विगतका संघर्षले नँया इतिहास कोर्न सफल ओनसरी

कि त सहिद बन्छु कि त युद्ध जित्छु भनेर तत्कालिन माओवादीको जनयुद्धकालमा १० बर्ष सम्म भूमिगत बन्नुभएकी ओनसरी घर्तीमगर यतिबेला नेपालकै पहिलो महिला सभामुख बनेर नँया इतिहास कोर्न सफल हुनुभएको छ । नेपालको सर्वोच्च पाँच सम्माननिय पदहरु मध्ये पाँचौं नम्वरको पद सभामुखमा निर्विरोध निर्वा्चित हुँदैे ओनसारीले यस्तो पदमा निर्वा्चित हुने अवसर पाउनु भएको हो । संयोग र भाग्यले यस्तो सर्वोच्च पदमा निर्वा्चित हुने अवसर उहाँले पाउनु भएको भनिएतापनि विगतको संघर्षमय जीवन नभएको भए यो सम्भावना हुने थिएन भन्ने उहाँको पृष्ठभूमीबाट स्पष्ट देखिन्छ । माओवादी आन्दोलनमा लागेका ठुला र स्थापित अनुहार भएका महिला नेतृहरुलाई पछि पार्दै ओनसरी सभामूख बन्न सफल हुनुभयो ।

Onsari-Gharti-Magarरोल्पाको जंकोट– १ माडिचौरका एक साधारण किसानको परिवारमा जन्मिएकी ३८ वर्षकी ओनसरी दोस्रो संविधान सभाको निर्वाचनमा रोल्पा २ बाट प्रत्यक्ष निर्वा्चित सभासद हुनुहुन्छ ।बुबा प्रसाद घर्तीमगर र आमा नौमती घर्तीमगरको कोखबाट तीन दाजु, चार दिदि बहिनीमध्ये माहिली ओनसरी हुनुहुन्छ । सभामुख ओनसरीलाई तीन कक्षा उत्तीर्ण गरेपछि उहाँका बुवाले स्कुल छुटाउन चाहनु भएको थियो ।संयोगले स्कुलको त्यसवर्षको वार्षिकोत्सवमा छात्राहरुतर्फ खेलाइएको ६ वटा खेलमा उहा प्रथम हुनु भयो । कक्षामा दोस्रो खेलकुदतर्फ ६ र कक्षाको दोस्रो पुरस्कारसहित एकैसाथ सातवटा पुरस्कार लिएपछि उहाको बुवाको रुढिवादी मन बदलियो । ६ र ७ कक्षा गाउँवाट एक घण्टाको दूरीमा रहेको निमावि स्कूलमा पढे पछि गाउँ नजिक मावि स्कुल नभएकोले सदरमुकाम गएर डेरा लिएर कठिन संघर्ष गर्दै एसएलसी सम्मको अध्ययन उहाँले पुरा गर्नुभयो । गाउँको स्कुलबाट प्राथमिक तह पार गरेपछि छिमेकी गाविस कोटगाउँमा निमावि सम्म ओनसरीले अध्ययन गर्नु भयो भने सदरमुकाम लिबाङको बालउदय माविबाट एसएलसी उत्तीर्ण गर्नु भयो । २०५२ सालमा लिबाङको बालकल्याण मावि उमावि बनेपछि ओनसरी भर्ना हुनु भयो । तर पार्टीको आदेशमा पढाई छोडेर जनयुद्धमा होमिनु भयो ।

सदरमुकाममा नौ कक्षामा पढ्दै गर्दा उहाँ अखिलको सहकमिटीमा रहनु भएको थियो । यसै क्रममा तीनपटक प्रहरीले उहाँलाई पक्राउ गर्यो । २०४६ सालमा विद्यार्थी आन्दोलनवाट राजनीतिमा प्रवेश गर्नुभएकी ओनसरीले २०४८ सालमा विद्यार्थीको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य तथा नेकपा( एकता केन्द्र)को पार्टी सदस्यता प्राप्त गर्नुभयो ।
२०५२ सालमा रोल्पा जिल्लाको पहिलो लडाकू दलमा सदस्य बन्नु भएकी घर्तीले यसै सालमा पार्टीको जिल्ला भेलामा वर्षमान पुनसंग जनवादी प्रेम विवाह गर्नुभएको हो ।
२०५२ मा उहा तत्कालीन नेकपा (माओवादी)को एरिया सदस्य भइसक्नु भएको थियो । २०५२ फागुन १ गते होलेरीस्थित इलाका प्रहरी कार्यालयमाथि आक्रमणमा ओनसरीको समेत सहभागिता थियो । आक्रमणमा दुई जना महिला थिए, ओनसरी र तारा घर्तीमगर । त्यसो त उहाँले जनयुद्ध सुरु नहुँदै बन्दुक पड्काउन सिकिसक्नु भएको थियो ।

माओवादीको युद्धकालमा पनि ओनसरीको अर्को कीर्तिमान

onsari3ओनसरीले माओवादीको युद्धकालमा पनि अर्को कीर्तिमान बनाउन सफल हुनु भएको थियो । २५ वर्षको उमेरमै ओनसरी केन्द्रीय सदस्य र बटालियन कमिसार बन्नु भयो । २०५९ सालमा उहा पूर्वी नेपालको माओवादी सेनाका बटालियन कमिसार हुनुहुन्थोे । ओनसरी बटालियनको पहिलो महिला कमिसार हुनुहुन्थ्यो ।
ओनसरीले स्कूल जीवनमा आफूलाई हेप्न खोज्ने पुरुषहरुसँग प्रतिकार गर्न भन्दै कराते खेल समेत सिक्नु भएको थियो । युद्ध सुरुभएपछि छापामार बन्ने ओनसरीको चाहना थियो । छापारको प्लाटुन पर्मेसनको सदस्य भएपछि उहाँ दुई वर्ष छापामार बन्नुभयो । दुई वर्षपछि उहालाई पार्टीले संगठनमा खटायो र उहाँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष बन्नु भयो भने एता पार्टीको एरिया इन्चार्ज पनि बन्नु भयो ।

गर्भवती अवस्थामा पनि ओनसरीको युद्ध रोकिएन

पार्टी संगठन विस्तार र जनयुद्धको नेतृत्वदायी भूमिका निभाउँदै अनेकौं कठिनाइहरु र मृत्युसँग पौठेजोरी खेल्दै ओनसरी घर्ती अहिले याँहासम्म आइपुग्नु भएको हो । २०५४ सालतिर उहाँ पाखापानी गाविसको इन्चार्ज हुनु भएको थियो । ओनसरीकै प्रस्तावमा पाखापानीमा रहेको प्रहरी चौकीमाथि आक्रमण गरिएको थियो । सर्भेका लागि उहाँ आफै जानुभयो । सर्भेको अन्तिम दिनमा ७ महिनाकी गर्भवती अवस्थाकी ओनसरीसहित केही माओवादी कार्यकर्ता प्रहरीको नियन्त्रणबाट उम्कन सफल भए । गर्भवती ओनसरीले छहराबाट हाम फालेर ज्यान जोगाउन सफल हुनुभयो ।

सोलुखुम्बु, भोजपुर, रामेछाप, ओखलढुंगा र दोलखाको माथिल्लो भागलाई समेटेर बनाइएको सिलुचुङ आधार क्षेत्रको इन्चार्जमा ओनसरीलाई नियुक्त गरिएको थियो । जनआन्दोलन सुरु हुँदा काभ्रे र रामेछापको इन्चार्ज रहनुभएकी ओनसरीले २०६१ सालको अन्तिममा काठमाडौ उपत्यका र आसपासको जिम्मेवारी पाउनु भयो ।
ओनसरी हेटौडा महाधिवेशन र विराटनगर सम्मेलनबाट एकीकृत माओवादीको केन्द्रीय सदस्यमा पुनः चयन हुनु भयो ।२०७१ वैशाख ११ मा भएको ५० सदस्यीय पोलिट्व्यूरो सदस्यका लागि भएको निर्वाचनमा ओनसरी २९ औं नम्बरमा विजयी भएर पोलिट्व्यूरो सदस्यमा मनोनित हुुनुभयो । पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् बन्नु भएको ओनसरीलाई झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुद मन्त्री समेत बन्ने अवसर मिल्यो । पहिलो संविधान सभामा प्रथम स्थानमा रहेको एमाओवादीले दोस्रो संविधानसभा निर्वाचनमा नराम्रो पराजय भोगेका बेला उहाले रोल्पा-२ बाट विजय हुन सफल हुनुभयो । यसपछि ओनसरी उपसभामुख समेत हुनु भयो ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु