एक हप्तामा उदांगियो ओलीको राष्ट्रवाद !

रामनाथ खनाल
समाचार टिप्पणी

असोजको अन्तिम हप्ता र प्रधानमन्त्री निर्वाचनको पेरिफेरिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताकोे निकै आकर्षक पगरी गुथाइयो । ट्वीटरमा पत्रकार लेनिन बञ्जाडेले ट्वीट गरे, ‘बरू दशैंमा घर जान्न तर भारतलाई झुकाउनकै लागि भएपनि यसपाली प्रधानमन्त्रीमा ओली निर्वाचित हुनै पर्छ ।’

२०५४ साल पछाडी २०६२÷६३ सम्मका उनका हरेक क्रियाकलाप र गतिविधिलाई आँखा चिम्लिएर या जनआन्दोलन ताका उनले दिएका अभिव्यक्तिलाई चटक्क बिर्सिएर सामाजिक सञ्जालहरूमा उनलाई राष्ट्रवादको नायक मात्र होइन देवत्वकरण गर्न बहुसंख्यक मानिसहरू हात धोएर लागे । फलतः राष्ट्रवादको त्यही आडमा उनले असोज २४ गते व्यवस्थापिका संसद्मा ३३८ मत ल्याए र निर्वतमान प्रधानमन्त्री सुशील कोइरालाई पराजित गर्दै मुलुकको ३८ औँ प्रधानमन्त्रीको रूपमा सिंहदरवार छिर्ने मार्ग प्रशस्त गरे ।

त्यसो त निर्वतमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर संसदीय दलको नेता, निर्वतमान प्रधानमन्त्री एवम् बरिष्ठ नेता माधव नेपाललाई हराएर पार्टी अध्यक्ष र निर्वतमान प्रधानमन्त्री सुशील कोइरालाई हराएर मुलुकको कार्यकारी प्रमुख बन्ने सौभाग्य प्राप्त गरे । यो संयोग त प्राप्त भयो तर चुनौतीको पहाड पन्छाएर अघि बढ्ने सामथ्र्य उनमा कत्ति रहेछ भन्ने कुरा ‘दिनको संकेत विहानीले गर्छ’ भनेझैँ उनका पछिल्ला गतिविधिले उदांगो पार्दै गइरहेको छ ।

हप्ता दिन विति सक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु, आफ्नो पोल्टाका र पकेटका मान्छेलाई मन्त्रिपद बाँडेर पार्टी भित्रका नेता कार्यकर्ता चिढ्याउनु मात्र होइन भारतले लगाएको अघोषित नाकाबन्दीबाट अस्तव्यस्त बनेको जनजीवन र आपूर्ति व्यवस्था सुचारु गर्न कुनै कदम नचाल्नु उनले कति काम गर्न सक्छन् भन्ने कुराको प्रष्टोक्ति हो ।

त्यसो त उनलाई पार्टी अध्यक्ष बन्नु भन्दा अगावै अलौकिक क्षमताको ताज भिराउनेहरू पनि यहिँ थिए । पार्टी अध्यक्ष भएको वर्ष दिन वितिसक्दा पनि कार्यविभाजन गर्न नसक्ने र बैठकलाई पूर्णता नदिने उनले प्रधानमन्त्री हुँदा ‘जादूको छडी’ चलाउँछन् भन्नु अति टिप्पणी थियो  । उनको कामगराईले त्या पुष्टि हुँदै गइरहेको छ ।

महाकाली सन्धी अनुमोदनमा भएको राष्ट्रघातलाई आँखा चिम्लिएर हामीले उनलाई राष्ट्रवादको पगरी गुथाउन हतार गरिरहेका त थिएनौ? बरु उनी प्रधानमन्त्री बने लगत्तै हुनसक्ने सम्भावित राष्ट्रघातप्रति सदैव चनाखो रहनुपर्नेमा राष्ट्रवादको बुकी थमाएर आफूलाई निर्धक्क राखेर गल्ती त गरिरहेका छैनौँ? प्रधानमन्त्री निर्वाचित भएयता जनस्तरमा सुनिने उनीप्रतिका टिप्पणी हुन् यी । यसबाट प्रष्ट हुन्छ, सुशील कोइरालाले अन्तिममा प्रधानमन्त्रीमा उम्मेदवारी दिएर मात्रै बदनामी कमाएथे, केपी शर्मा ओलीले त प्रधानमन्त्री भएकै दिन देखि आलोचना र बदनामीको शिकार बन्नु पर्ने अवस्था सिर्जना भइसकेको छ ।

