निगमले विराट पेट्रोको तेल नकिन्ने

nepal-oilकात्तिक २२  । काठमाडौं, नेपाल आयल निगम विराट पेट्रोलियम प्रालिबाट डिजेल–पेट्रोल नकिन्ने निष्कर्षमा पुगेको छ । हालको खरिददरभन्दा चार गुना महँगो मूल्य पेस गरेको विराटलाई प्रबन्ध निर्देशक गोपालबहादुर खड्का एक्लैले निर्णय गरी तेल ल्याउन स्वीकृति दिएका थिए, नयाँ पत्रिका लेख्छ।

तर, सर्वत्र आलोचना भएपछि विराटको तेल नकिनी सोझै उपभोक्तालाई बिक्री गर्न दिन सकिने निगमको निष्कर्ष छ । विराट पेट्रोले भने आफ्नो तर्फबाट सम्झौता खारेज गरेको जनाएको छ ।

निगमका कर्मचारीले विराटलाई तेल किन्न २० करोड रुपैयाँ दिएको पेस्कीसमेत चाँडै फिर्ता गराउन पहल गर्नुपर्ने बताएका छन् । विराटबाट निकै महँगोमा तेल किनेर सस्तोमा उपभोक्तालाई बेची संस्थालाई करोडौँ नोक्सान पुर्‍याउन लागेको विषय बाहिर आएपछि प्रबन्ध निर्देशक खड्का विराटबाट तेल किन्न हच्किएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार शुक्रबार साँझ विराट पेट्रोबाट तेल नकिन्ने विषयमा निगम अधिकारीको समान धारणा बनिसकेको छ । ‘विराटले ल्याएको तेल निगमले नकिन्ने निष्कर्ष निस्किएको छ,’ स्रोतले भन्यो, ‘उसले तेल ल्याएर आफ्नो हिसाबले बेचोस् भन्ने छ । बरु उसलाई तेल बिक्रीका लागि निगमले सहजीकरण गरिदिने भन्ने छ ।’

विराटले भारतको सिलगुडीबाट ल्याउने डिजेल–पेट्रोल झापाको चारआलीसम्म ढुवानी गरिदिने सम्झौता छ । चारआलीमा निगमको कार्यालय छ, तर तेल भण्डारण गर्ने ठाउँ छैन । भारतको नाकाबन्दीका बाबजुद एउटा कम्पनीले भारतबाटै इन्धन ल्याउने, तर निगमले ल्याउन किन नसक्ने भन्दै निगमका कर्मचारी प्रबन्ध निर्देशक खड्को निर्णयप्रति रुष्ट छन् । ‘एउटा कम्पनीले भारतबाटै तेल ल्याएर दिन सक्ने, तर झन्डै आधा शताब्दीदेखि भारतसँग तेल कारोबार गरिरहेको संस्थाले ल्याउन नसक्ने भन्ने हुँदैन,’ स्रोतले भन्यो, ‘त्यसैले भारतबाट तेल ल्याउन सकिन्छ भने निगमले नै पहल गर्नुपर्छ भन्ने निष्कर्ष छ । तर, भारतबाट निजी कम्पनीले ल्याएको तेल निगमले किन्न हुँदैन भन्नेमा सबै कर्मचारी एकमत छन् ।’
निगमले विराटबाट प्रतिलिटर पेट्रोल १ सय ९९ र डिजेल १ सय ८७ रुपैयाँमा खरिद गर्ने (भन्सारबाहेक) गरी सम्झौता गरेको थियो । भन्सारसमेत जोड्दा उक्त तेलको खरिद मूल्य पेट्रोल २३० रुपैयाँ ७१ पैसा र डिजेल १९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर पुग्छ । जबकि भारतकै इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट निगमले भन्सारसहित प्रतिलिटर पेट्रोल ७६ रुपैयाँ ६५ पैसा र डिजेल ५९ रुपैयाँ ३३ पैसामा खरिद गर्दै आएको छ । आइओसीबाट किनेको तेल नेपाली बजारमा बेचेर निगमले पेट्रोलमा १२ रुपैयाँमा ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ८७ पैसा प्रतिलिटर नाफा गरिररहेको छ । तर, विराटबाट महँगोमा खरिद गर्दा निगमले हालकै मूल्यमा बिक्री गर्दा पेट्रोलमा १ सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा १ सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ । यति ठूलो नोक्सान बेहोरेर तेल किन्नुहुन्न भन्ने पक्षमा निगमका कर्मचारी पुगेका छन् ।

विराटले सिलगुडीमा रहेको भारत पेट्रोलियम कर्पाेरेसन लिमिटेड (बिपिसिएल)बाट नेपाललाई ६ हजार किलोलिटर इन्धन दिने जनाएको छ । र, उक्त परिमाण नेपाल ल्याउन ट्यांकरमा लोडिङ भइसकेको खड्काले शुक्रबार संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिलाई जानकारी गराएका थिए । तर, निगमका कर्मचारीहरू त्यो तेल कहाँ लोडिङ भएको र कुन ठाउँसम्म आइपुगेको हो भन्नेमा बेखबर छन् । ‘विराटले नेपाललाई दिने भनेको परिमाणमध्ये केही तेल लोडिङ भएको भन्ने सुनिन्छ, तर कहाँ लोडिङ भएको, कति लोडिङ भएको र बाटोमा कहाँसम्म आएको छ भन्ने कुरा कसैलाई पनि थाहा छैन,’ स्रोतले भन्यो ।

विराटले कसलाई तेल बेच्न सक्छ ?
सरकारले २ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी विदेशबाट तेल ल्याई जुनसुकै कम्पनीले पनि नेपालमा वितरण गर्नसक्ने व्यवस्था गरेको छ । यसरी आउने तेलको मापदण्ड गुणस्तर तथा नापतौल विभागले हेर्ने र मूल्य भने आयातकर्ता कम्पनीले नै लागतका आधारमा आफूखुसी तोक्न पाउने प्रावधान छ । सोही व्यवस्थालाई टेकेर विराटले तेल ल्याई नेपालमा वितरण गर्नसक्ने निगम अधिकारीले बताएका छन् । तर, उसले ल्याएको तेल पेट्रोलपम्पबाट वितरण गर्न मुस्किल छ । किनभने मुलुकभर सञ्चालित पम्प निगमका आधिकारिक विक्रेता हुन् । ती पम्पलाई तेल दिने र उनीहरूले वितरण गरेको तेलबारे नियमन गर्ने निगमको अधिकार क्षेत्रभित्र पर्छ ।

तर, पूर्वका सीमित पम्पलाई विराटबाट तेल किनेर बेच्न निगमले स्वीकृति दिन भने सक्नेछ । ‘विराटले तेल ल्याउनै खोजेको हो भने पूर्वका केही पम्पलाई उसको तेल किनेर बेच्न निगमले छुट दिन सक्छ,’ स्रोतले भन्यो । उसको तेल निकै महँगो हुने भएका कारण सर्वसाधारणले उपभोग गर्न आशंका मान्न सक्नेछन् । विराटले ल्याएको डिजेल भने उद्योगहरूले प्रयोग गर्न सक्छन् । विराटनगरदेखि वीरगन्जसम्मका उद्योगले विराटको डिजेल प्रयोग गर्नसक्ने सम्भावना छ ।

एकपटक असफल भइसकेको थियो विराट
सरकारले तीन वर्षअघि ३० फागुन ०६९ मा पेट्रोलियम क्षेत्रमा आयल निगमको हैसियतमा कारोबार गर्न पाउने गरी निजी क्षेत्रको प्रवेश खुला गरेको थियो । त्यतिखेर पेट्रोलियम तथा ग्यास कारोबार (नियमन) आदेश, ०६९ जारी भएको थियो । यो खबर थाहा पाएपछि सिक्किमका पेट्रोलियम व्यापारी अर्जुन क्षेत्रीले मोरङको विराटनगरमा विराट पेट्रो केमिकल्स नामको फर्म दर्ता गरेका थिए ।

तीन वर्षअघि उनले आफूलाई सिक्किम क्षेत्रको पेट्रोलियम व्यापारी र नेपालमा आयल निगमजत्तिकै हैसियत राखेर पेट्रोलियम कारोबार गर्नसक्ने बताएका थिए । उनले धादिङमा रिफाइनरी नै खोल्ने योजना रहेकोसमेत बताएका थिए । र, उद्योग मन्त्रालयबाट अनुमति पनि लिएका थिए । निगमले अध्ययन गर्ने क्रममा उनले कोलकाता बन्दरगाहबाट चोरीको डिजेल र पानीजहाजमा डढेको मोबिल ल्याउन लागेको फेला पारेको थियो । डढेको मोबिलमा डिजेल मिसाउँदा कच्चा तेलजस्तै देखिने भएकाले भन्सार पास गराउन सकिने उनको योजना थियो ।

‘डढेको मोबिल र डिजेललाई ‘डिस्टिलेसन मेसिन’द्वारा पुन: छुट्याउन सकिन्छ । विराटले पनि रिफाइनरीको नाममा त्यस्तै गर्न खोजेको देखियो,’ निगम स्रोतले भन्यो, ‘मोबिल अन्यत्र प्रयोग गर्न सकिन्छ र डिजेलचाहिँ बेच्न खोजेको देखिएको थियो ।’ विराटले डिस्टिलेसन मेसिन राखेरै पेट्रोलियम पदार्थको कारोबार गर्न खोजिरहेकै वेला मुलुकभित्रकै पेट्रोलियम व्यवसायीले निजी क्षेत्रलाई तत्कालै खुला नगर्न दबाब दिएपछि सरकारले उक्त नियम आदेशलाई स्थगन गरेको थियो । त्यसयता विराटले पनि कारोबार गर्न पाएको छैन ।

निजी क्षेत्रले ल्याएका तेल भन्सारले सजिलै नछाड्ने
भन्सार विभागले निगमबाट अन्य कम्पनीले विदेशबाट ल्याउने तेलको गुणस्तरबारे सही जानकारी नपाएसम्म जाँचपास क्लियर नगर्ने जनाएको छ । विभागका उपमहानिर्देशक दामोदर रेग्मीले निजी कम्पनीले ल्याउने तेलको गुणस्तरबारे ढुक्क नभएसम्म भन्सारले छाड्न नमिल्ने बताए । निजी क्षेत्रले ल्याएको तेलको गुणस्तर बजार पुग्नुअघि गुणस्तर विभागले चेकजाँच गर्ने प्रावधान भए पनि भन्सारले नेपाल छिर्ने विन्दुमै कडाइ गर्नुपर्ने बताए । ‘निजी क्षेत्रले ल्याउने तेल बजारमा वितरण हुनुपूर्व गुणस्तर विभागले चेकजाँच गर्ने भन्ने कुराले नियन्त्रण गर्न सकिँदैन,’ रेग्मीले भने, ‘भन्सारमै कडाइ गर्नुपर्छ । त्यसैले तेलको गुणस्तरबारे हामीलाई जानकारी गराउन्, सोहीअनुसार भए–नभएको हेरेर मात्रै प्रवेशको अनुमति दिन्छौँ भनेका छौँ,’ उनले भने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु