‘चुरो के हो नाकाबन्दीको ?’

nakabandiमंसिर १२ । काठमाडौं, परराष्ट्र मामिलासम्बन्धी जानकारले ‘अहिले भारतले चाहेको चुरो कुरो के हो’ पत्ता लगाई कूटनीतिक र राजनीतिक दुवै माध्यमबाट भारतसँगको समस्या सुल्झाउन सरकारलाई सुझाव दिएका छन्। पटक–पटक भारतबाट हुँदै आएको नाकाबन्दीलाई हल्का रुपमा नलिई यसको दीर्घकालीन समाधान खोज्न उनीहरुको सुझाव छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार भारतका कारण देशले भोग्नुपरेको असहज अवस्थाबारे छलफल गर्न डाकिएको बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्व परराष्ट्र सचिवहरु, पूर्व राजदूतहरु र प्रमुख राजनीतिक दलका विदेश मामिला हेर्ने पदाधीकारी थिए।

उनीहरुले सरकारलाई प्रमुख पाँच सुझाव दिएका थिए। पहिलो, भारतले चाहेको के हो, चुरो पत्ता लगाउन। दोस्रो, नाकाबन्दी हटाउनेबारे भारतसँग राजनीतिक र कूटनीतिक दुवै माध्यमबाट छलफल अघि बढाउन। तेस्रो, मधेसी मोर्चाको आन्दोलन छिटोभन्दा छिटो सम्बोधन गरी आन्तरिक समस्या सुल्झाउन र चौथो, भारतसँग सम्बन्ध नबिगारी चीनसँग सम्बन्ध थप विस्तार गर्न।

पाँचौं सुझावमा भने बैठकमा वक्ताहरुको विचार दुई धारमा प्रस्तुत भएको थियो। केहीले अहिलेको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न सुझाएका थिए भने केहीले अन्तर्राष्ट्रियकरण गर्दा झन् हानि हुने बताएका थिए।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको स्वागत मन्तव्यबाट सुरु भएको बैठक तीन घन्टासम्म चलेको थियो। समय अभावका कारण सहभागी सबै परराष्ट्र मामिला जानकारहरुले बोल्न भने पाएनन्। ‘अहिले राष्ट्र चुनौतीपूर्ण अवस्थामा छ। यहाँ कूटनीतिक मर्यादा उल्लंघन भएका छन्। परिपक्वतासाथ अघि बढ्नुपर्छ,’ बैठकमा सहभागी एक उच्च स्रोतले उपप्रधान तथा परराष्ट्रमन्त्री थापाको भनाइ उद्धृत गर्दै भन्यो, ‘परराष्ट्र नीति सञ्चालनमा पनि छाडापन देखिएको छ।’

पछिल्ला दिन भारतीय राजदूत रन्जित रेको क्रियाकलापतर्फ इंगित गर्दै बैठकमा उनले कूटनीतिक मर्यादा कायम राख्न अब कडाइसाथ लाग्नुपर्ने बताएका थिए। उनले आफूले परराष्ट्रमन्त्रीका रुपमा गरेको भारत भ्रमणबारे पनि बैठकमा जानकारी गराएका थिए।

विभिन्न दलका नेताले भारत गई केही आश्वासन दिएको र ती कुरा संविधानमा नसमेटिदिँदा भारत रिसाएको जनाउ घुमाउरो शैलीमा उनले बैठकमा दिएका थिए।

‘भ्रमणका बेला भारतले आपूर्ति अवरोध गर्दैनौं भन्ने आश्वासन दिएको थियो, म ढुक्क भएर आएको थिएँ तर भारतले आफ्नै प्रतिबद्धता पूरा गरेन,’ उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भने।

बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्री तथा पूर्वराजदूत थापाले भारतबाट पटक–पटक नाकाबन्दी हुँदै आएकाले चुरो कुरा पत्ता लगाउन आग्रह गरे। उनले भने, ‘विगतमा यस्तै भएको थियो, समाधानका लागि समस्याको चुरो फेला पार्नुपर्छ। यसका लागि राजनीतिक सक्रियता बढाउनुपर्छ। अहिले राजनीतिक प्रक्रिया सिथिल देखिन्छ।’

नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री रामशरण महतले भने नाकाबन्दी मधेसका कारण भएकाले मधेस समस्या पहिला सुल्झाउन सुझाव दिए। नाकाबन्द भएपछि आन्दोलन चर्केको उनले बताए। भारतसँग विभिन्न कूटनीतिक च्यानलमार्फत कुरा अघि बढाउनुपर्ने उनले बताए। ‘समस्या घरेलु, द्विपक्षीय दुवै छ। तर व्यापार, वाणिज्यसँग लिंक गर्नु हुँदैन। समस्याको समाधान कूटनीतिले मात्र हुँदैन, राजनीतिक हिसाबले पनि गर्नुपर्छ,’ महतले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व परराष्ट्रमन्त्री पशुपतिशमशेर जबराले भारतको नाकाबन्दीलाई ‘घनको प्रहार’ संज्ञा दिए। सबैभन्दा बढी विवाद भएको सीमांकनलाई पछि सारेर भए पनि मधेसीसँगको वार्ता मिलाई आन्तरिक समस्या समाधान गर्नुपर्ने उनले सुझाए। ‘नाकाबन्दी तेस्रोपटक भएको हो, हामीले पटक्कै पाठ सिकेनौं। अहिले हामीलाई घनैले ठोकेजस्तो भएको छ,’ उनले सुझाए, ‘समाधान निकाल्न बरु तराईको सीमांकन पछि गर्न सकिन्छ।’

पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भने नेताले गरेको गल्तीको सजाय जनतालाई दिन नहुने बताए। बैठकमा लोहनीले भने, ‘भारतको असन्तुष्टि के हो सोध्नुपर्यो्। यहाँका नेताले भारत गएर के प्रतिबद्धता गरेका थिए र कुन पूरा गरेनन्, अब त्यो कुरा नेताहरुले खुलाउनुपर्यो्। नेताको सजाय जनतालाई दिनुभएन।’

फोरम लोकतान्त्रिकका जितेन्द्र देवले भारतसँग अहिले देखिएको समस्या सुल्झाउन परम्परागत कूटनीति त्यागी नयाँ ढंगले अघि बढ्नुपर्ने बताए। नेपाल–भारत सम्बन्धको समीक्षा गर्ने बेला आएको उनले जनाए। ‘बारम्बार नाकाबन्दी किन हुन्छ, यसको समीक्षा हुनुपर्छ। कूटनीतिमा नयाँ सोच चाहियो,’ उनले भने।

बैठकमा पूर्व परराष्ट्रमन्त्रीहरु भेषबहादुर थापा, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, रामशरण महत, हरिबहादुर बस्नेत, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व राजदूतहरु हिरण्यलाल श्रेष्ठ, राजेश्वर आचार्य, फोरम लोकतान्त्रिकका जितेन्द्र देव, एमालेका राजन भट्टराईलगायत परराष्ट्र मामिला जानकार थिए।

उक्त बैठकमा पूर्व परराष्ट्रमन्त्रीहरु माधव घिमिरे, नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे र उपेन्द्र यादव भने आएनन्।
नागरिक दैनिकबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु