभन्दा बढी मुटुसम्बन्धी समस्याले ३ सय ५७ कामदारको ज्यान गयो। त्यस्तै, सडक दुर्घटनामा एक सय १९, कार्यस्थलमा एक सय १४ जनाको मृत्यु भएको आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा रहेका एक सय १२ कामदारले आत्महत्या गरे। बोर्डका कर्मचारीका अनुसार एक वर्षयता दैनिक सरदर तीनटा शव नेपाल भित्रिँदा पनि वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने गतिलो प्रयास हुन सकेको छैन।

वैदेशिक रोजगारीमा जाने १८ देखि ४५ वर्ष उमेर समूहको कामदारको मृत्यु संख्या बढे पनि नेपालमा सोही उमेर समूहको मृत्युदर भने निकै कम छ। तथ्यांक विभागका अनुसार १८ देखि ४४ वर्ष उमेर समूहको मृत्युदर वर्षमा प्रति दुई हजारमा तीन जना हो।

वैदेशिक रोजगारीमा म्यानपावर कम्पनीले जथाभाबी गर्न थालेपछि जोखिम बढिरहेको धेरैको गुनासो छ। समाजशास्त्री एवं श्रमविज्ञ गणेशमान गुरुङ वैदेशिक रोजगारीमा जाने कामदार दिनप्रतिदिन असुरक्षित हुँदै जानुको कारण सरकारले प्रभावकारी अनुगमन गरी दोषीलाई कारबाही गर्न नसक्नुलाई ठान्छन्। ‘कमजोर सरकारी संयन्त्रको फाइदा उठाउँदै युवायुवतीलाई जथाभाबी विदेश पठाइरहेका बेला अब पीडित नै एकताबद्ध भएर आवाज उठाउनुपर्छ,’ गुरुङले भने। स्वदेशमा गुजारा चलाउने कुनै उपाय नभेटाएपछि खाडी र मलेसिया पुगेका युवायुवतीले ज्यान गुमाउने संख्या बढ्दै गए पनि चुलिँदो समस्याप्रति सरकार गम्भीर हुनुपर्ने आवाज उठेको छ।

‘पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका कामदार मृत्युको कारण रोगजन्य नभई अन्य हुने गरेको छ,’ राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट राजकुमार महतोले भने, ‘जोखिमपूर्ण काम र कामदारको आचरण मृत्युको मुख्य कारणको रूपमा देखिएको छ।’

त्यस्तै, गएको साउनदेखि कात्तिक मसान्तसम्म खाडी मुलुक र मलेसिया पुगेका २ सय ६८ कामदारले ज्यान गुमाए। बोर्डका कर्मचारीका अनुसार साउनदेखि कात्तिकसम्म चाडपर्व तथा सवारी सञ्चालनमा समस्या भएका बेला वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि वैदेशिक रोजगारीमा रहेका कामदारले अकालमा ज्यान गुमाउने संख्या घटेन। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि कात्तिकसम्म श्रम स्वीकृति लिएर एक लाख ३६ हजार कामदार खाडी, मलेसियालगायत मुलुक पसेका थिए।

पछिल्लो ४ महिनामा सबभन्दा बढी मलेसियामा एक सय १३ कामदारले ज्यान गुमाए। उक्त अवधिमा मलेसियापछि धेरै कामदार बिलाउने देश साउदी अरब रह्यो। चार महिनामा साउदीमा ६७ मजदुरको मृत्यु भयो। २ सय ६८ जनाले ज्यान गुमाएको चार महिनामा प्राकृतिक कारणले मृत्यु हुनेको संख्या ६५ मात्र रहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनायो। चारमहिने अवधिमा सबभन्दा बढी ९० जना कामदारको मुटुसम्बन्धी समस्याका कारण मृत्यु भयो। सडक दुर्घटनामा २३ र कार्यस्थलमा ३३ कामदारले ज्यान गुमाए।

बिदेसिएका युवायुवतीको मृत्युको कारण खोज्दै जाँदा अधिकांशलाई सडक दुर्घटना र मुटुसम्बन्धी समस्या हुने गरेको पाइएको छ। विदेशको तापक्रम, रहनसहन तथा नियम–कानुन नबुझ्दा मृत्युको मुखमा पुग्ने घटना बढेको बोर्डका कर्मचारी बताउँछन्।

विदेश जानुअघि सरकारी निकाय र मेनपावर कम्पनीहरूले रोजगारदाता मुलुकबारे कुनै पनि जानकारी नदिइँदा कमाउन पुगेकाहरूले ज्यान गुमाउने गरेको धेरैले गुनासो गर्छन्। वैदेशिक रोजगार ऐनमा हरेक कामदार विदेश जानुअघि कम्तीमा दुई साताको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ। तर अधिकांश म्यानपावर कम्पनी रोजगार मुलुकमा कामदारले गर्नुपर्ने व्यवहारबारे कुनै जानकारी नदिएर युवायुवतीलाई पठाइरहेका छन्।

तीन वर्ष साउदीमा काम गरेर अघिल्लो महिना घर फर्केका काठमाडौं, बौद्धका नेमा शेर्पाले विदेश पठाउनुअघि म्यानपावर कम्पनीहरूले कुनै जानकारी नदिएर पठाउने गर्दा विदेशमा अधिकांशले दुःख पाउने गरेको बताए। ‘धेरैलाई रोजगारदाता देशको सडक कसरी पार गर्ने भन्नेदेखि के खाने भन्नेबारे जानकारी नहुँदा ज्यान जाने गर्छ,’ शेर्पाले भने, ‘स्वेदशमा दुई साताको अभिमुखीकरण तालिममा सहभागी हुन झन्झट मान्ने युवायुवती र म्यानपावर कम्पनीको बेवास्ताले अन्ततः अनाहकमा ज्यान गुमाउनेको संख्या बढ्दो छ।’

म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई अभिमुखीकरण तालिममा सहभागी नगराए पनि नियमनकर्ता सरकारी निकायसमक्ष भने विदेश जानेहरूले तालिम प्राप्त गरेको प्रमाणपत्र भने पेस गरेका हुन्छन्। वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मी धेरैजसो म्यानपावर कम्पनी विदेश जानेहरूलाई तालिम नदिएर सिधै विमानस्थलमा बोलाएर उडाउँछन् भन्ने जानकारी भए पनि कमजोर संयन्त्रका कारण कारबाही गर्न नसकिएको स्विकार्छन्।

‘अभिमुखीकरण तालिम नलिएका युवायुवतीलाई फर्काउने हो भने उनै विदेश जानबाट रोकिनुपर्छ,’ रेग्मीले भने, ‘जे गरे पनि भइहाल्छ नि भन्ने प्रवृत्तिले वैदेशिक रोजगारी असुरक्षित बनिरहेको छ।’

बोर्डका अनुसार वैदेशिक रोजगारी क्रममा २०६५ सालयता ४ हजार ५ सय ८८ जना कामदारको मृत्यु भइसकेको छ। अहिलेसम्म सबभन्दा बढी मलेसियामा १ हजार ६ सय ७३ श्रमिकको ज्यान गएको छ। मलेसियापछि नेपाली कामदारका लागि साउदी अरब असुरक्षित गन्तव्य हुन पुगेको छ। २०६५ यता साउदीमा १ हजार २ सय २९ कामदारको अकालमै ज्यान गयो। अहिलेसम्म ८४ महिलाले वैदेशिक रोजगारी क्रममा ज्यान गुमाएका छन्।

स्वदेशमा अवसर नहुँदा यतिखेर नेपाली श्रम बजारमा प्रवेश गर्ने अधिकांश युवायुवतीको रोजाइ वैदेशिक रोजगारी हुन पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ मा श्रम स्वीकृति लिएर खाडी मुलुक र मलेसियामा ५ लाख १२ हजार युवायुवती पुगेका थिए। २०६४ सालदेखि अहिलेसम्म करिब ४० लाख कामदार श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गए पनि कति कामदार स्वदेश फर्के र कति कामदार वैदेशिक रोजगारीमै छन् भन्ने तथ्यांक भने सरकारी निकायसँग छैन।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले वैदेशिक रोजगारी असुरक्षित बन्नुमा अदक्ष कामदारको संख्या बढ्नुलाई मुख्य कारक ठान्छन्। ‘नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ७० प्रतिशत बढी अदक्ष हुन्छन्,’ उनले भने, ‘सीप हासिल नगरी वैदेशिक रोजगारीमा जाँदा नेपाली कामदार जोखिममा पर्नुका साथै कम पारिश्रमिक पनि पाउँछन्।’
नागरिक दैनिकबाट।

Comments

comments

सम्बन्धित शिर्षकहरु