सत्तासमर्थक दलहरू सवैले मन्त्रीहरू टुंगो लगाइसक्दा आफैँले नेतृत्व गरेको पार्टीले मन्त्रीहरू छिनोफानो गर्न नसक्नु, आपूर्ति व्यवस्था असहज बन्दै गइरहँदा भारतसँग कूटनीतिक पहलमार्फत नाका खुलाउन कुनै कदम चाल्न नसक्नु, भारतसँग वार्ताका लागि परराष्ट्रस्तरीय वार्ता टोली पठाएर झारा तिर्ने बाहेक अन्य कुरा तर्फ ध्यान पुर्याउन नसक्नु, र सुरू भएको एक दिन नवित्दै भारतीय पक्षको चेतावनीकै कारण केरुङ नाका बन्द हुनु उनको सुरूवाती असफलताका पटाक्षेप हुन् ।

प्रधानमन्त्री निर्वाचनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहँदा उनले सदनमा भनेका कुरा आजपनि मानिसहरूले झलझली सम्झिरहेका छन् । उनले भनेका थिए, ‘म सिंहदरबारमा फोटो झुण्ड्याउनका लागि मात्र प्रधानमन्त्रीमा उम्मेदवारी दिएको होइन । मलाई मत नदिँदा सभासद्हरूले बाडुल्की लाग्ने गरी सम्झिरहनु पर्ने छ ।’

उनी सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री बनेका हुन् कि होइनन त्यो त भविष्यमा छरपष्ट होला तर उनले बाडुल्की लाग्ने काम चाहिँ गरिसकेका छन् । इतिहासमै नभएको  पाँच पाँच जना उपप्रधानमन्त्री नियुक्त गर्न लागेर लोकका अघिल्तिर सुशासन र मितव्ययिताप्रति आफ्नो दृष्टिकोण र व्यवहारको नमुना प्रस्तुत गरेका छन् । ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ उनको यो कार्य इतिहासमा सदा स्मरणीय हुने छ ।

त्यस्तै एसएसपी लक्ष्मण न्यौपाने र एक नाबालक सहित आठ जनाको ज्यान जाने गरी भएको कैलाली घटनाको आरोपित रामजनम चौधरीलाई मन्त्री पद पुरस्कार दिएपछि उनको देखिन बाँकी छवी छर्लङ्ग भएको छ । यसैगरी माघ पाँच गते संविधानसभा भवनमा वितण्डा मच्चाउने उमेश यादव, र सदनमा कुर्सी फालेर र सर्ट च्यातेर चर्चामा आइरहने विसेन्द्र पाशवान पनि उनको मन्त्रिमण्डलमा छुटेका छैनन् । तिनीहरूले कस्तो काम गर्लान् ?, जनताको मन के गरेर जित्लान् ? अनि कसरी लाग्दैन बाडुल्की ? सोच्न आइतबार पर्खिइरहनु पर्दैन ।

हिजोको खुंखार पञ्च, आज संवैधानिक राजतन्त्र र अतिहिन्दूवादी पक्षपोषक कमल थापा, उनले स्थापना देखि नै कटु आलोचना गर्दै आएका एमाओवादी र पार्टीभित्रै पनि थापिने विभिन्न च्याँखेहरूको सामना गर्दै आगामी यात्रामा कसरी अगाडी बढ्छन् त्यो त हामीले हेर्न बाँकी नै छ ।  तथापी वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पबाट आहत भएका र भारतले लगाएको अघोषित नाकाबन्दीको मार खेपेर तथा संघारमा आएको बडादशैं जस्तो महत्वपूर्ण चाडलाई खल्लो बनाएर भएपनि सदनमात्र होइन देश नै उनको पक्षमा उभिएको हो । त्यसकारण उनी देश र जनताप्रति इमान्दार हुनै पर्दछ । त्यस्तै मधेश आन्दोलनमा सरिक जनतालाई ‘माखे साङ्लो’को संज्ञा दिएर चित्त दुःखाउने होइन, वार्ता छलफलका माध्यमबाट संविधानका असन्तुष्टि मेटाउन कुनै कसर बाँकी राख्नु हुँदैन ।

सरकार गठनको सात दिन नवित्दै उनको पक्षमा गरिएको यो कटु आलोचना होइन, जनस्तरबाट गरिएको खवरदारी मात्रै हो। चुनौतीको पहाड पन्छाएर अघि बढ्न सामथ्र्य राख्ने मानिसले मात्रै लक्ष्य भेट्टाउन सक्छ । व्यवधानहरू चिर्दै अघि बढ्न बडा दशैंले शक्ति प्रदान गरोस् शुभकामना !

15 total views, 9 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु