मधसी आन्दोलनकारी किन थाके?

morchaमंसिर २४ । काठमाडौं, वीरगन्ज-रक्सौल नाकास्थित मितेरी पुलमा रातदिन धर्ना दिएर झन्डै अढाइ महिनादेखि नाकाबन्दी गर्दा पनि आन्दोलन निष्कर्षमा नपुगेपछि आन्दोलनकारी निराश र दिक्क भएका छन्।

नाकाबन्दी सुरु भएको ७८ दिन पुग्दा धर्ना दिने आन्दोलनकारीको संख्या ह्वात्तै घटेको छ। ‘नाकाबन्दी सुरु गर्दा मितेरी पुलको धर्नामा तीनचार सय आन्दोलनकारी रातिको समयमा पनि बस्थे’, आन्दोलनरत मधेसी दलकै एक नेताले भने, ‘अहिले भने राति २०-२५ जना पुग्न पनि मुस्किल हुन्छ।

दिउँसो पनि धर्नामा ४०-५० जनामात्र देखिन्छन्।’ दसगजा क्षेत्रमै रहेको मितेरी पुलमा आन्दोलनकारीले गत असोज ७ गतेदेखि २४ सै घन्टा धर्ना दिँदै आएका छन्।नाकाबन्दी सुरु भएताका मितेरी पुलमा दिनहुँ हजारौं आन्दोलनकारी बस्थे।

पर्सा र बाराका गाउँगाउँबाट सर्वसाधारण ट्याक्टरमा चढेर मितेरी पुल आउँथे, राति पनि त्यहीं धर्नामा बस्थे। विभिन्न जातीय र पेसागत संघ-संगठनबीच वीरगन्जमा दिनहुँ जुलुस निकाल्ने र नाकामा धर्ना बस्ने होडबाजी चल्थ्यो। तर तिहार र छठ पर्वपछि भने मितेरी पुलमा जारी मधेसी दलको धर्ना फितलो बन्दै गएको छ।

साढे तीन महिनादेखि बन्दहडताल र अढाइ महिनादेखि नाकामा धर्ना दिँदा पनि राज्यले चासो नदेखाएको भन्दै आन्दोलनकारी निराश भएका हुन्। ‘हामीले खुलेआम यो कुरा त भन्न मिल्दैन तर वास्तविक रूपमा भन्ने हो भने कार्यकर्ता मात्र नभई नेताहरू पनि आजित भइसकेका छन्’, नाम नलेख्न आग्रह गर्दै मधेसी मोर्चामा आबद्ध दलका एक केन्द्रीय नेताले भने, ‘७८ दिनसम्म दिनरात नाकामै सुतेर आन्दोलन गर्नु ख्याल-ख्याल होइन। यति लामो समय हुँदा पनि सरकार अझै पनि टसमस भएको छैन, जसले गर्दा हाम्रो मनोबल गिर्दै गएको छ।’

नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले भने, ‘आन्दोलनकारीले धर्ना दिएकै सीमानाका आसपासबाट दिनहुँ इन्धन र अत्यावश्यक सामानको व्यापक तस्करी भइरहेको छ। यसले पनि आन्दोलनकारीको मनोबल गिरेको हो।’

नाकाबन्दी जारी रहेका बेला मधेसकै मान्छेले भारतबाट सामान तस्करी गरेर पथलैया र राजधानीसम्म ओसारिरहेको बताउँदै उनले भने, ‘यसले आन्दोलनकारीलाई अत्यन्त पीडा भएको छ । एक त चिसो पनि बढेको छ, अहिले खेतीपातीको समय पनि हो।’

धान भित्र्याउने र गहुँ लगाइसकेपछि फेरि मितरी पुलमा हजारौं मधेसी धर्नामा आउने उनको विश्वास छ।संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादवले लामो समयदेखि आन्दोलन गर्दा पनि राज्यले टेरपुच्छर नलगाएकाले जनता दिक्क भएकाले मितेरी पुलमा जारी धर्ना केही फितलो भएको स्वीकारे।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले भने नाकाबन्दी सशक्त रूपमा जारी रहेको दाबी गरे। ‘प्रतिकूल मौसम र खेतीपातीको सिजन भएकाले केही समययता धर्नामा बस्नेहरूको संख्यामा कमी आएको छ। हामी आत्तिएका छैनौं’, उनले भने, ‘जबसम्म माग पूरा हुँदैन, धर्ना जारी नै रहन्छ।’-अन्नपूर्ण पोष्ट दैनिकबाट

Comments

comments

सम्बन्धित शिर्षकहरु